मन्त्रीले भने- बिचौलियालाई छिर्न नदिनू ,जसलाई जतिबेला जे कारवाई हुन् सक्ने!(भिडियो सहित)
|
१६ चैत, काठमाडौं । सोमबार दिउँसो राजधानीमा सिमसिम पानी परिरहेको थियो, यतिकैमा मन्त्री लालबाबु पण्डित झण्डावाल गाडीमा चढेर दिउँसो १२ बजे मूलगेटबाट बाहिरिए । मन्त्रीको गाडी २० मिनेटपछि ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा पुग्यो ।
मन्त्री गाडीबाट अाेर्लेर हिलाे बाटाेमा हिँड्न थाले। कार्यालय जाने बाटाेकाे बिजाेग थियाे ।
मन्त्रीको गाडीलाई पछ्याउँदै अरु दुईवटा गाडीमा प्रशासन सुधार सुझाव कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाल, मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारी, उपसचिव नन्दराज ज्ञवाली, जीतेन्द्र बस्नेत र मन्त्रीका निजी सचिव होमप्रसाद लुइँटेल, स्वकीय सचिव नसिव आलमसमेत थिए ।
सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद लामिछाने र अर्जुन गौतम पनि मन्त्रीको पछि लागेर एकान्तकुना पुगे ।
ठूलो छाता ओढेर यातायात व्यवस्था कार्यालयमा मन्त्री पुग्दा कर्मचारीहरुलाई कुनै पूर्वजानकारी थिएन । कर्मचारीले काम गरिरहेको कोठामा पसेर मन्त्रीले काम कस्तो चलिरहेको छ भनेर प्रश्न गरेर । झ्यालमा बाहिरपट्टबिाट सेवाग्राहीहरु होहल्ला गरिरहेका थिए । बिहानैदेखि आउँदा पनि पालो नआएको उनीहरुले मन्त्रीसँग गुनासो पोखे ।
यातायात व्यवस्था कार्यालयमा मन्त्रीको टोलीले करिब एक घण्टामा सबै चोटाकोठा चाहार्यो । ‘कार्यालय सफा राख्नुपर्दैन ? यस्तो फोहोर के हो ?’ मन्त्रीले यसो भनिरहँदा कार्यालयका हाकिम जवाफ फर्काइरहेका थिए, ‘पानी परेर हजुर यस्तो भएको ।’
मन्त्रीको टोली अकस्मात पुग्दा कर्मचारीहरु समोसा र तरकारी छेऊमा राखेर धमाधम काम गरिरहेका देखिन्थे, बाहिर निकै ठूलो भीडभाड र होहल्ला थियो । तरकारी र अाधा टाेकेको समाेसा टेबलमा राखेर काम गरिरहेकी सुमित्रा श्रेष्ठले अनलाइनखबरसँग भनिन्, बिहानैदेखि काम गर्नुपर्छ, खाना खानेसम्म फुर्सद हुँदैन ।
यसअघि यातायात व्यवस्था कार्यालयमा विचौलिया र भ्रष्टाचारीको बिगबिगी भएको र शौचालयसमेत नभएको अनलाइनखबरमा खबर प्रकाशित भएपछि सरकारले त्यहाँ निगरानी बढाएको हो ।
बिचौलियालाई छिर्न नदिनू, त्यसपछि म जान्दिँन
पानी परिरहेका बेलामा पनि यातायात व्यवस्था कार्यालयमा भीड थियो । कार्यालयमा छिर्ने बाटोसम्म थिएन । शौचालय नभएको गुनासो कार्यालयका उपसिचव राजेश पौडेल आफैंले मन्त्रीसमक्ष राखे ।
मन्त्रीसमक्ष सेवाग्राहीले कार्यालय परिसरमा केहीबेर आफ्ना गुनासो सुनाए । कोही भनिरहेका थिए, मन्त्री त यस्तो पो हुनुपर्छ, जनतासँग यसरी आउनुपर्यो नि । एक महिलाले आफूले फाइल दिएर भित्र विचौलियालाई पठाएको बताएपछि मन्त्री पण्डितले कोही पनि बिचौलियालाई कार्यालयभित्र छिर्न नदिनु भन्ने निर्देशन दिए ।
तर, उपसचिव पौडेलले भने लाइसेन्स लिएर आएका पेशेवर लेखन्दासहरु कार्यालयभित्र छिर्ने परम्परा रहेको बताए । तर, मन्त्री पण्डितले मानेनन् । मोरङ जिल्ला प्रशासन कार्यालयमा असम्बन्धित व्यक्ति छिर्दा एक हजार रुपैयाँ जरिवाना गर्ने गरिएको मन्त्री पण्डितले जानकारी दिँदै भने-‘यहाँ कोही पनि बिचौलिया नछिरोस्, छिरेको पाइयो भने त्यसपछि आउने परिस्थितिबारे म केही जान्दिँन,’ नयाँ कार्यालय प्रमुख उमेश बस्नेतको कार्याकक्षमा मन्त्री पण्डितले भने ।
आफूले यातायात व्यवस्था मन्त्री विमललेन्द्र निधिलाई यातायात कार्यालयको निरीक्षण गर्न आग्रह गर्दा पनि नआएपछि आफैं छड्के जाँच गर्न आएको बताए ।
यातायात कार्यालयको कन्तबिजोग
एकान्तकुनामा यातायात व्यवस्था विभाग अन्तरगतका दुईवटा सरकारी कार्यालयहरु छन् । एउटामा साना र ठूला सवारी साधनहरु दर्ता नामसारी आदि हुन्छ । अर्कोमा यातायात व्यवस्था सम्बन्धी थप काम हुन्छ । सवारी चालकसम्बन्धी परीक्षा पनि त्यहीँ हुन्छ ।
कर्मचारीले दिएको जानकारी अनुसार त्यहाँ कर्मचारीको दरबन्दी ६९ जनाको रहेको छ । तर, सेवाग्राहीहरु दैनिक २५ सय आउँछन् । ‘यस्तो कार्यालय र जनशक्तिले त्यति धेरै जनतालाई सेवा दिनै सक्दैन,’ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेशराज अधिकारी भन्छन्- उपत्यकाको छेऊमा कार्यालय राख्नु नै सही छैन, साथै यो कार्यालयका शाखाहरु काठमाडौं र भक्तपुरसम्म विस्तार नगरी सेवालाई सजिलो बनाउन सकिँदैन ।
यातायात व्यवस्था कार्यालयका उपसचिव राजेश पौडेल चाँहि अनलाइन प्रविधिमा नभएसम्म भीड व्यवस्थापन गर्न नसकिने बताउँछन् ।
मन्त्री ज्यू, मलार्इ पिसाब लागेकाे छ
कार्यालय परिसरमा एक जना युवकले मन्त्रीसँग अलि कडै स्वरमा भने, ‘मन्त्रीज्यू यहाँ शौचालय कहाँ छ, एकपटक सोध्नोस् त, मलाई ट्वाइलेट लागिराखेको छ ।’
मन्त्रीले सोधे, यहाँ शौचालय छैन र ? युवकले फेरि भने, यो गम्भीर कुरा हो, तपाई साँच्चै अनुगमन गर्न आउनुभएको हो भने शौचालय हेर्नोस् । यत्रो मान्छे हुने सरकारी कार्यालयमा पैसा तिरेर पिसाब फेर्नुपर्छ । हाम्रो पिसाब फेर्ने अधिकार हनन भयो मन्त्रीज्यू ।
मन्त्रीसँग अर्का एकजना सेवाग्राहीले धेरै पैसा तिर्नेलाई बढी राजस्व लिने व्यवस्था गर्न र भीडलाई सहज बनाउन मन्त्रीलाई सुझाव दिए ।लाइनमा बस्नेको काम नहुने र विचौलियामार्फत बढी पैसा लिएर कर्मचारीकै मिलेमतोमा काम भइरहेको सेवाग्राहीले मन्त्रीसमक्ष गुनासो पोखे ।
एक महिलाले विचौलियामार्फत काम गराइरहेको बताइन् । छेवैमा उभिएका कार्यालय प्रमुख राजेश पौडेलले चाहिँ प्रत्येक तलामा शौचालय भएको बताइरहेका थिए । तर, सेवाग्राहीले भने झाडीमा पिसाव फेरेर आएको मन्त्रीलाई सुनाए ।
सात दिनभित्र विवरण पेश गर्न निर्देशन
अनुगमनमा गएका मन्त्री पण्डितले कार्यालयका समस्याहरु के के छन् र सुधार गर्न के गर्नुपर्छ अनि कति कर्मचारी चाहिएको छ, सोको विवरण सातदिन भित्र लेखेर मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् ।
यातायात व्यवस्था कार्यालयमा रिक्त रहेका २ अधिकृत, ६ नायब सुब्बा र ४ खरदार तत्काल पठाउन सकिने मन्त्री पण्डितले बताएका छन् ।
अनुगमनमा खटिएका प्रशासन सुधार समितिका अध्यक्ष काशीराज दाहालले सरकारी कार्यालयमा शौचालयसम्म नहुनु दुखालाग्दो विषय भएको बताए । ‘कार्यालयका तर्फबाटै हुन सक्ने सुधारका कामहरु तत्काल गरिनुपर्ने र अञ्चल यातायात कार्यालयलाई उपल्यकाका अन्य क्षेत्रमा पनि तत्काल विस्तार गरिनुपर्ने दाहालले बताए ।
अनुगमनमा खटिएका प्रशासन सुधार समितिका अध्यक्ष काशीराज दाहालले सरकारी कार्यालयमा शौचालयसम्म नहुनु दुखालाग्दो विषय भएको बताए । ‘कार्यालयका तर्फबाटै हुन सक्ने सुधारका कामहरु तत्काल गरिनुपर्ने र अञ्चल यातायात कार्यालयलाई उपल्यकाका अन्य क्षेत्रमा पनि तत्काल विस्तार गरिनुपर्ने दाहालले बताए ।
मालपोतका कर्मचारीलाई ६ बजे नै हाजिर हुन निर्देशन
मन्त्री पण्डितको टोली यातायात व्यवस्था कार्यालयको अनुगमन सकेर दिउँसो डेढ बजे कलंकीस्थित मालपोत कार्यालयमा पुग्यो । मन्त्रीले कर्मचारीलाई बिहान कतिबजे आउनुहुन्छ भनेर सोध्दा ७ बजे भन्ने जवाफ पाएपछि छ बजे नै आउन भने ।
‘६ बजे मान्छे नै आउँदैनन् हजुर ।’ एक कर्मचारीले यसो भनेपछि मन्त्रीले मान्छे आएनन् भनेर कार्यालयमा हाजिर हुन्न भन्न नपाइने बताउँदै कारवाही होला है भनेर चेतावनीसमेत दिए । मालपोतका कर्मचारीले बिहानैदेखि आउँदा आफूहरुले होटलमा खाना खानुपरेको र १२ घण्टा काम गर्दा पनि थप सुविधान नपाएको भन्दै सुविधाको माग गरे ।
कलंकी मालपोत कार्यालयमा पनि मन्त्री पण्डितले विचौलियालाई कार्यालयभित्र प्रवेशमा रोक लगाउन निर्देशन दिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments