Hindi Films

एमालेको भोजन मीठो, वचन नमीठो : राजेन्द्र महतो

Unknown | 10:59 | 0 comments

 

आइन्दा सरकारको प्रस्ताव नगर्न ओलीलाई मधेसीको चेतावनी

 
UML-and-madhesidal-meeting
१९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको घरमा शुक्रबार दिवाभोज खाएर फर्किएपछि मधेसवादी नेता राजेन्द्र महतोले एमालेको भोजन मीठो भए पनि वार्ताचाँहि नमीठो भएको बताएका छन् ।
ओली निवास बालकोटमा सम्पन्न एमाले र मधेसवादी नेताहरुको बैठकपछि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अनलाइनखबरसँग भने-‘भोजन त मीठो थियो तर, वार्ताचाँहि भोजनजस्तो मीठो भएन ।’
उधारो संविधानको प्रस्ताव
बैठकमा एमाले नेताहरुले संघीयताको मुद्दा संघीय थाती राख्दै आयोगलाई जिम्मा दिएर संविधान जारी गर्ने प्रस्ताव अघि सारेको थियो ।
बैठकमा ओलीले राखेको संघीयताको विवाद आयोगले टुङ्याउने गरी संविधान जारी गर्ने प्रस्तावलाई पनि मधेसवादी दलहरुले अस्वीकार गरेका छन् । ‘यो कल्पना पनि गर्न सकिँदैन’ एमाले नेतासँगको बैठकमा मधेसवादी दलका नेताहरुले भने-‘अधुरो संविधान स्वीकार्य हुँदैन ।’
आन्दोलनको उपलब्धी संघीयता भएको भन्दै मधेसी नेताहरुले जालझेलमा नलाग्न समेत एमालेलाई चेतावनी दिएका छन् । अघिल्लो संविधानसभा हुँदा नै आयोग बनाएको भन्दै मधेसी नेताहरुले त्यसले वुझाएको प्रतिवेदनलाई नै सन्दर्भ समाग्रीका रुपमा प्रयोग गर्न सुझाएका छन् ।
सरकारबारे कुरा नगर्न चेतावनी
दिवाभोजसहित मधेसी नेताहरुसँग भएको बैठकमा एमाले नेताहरुले राष्ट्रिय सरकार गठन गर्ने भन्दै सरकारमा आउनसमेत प्रस्ताव गरेका थिए ।
तर, मधेसी मोर्चाले अब आइन्दा सरकारको कुरा नगर्न चेतावनी दिएको र संघीयताविनाको संविधान स्वीकार्य नहुने प्रष्ट पारेको महतोले बताए ।
बैठकमा ओलीले सहमतिका आधारमा संविधान जारी गर्न राष्ट्रिय सरकार बनाउनुपर्ने भन्दै मधेसी मोर्चालाई सहभागी हुन आग्रह गरेका थिए । राम्रो नियतले प्रस्ताव राखेको भन्दै ओलीले प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारका सहभागी हुन प्रस्ताव गरेका थिए ।
‘हामीले पहिले नै सरकारमा जाँदैनौं किनकि हाम्रो प्राथमिकता संविधान हो भनेका थियौं । तर, पनि आज फेरि पस्ताव राख्नु भयो । अब आइन्दा सरकारको कुरा नगर्नु होला भनेका छौं’ सद्भावना अध्यक्ष महतोले अनलाइनखबरसँग भने ।
एमाले नेताहरुसँगको बैठकमा मधेसवादी दलका नेताहरुले संविधानका विवादित विषयमा सहमति खोज्न भनी बैठक बोलाएर सरकारमा आउने प्रस्ताव गरेको भन्दै आपत्ति जनाएका हुन् ।
अन्तिममा ओलीको चुनौती
आफ्ना दुबै प्रस्ताव अस्वीकार गरेपछि ओलीले मधेसी नेताहरुलाई मतदान प्रक्रिया स्वीकार गर्न चुनौती दिएका छन् । ६०१ सभासदबीच सहमति गरेर संविधान जारी गर्न सम्भव नभएको भन्दै ओलीले लोकतान्त्रिक प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।
तर, मधेसवादी नेताहरुले आफूहरुले विगतको सहमतिअनुसार हुनुपर्ने भनेको बताएका छन् । ‘कमल थापा र चित्रबहादुर केसीको धारणासँग हामी सहमत छैनौं भने हामीले किन ६०१ को सहमति हुनुपर्छ भन्छौं ?’ महतोले भने-‘हामीले त विगतमा भएका सहमतिहरुलाई स्वीकार गरेर अघि बढ्नुपर्ने मात्रै भनेका हौं ।’
ओली निवासमा दिवाभोजसँगै संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे सामान्य छलफल गरेर नेताहरु उठेका छन् । ‘आजबाट छलफल सुरु भएको छ, यसलाई निरन्तरता दिनुपर्छ भन्नुभएको छ’ एमाले नेताहरुको भनाइ उधृत गर्दै महतोले भने ।

Category:

0 comments