Hindi Films

मनमोहनको नाम बेचेर जनस्वास्थ्यको व्यापार गर्न पाइन्छ?

Unknown | 11:21 | 0 comments


 

उनीप्रति जुन आदरभाव थियो, त्यसमा ठेस लागेर, जखम भएको अनुभूति भइरहेको छ। विदेशी भूमिबाट आफ्नो मातृभूमिमाथि भइरहेका यस्ता जखमी पीडाहरू देख्दा बोल्न र लेख्न मन लाग्छ।
२०४४ साल चैतमा भिषण हावाहुरीका कारण दशरथ रंगशालामा भागाभाग हुँदा ७१ जना फुटबलप्रेमी दर्शकहरूले ज्यान गुमाएका थिए। उक्त घटनाको नैतिक जिम्मेवारी लिँदै तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टले पदबाट राजीनामा दिएका थिए।
सम्भवतः अहिलेसम्मको यो नै पहिलो घटना होला, जसले नेपाली राजनीतिमा नैतिकताको झल्को दिएको थियो। होइन भने प्रजातन्त्रको स्थापनापछि नेपालका राजनीतिकर्मीहरू नैतिकताभन्दा धेरैमाथि छन् भन्दा हुन्छ। कुर्सीबाहिर हुँदा सबै नैतिकताको कुरा गर्छन्, कुर्सीमा पुगिसकेपछि मानौं, नैतिकता जागृत गर्ने तन्तु निस्क्रिय हुन्छ उनीहरूको।
ठिक यतिबेला डाक्टर गोविन्द केसी फेरि आमरण अनशनमा छन्। र, नेपालको राजनीतिक वृत्तमा फेरि नैतिकताको खोजी गरिँदै छ। नैतिक मूल्य र मान्यतामा चलेको राजनीति भए, डा. केसीले एउटै मुद्दामा पटकपटक अनसन बस्नुपर्ने नै थिएन। अतः अनैतिक मान्छेहरूको बाहुल्य भएको राजनीतिमा नैतिकताको अपेक्षाको खासै महत्त्व हुँदोरहेनछ क्यार।
प्रजातन्त्र बहाली भएको २५ वर्षसम्म सुस्त र अचेत अवस्थामा रहेको नैतिकता डा. केसीको आमरण अनशनले जागृत गर्ला भनेर विश्वास लाग्दैन। पटकपटक कबुलनामामा हस्ताक्षर गर्ने र आफूले कबुल गरेको विषय नै थाहा नपाउने प्रधानमन्त्रीसित के नैतिकता होला र हामीलाई दिन्छन्।
नक्कली प्रश्नपत्र र कानुनको व्यापार गर्ने गृहमन्त्री, शिक्षामन्त्री, स्वस्थ्यमन्त्री र कानुनमन्त्रीले कहाँबाट ल्याएर दिनु नैतिकता। हो, यदि नैतिकता पनि माफिया र तस्करहरूको बजारमा किन्न पाइने भएको भए, नैतिकताको खोलो बगाइदिने थिए।
दुर्भाग्य, कालोबजारमा नैतिकता खरिद मात्रै हुन्छ, बिक्री हुँदैन। अथवा एकपटक बेचेको नैतिकता फिर्ता हुँदैन। अब उनीहरू नैतिकशून्य मान्छे हुन्। जे जति थियो, बिक्री भइसक्यो। अब, हुँदै नभएको नैतिकता कहाँबाट दिनु? त्यसो भएको हुनाले सकिन्छ भने यी नैतिकहीन मान्छेहरूलाई सत्ताच्युत गर्ने उपाय खोज्दा बेस हुन्छ। सकिँदैन भने गोविन्द सर, माफ गर्नुस् भनेर डा. सुन्दमणि सरको बोटो हिँड्दा बेस होला।
म मडिकलको विद्यार्थी होइन। तर, राजेन्द्र पाण्डे र सुन्दरमणि दाइको विचार पढ्दै गर्दा केही जिज्ञासा जन्मियो।
मेडिकल पढ्ने विद्यार्थी बिदेसिन्छन् भनेर पार्टीहरूले स्वस्थ्यको नाममा ठगी व्यापार गर्न मिल्छ? किन जान्छन् मेडिकल पढ्ने विद्यार्थी विदेश नेपालमा ‘मेडिकल कलेज’ लेखेको बोर्ड झुन्ड्याइएको आकर्षक विल्डिङ नदेखेर हो? अथवा नेपालमा गुणस्तरीय मेडिकल कलेज नभएर हो? 
सभासद राजेन्द्र पाण्डेजीको जिकिर छ- मेडिकल पढ्ने मित्रहरू नेपालमा मेडिकल कलेज लेखेको बोर्ड झुन्ड्याइएको घर नदेखेर बिदेसिएका हुन्।
मेडिकल साइन्स पढ्न विदेश गएका आदरणीय मित्रहरू, के मनमोहन मेमोरियल मेडिकल कलेजले सम्बन्धन पायो भने फर्किएर आउनु हुन्छ त्यहाँ एडमिसन गर्न? अथवा तपाईंहरू यहाँ आधारभूत पूर्वाधार र शिक्षक नभएको कारणले विदेश जानुभएको हो?
यस सम्बधमा जानिफकारहरूबाट जानकारी लिँदै गरौँला। फेरि उहाँतिरै फर्किन चाहन्छु।
अहिले भर्खरै चैत १५ गते, एमालेका नेता रामनाथ ढकाललाई स्वाइनफ्लुको लक्षण देखिएछ। सम्भवतः उनलाई अविलम्ब दिल्ली लगिँदैछ। मलाई लाग्दैन कि उनले निजी पैसाले उपचार गर्छन्। तर, जे जसरी भए पनि उनको उपचार होस् र उनले शीघ्र स्वस्थ्यलाभ प्राप्त गरून् मेरो हार्दिक प्रार्थना छ।
नेपालमा स्वाइनफ्लु भित्रिनेबित्तिकै डा. सुन्दरमणि दीक्षितले एउटा धारणा सार्वजनिक गरेका थिए। त्यसको भावार्थ थियो- स्वाइन फ्लु ओखती खानेबित्तिकै ठीक हुन्छ। किन यत्रो कोकोहोलो मचाएको होला?
उहाँले त्यसो भनेको दुई-तीन दिन पहिला स्वाइन-फ्लुकै सम्बन्धमा सेतोपाटीमा मैले एउटा ब्लग लेखेको थिएँ। कृपया, मजस्तो सामान्य मान्छेले लेखेको विचार पढेर उनले त्यो प्रतिक्रिया दिए भन्ने मेरो आशय पटक्कै होइन। बरु, उहाँको त्यो बिचार पढ्दा मलाई नबुझी लेखिएछ किजस्तो लागेको थियो। तर, त्यसलगत्तै स्वाइनफ्लुले मान्छे मरे। स्मरणरहोस्, त्यतिखेर डा. गोविन्द केसी अनशनमा थिएनन्। 
आदरणीय सुन्दरमणि दाइलाई मेरो जिज्ञासा छ- ती स्वाइन-फ्लुले मरेका मान्छेलाई राज्यले जानी जानी ओखती नदिएर मारेको भन्न मिल्छ कि मिल्दैन? र मृतकको जिम्मा कस्ले लिन्छ? राज्यले, सुन्दरमणि दाइले या अरू कसैले?
अनि त्यही रोगका लागि रामनाथ ढकालचाहिँ किन भारत जानुपर्ने? विदेश पढ्न जाने मेडिकलका विद्यार्थीलाई रोक्न भनेर आफैँले सेयर हालेको मनमोहन मेमोरियल मेडिकल कलेजमा उपचार गर्दा हुँदैन? अनि आदरणीय सुन्दरमणि दाइ, रामनाथ ढकालको लागि त्यो जाबो स्वाइन-फ्लुको ओखती नेपालमा पाइँदैन?
आफैँले लगानी गरेर खोलेको मेडिकल कलेजमा किन विश्वास नभएको रामनाथ ढकालजीलाई? उहाँहरू कसका लागि डाक्टर उत्पादन गर्नुहुन्छ?
कतै एमाले नेतालाई विदेश उपचार गर्न जाने सिफारिस बाँड्न खोल्नुभएको त होइन त्यो अस्पताल? कामरेड झलनाथ खनालले पनि निमोनियाको उपचार गर्न अमेरिका जाने सिफारिस त्यहीँबाट लिनुभएको थियो होला?
राजेन्द्र पाण्डेजीले फरेब लगाएजस्तो डा. केसीले कुनै पनि मेडिमल कलेजलाई तोकेर यो-यो कलेजलाई सम्बन्धन दिनु हुँदैन भनेका छैनन्। बरु ज-जसले मापदण्ड पुर्‍याएका छैनन्, तिनीहरूलाई दिनु हुँदैन, मेडिकल कलेजहरू सहरकेन्द्रित भए, अझ राजधानीकेन्द्रित भए, विकेन्द्रीकृत गर्नुपर्छ भन्या हो।
राजेन्द्रजीहरूको नियत ठिक छ भने खुसीले बुकुर्सी मार्दै मनमोहन मेमोरियल मेडिकल कलेज भनेर नेपालका प्रत्येक सहरमा खोल्नु नि। सबैले स्वागत गर्छन्।
एक लिटर मट्टीतेलमा एक रूपैयाँ मूल्यवृद्धि भएको नाममा ठुल्ठूला आन्दोलन भएका छन्। भ्रष्टाचारीलाई जेल हाल्दा आन्दोलन हुन्छ। एउटालाई मन्त्रीबाट झारेर आफू मन्त्रीको कुर्सीमा चढ्न आन्दोलन हुन्छ। तलब बढेन भनेर आन्दोलन हुन्छ। सुविधा र भत्ताका लागि आन्दोलन हुन्छ। तर, निमुखा जनताको हक र अधिकारको निम्ति आन्दोलन हुँदैन यहाँ।
एउटा विशुद्ध समाजसेवी मान्छे, जसले जीवनको उद्देश्य सेवाभन्दा अरू केही सोच्नै भ्याएको छैन। आर्जिएको पारिश्रमिकसमेत समाजसेवामा लगाउँछ। त्यस्तो मान्छे जनताको बाँच्न पाउने र ओखती मूलो गर्न पाउने अधिकारका निम्ति विशुद्ध भावनाले आमरण अनशनमा छ। मुलुकको प्रधानमन्त्री ‘मरे मैले के गर्नु त’ भनेर गैरजिम्मेवारीको पनि हद नाघ्छन्। हामी ऊसित नैतिकता खोन्दैछौँ।
हामी यो देशका गृहमन्त्रीसित नैतिकता खोज्दैछौँ, जो संसदीय समितिको बैठकमा राजनीतिक संक्रमणमा बलात्कार र महिलाहिंसा जस्ता घटना हुन्छन् भनेर राजनीतिक ठट्टा गर्छन्।
स्वास्थ्यमन्त्री, जो स्वास्थ्यमाफिया र तस्करहरूसित मिलेर जनस्वास्थ्यको व्यापार गर्छन। निस्वार्थ र विशुद्ध भावनाले जनताको सेवा गर्ने डा. गोविन्द केसीलाई पागल भन्दै हिँड्छन्, त्यस्ता मान्छेसित हामी नैतिकता खोज्दैछौं।
एउटी बलात्कृत चेली न्याय नपाएर रुँदै हिँडेकी छिन्। अपराधी खुला छाती फुलाएर उनकै दायाँबायाँ हिँड्दैछ। न्यायमन्त्री ती अपराधीहरूका अगाडि नतमस्तक छन्। हामी त्यस्ता मान्छेसित नैतिकता खोन्दैछौं।
अझै पनि उनीहरूको खडेरी परेको दिमागमा नैतिकता जन्मिएला र नेपाली जनताको ओखतीमूलो गर्न पाउने अधिकार सुनिश्चित होला भनेर विश्वास गर्नु, मरुभूमिमा पानी उम्रेला र तिर्खा मेटौँला भन्ने अपेक्षा गर्नु जस्तै होइन र? 


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments