राजेन्द्र पाण्डे डा. के.सी.लाई बौलाहाको मापन लगाउने तिम्रो आधार के हो? कतै तिम्रो.....
|
बौलाहा दुईथरिका हुन्छन्। एकथरी मानसिक अनि अर्काथरि वैचारिक। तिमी कुन वर्गमा पर्छौ, त्यो मैले भन्नुपर्ने कुरा होइन। डा. के.सी.लाई बौलाहाको मापन लगाउने तिम्रो आधार के हो? न तिमी मेडिकल डाक्टर हौ, न उच्च मनोविज्ञ। यदि के.सी. बौलाएकै हुन् भने लैजाऊ पाटन मानसिक अस्पताल वा राँची। तिमीसँग त यो ताकत छ नि। सत्ता छ, शक्ति छ, नभए गुण्डा नाइके छन्। अझै सक्छौ भने अपहरण नै गर न। उनको जीवनको फिरौती माग। अनि तिम्ले मेडिकल कलेजको सम्बन्धन पाइहाल्छौ नि।
हिजो एक मित्रकहाँ गएको थिएँ,
एउटा पोको कोठाको कुनामा
दलीनमा झुन्डिरहेको थियो !
ती, अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका
सिरक र दोलाइहरू हुनुपर्छ पक्कै पनि !
मलाई लाग्यो,
म पनि झुन्ड्याइदिऊँ एउटा ठूलो पोको पारेर
व्यर्थै मलाई चिमोटिरहने सपनाहरूलाई !
कतै आउला कि कुनै यस्तो दिन
जब फुलाएर तिनै सपना आँखाहरूका फूलबारीमा
हाम्रा छोरा-छोरी र नाति-नातिनाहरू,
आनन्दका गीत गाउँदै खेत गोडिरहेका हुनेछन् !
('कतै आउला कि कुनै यस्तो दिन' - हरिभक्त कटुवाल)
जसरी मलाई नेपालका नेता अयोग्य र अक्षम लाग्छन्, नेताले अक्षम-अयोग्य देखेका अनुत्पादक कविका कविता योग्य, सक्षम र ऊर्जावान् लाग्छन्। हरिभक्त कटुवाल यस्तै रोगी राजनीतिले पिरोलिएका कवि थिए। उनलाई कहिले प्रवासले बिरामी पार्यो, कहिले आफ्नै आवासले बिरामी पार्यो।
यतिबेला देश बिरामी छ। हुन त देश सधैं बिरामी नै छ। ६५ लाख नेपाली सक्षम जनशक्ति बिदेशिँदा देश बनाउने नेताहरूले नै म्यानपावर र कन्सलट्यांन्सी खोल्ने देश बिरामी नहोस् पनि कसरी?
फेरि एकपटक जगाए डा. गोविन्द के.सी. ले देशलाई। सुतिरहेका युवालाई। आजै मात्र एउटा अनलाइनमा एमाले नेता (कु) राजेन्द्र पाण्डेको अन्तर्वार्ता पढेँ। उनले सरासर भनेका छन्, ‘मनमोहन मेडिकल कलेज जनताले खोलेको सहकारी हो, यसको सम्बन्धनको कुरा आउँदाबित्तिकै के.सी. अनसन बसेका छन्, सम्बन्धन दिनुहुन्न भनेर। उनी अनसन बसेका होइनन्, एकान्तबास पसेका हुन्। शरीरमा स्लाइन पानी होइन, औषधि चढाएका छन्। यसरी त वर्षौं अनशन बस्न सकिन्छ। उनी बाँचे बाँचूँन्, मरे मरून्।’
प्रिय पाण्डेज्यू,
तिम्ले जन्माउन लागेको सहकारी मेडिकल कलेज अहिलेलाई अवैध सन्तान हो। नेपालका सहकारीको अवस्था आजको दिनसम्म आइपुग्दा कस्तो छ? त्यो तिम्लाई थाहै छ। फेरि सहकारीको नाममा जनतामाथि राजनीति नगर। नेताज्यू, देश कसरी बन्छ? त्यो तिम्लाई थाहा छ तर तिम्रो स्वदेशसेवामा बिर्को लागेको छ। तिम्लाई राजनीतिभित्र व्यापारी र ठेकेदार भएर निस्कनु छ। राजनेतामा धेरै असाधारण र उच्च गुण हुन्छन्। यो मैले तिम्लाई पढाउने पाठ होइन र तिमीलाई पढाउन पनि सकिन्न। राजनेताभन्दा एक कदममाथि समाजसेवामा लागेका पवित्र मन हुन्छन्। थाहा नै छ नि तिम्लाई गान्धी, अन्ना हजारे आदि-आदिको सेवा।
गान्धीले भारतमा स्वतन्त्रताको घाम उदाउन कुनै व्यवसाय गरेनन्, कुनै कारखाना खोलेनन्। तिम्लाई थाह छ, हाम्रो देशको जनसंख्याभन्दा भारतमा भिखारीको संख्या बढी छ तर तिनै भिखारीले पनि गान्धीलाई सहयोग र समर्थन गरेका थिए, एक छाक खाना पाइने लोभमा होइन, गान्धीको कोरा जीवन र त्यागलाई तिनले सम्मान गरेका थिए।
भनौला, भिख माग्नेको पनि देश हुन्छ? हुन्छ, अहिले जसरी तिम्ले मेडिकल कलेजको सम्बन्धनको भिख मागिरहेका छौ। संविधान बनाउन सत्तामा पुगेको मान्छे ठेकेदार बन्दै छौ। हो, देश त तिम्रो पनि हो।
प्रिय पाण्डेज्यू,
बौलाहा दुईथरिका हुन्छन्। एकथरी मानसिक अनि अर्काथरि वैचारिक। तिमी कुन वर्गमा पर्छौ, त्यो मैले भन्नुपर्ने कुरा होइन। डा. के.सी.लाई बौलाहाको मापन लगाउने तिम्रो आधार के हो? न तिमी मेडिकल डाक्टर हौ, न उच्च मनोविज्ञ। यदि के.सी. बौलाएकै हुन् भने लैजाऊ पाटन मानसिक अस्पताल वा राँची। तिमीसँग त यो ताकत छ नि। सत्ता छ, शक्ति छ, नभए गुण्डा नाइके छन्।
पाण्डेज्यू,
हो, म मान्छु वा मजस्तै धेरैले मान्छन्- अस्पताल खुल्नुपर्छ विशेष गरी आम-जनताका लागि। भएका मेडिकल कलेजको यो हालत छ। सरकारी अस्पताल र तिमी नेताहरूको ताल उस्तै छ। तिम्ले फेरि जनताको भोटको अपमान गर्दै छौ। तिम्लाई सत्ता र कुर्सीको मात्रै मोह छ। त्यही भोटले रोगी बनेका जनतालाई कहाँ लगेर उपचार गराउँछौ? हुन्छ नि मान्छेमा मानवता भन्ने एउटा जन्तु-तन्तु। खोइ, कहाँ हरायो, तिम्रो मानवता। कमसेकम एउटा सामाजिक प्राणी र मानवका नाताले उनको बिग्रँदो स्वास्थ्यको त ख्याल गर। तिमी नेता त हौ नि, होइन र?
पाण्डेजी,
तिम्ले फेरि भन्यौ, ‘डा. के.सी. को यो अनशन होइन, एकान्तबास हो।’ ए, बाबा। अनशन र एकान्तबास छुट्याउन नसक्ने तिम्रो विवेक दया लाग्दो छ। मेडिकल माफियाको बिरोधमा एउटा आम-मान्छेले विरोध गर्दा सरकारी तलब खाएर अस्पतालमा अनशन बस्न पाइन्न भन्ने?
समस्या जहाँबाट उत्पन्न हुन्छ, समाधान पनि त्यहीँ खोज्नुपर्छ पाण्डेज्यू। तिमीहरू बिग्रनुको कारण पनि त्यही हो कि, तिम्लाई संविधान सभामा संविधान निर्माण गर्न पठाएको कि मेडिकल अस्पतालको ठेकेदारी गर्न? जबाफ देऊ।
हुन मेरो यो विचारमा कुनै तुक नहोला। तिमी र तिम्रा कार्यकर्ता र नाइकेहरूलाई रिस उठ्ला। तर सत्य यही हो नेताजी यो देश नबनेको होइन नबनाइएको हो। नेपालीमा उखान छ नि ‘जो अगुवा, उही .......।’ हो, यस्तै हो तिमी र हाम्रो देशको नियति।
प्रिय नेताजी,
नेपालजस्तो देशमा केही परिवर्तन ल्याउनुछ भने तिम्ले गरिरहेको ठेकेदारी राजनीतिबाट माथि उठेर हेर। निमुखा जनतालाई अन्न-पानी र बास देऊ। सकभर कसैलाई बिरामी र रोगी पार्दै नपार। अस्पताल खोल्नुभन्दा पहिला जनताको गास,बास,कपास, शिक्षा र रोजगारको व्यवस्था गर। बाटोघाटो बनाऊ। अनि बल्ल अस्पताल बनाऊ। बाटै भएन भने तिम्रो अस्पतालको एम्बुलेन्स कहाँ कुदाउँछौ? अनि तिम्रो अस्पतालमा को बिरामी उपचार गराउन आउँछ? तिम्रो अस्पताल फ्लप भएपछि तिम्रो लगानी त डुब्छ अनि तिमी फेरि भ्रष्टाचारी बन्छौ। यसपालिको भ्रष्टाचारको साइज तिम्ले सोचेभन्दा ठूलो आकारको जरुर हुनेछ। अनि तिम्ले भनेजस्तो अनशन र एकान्तबासको फरक छुट्याउने बेला आउँछ। त्यति बेला तिमीलाई थाहा हुनेछ कि एकान्तबास के हो।
मेरा अर्का प्रिय कवि भन्छन् ,
"नेपाल देख्दा कतै देखेको झैँ,
बिहान कतै आँगन टेकेको झैँ।
यस्तो लाग्यो हृदयमा मेरो,
सपनामा कतै भेटेको झैँ।
हिंड्दा-हिंड्दै अन्त पाएको झैँ,
बिहान निस्की घर आएको झैँ।
यस्तो लाग्यो हृदयमा मेरो,
चिर प्रवासको पसिना मेटेको झैँ।"
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
0 comments