Hindi Films

डेथ इज नट इजी आर्ट(के मर्न सजिलो छ?),पढ्नुहोला ,एक पटक

Unknown | 10:55 | 0 comments



२०७१ चैत्र ७ शनिबार 
डेथ इज नट इजी
यो मनोहारी पंक्ति लेखेका हुन्, ज्याँ पल सात्र्रले। बीसौं शताब्दीका अस्तित्ववादी चिन्तक सात्र्रले उनको महाकथा 'ओर्डस्'मा।
'ओर्डस्' उनको भाषामा आत्मकथा, आत्मजत्तिकै सच्चा।

डेथ इज नट इजी आर्ट।
यो पंक्ति घरिघरि दोहोर्‍याएका छन्, ओशोले आफ्नो प्रवचनमा। ओशोले यी पंक्ति बोलेदेखि अन्त्यसम्म आफ्नो ओठमा कायमै राखे सतत् रूपमा।
ओशोले जाँदा पनि यो पंक्तिलाई मंगलसूत्र बनाएर गए। ओशो यस्ता पंक्तिका माझ विख्यात छन् सम्पूर्ण जगत्मै।
 
 पछि उनैले लेखे- मै मृत्यु सिखाता हुँ। यो उनको सर्वाधिक लोकप्रिय पुस्तक मानिन्छ, सम्भोग से समाधि के ओर पछि। हुन त उनले कुनै पनि पुस्तक लेखेनन्, ती सबै पुस्तक उनको मञ्चीय मन्तव्यको सारसंग्रहण हो। र, यो त्यसरी नै छापिएका छन्, जसरी ओशोले बोलेका छन्, हरफ हरफ, अनुच्छेद अनुच्छेद नै।
 
बीसौं शताब्दीका अन्तिम विचारक ओशोले आफूलाई बीसौं शताब्दीका दुई महामानव ज्याँ पाल सात्र्र र सिग्मन्ड फ्रायडसित कालातीत रूपमा जोडिरहे, तर्कवितर्कलाई वितरण गर्दै।
 
ओशोका समकालीन साथीमा गीतकार अञ्जान सदैव भन्थे, 'रजनीशचन्द्र मोहन एक अद्भुत प्रतिभा थिए, रहे।'
 
अञ्जानले हिन्दी सिनेजगत्मा एक सफल गीतकारका रूपमा आफ्नो छवि बनाए तर उनी आफूलाई ओशोका मित्र वा सहपाठी भएको गौरवले जीवन सुमन्नत भएको महसुस गर्थे।
 
अञ्जानजस्तै ओशोका निकटका मित्र थिए- कवि, गीतकार डा. हरिवंश राय वच्चन। हिन्दी साहित्यका एक आराध्यय गद्यपुरुष वच्चन ओशोले बुद्धत्व प्राप्त गर्नुअघिका घनिष्ठ मित्र थिए। 
 
जो स्वयं पनि ओशोको प्रवचन सुन्न उनको शिविरमा पुगिरहन्थे। वच्चनले आफ्नो अद्वितीय आत्मकथा 'दशद्वार से सोपान तक'मा प्रेमपूर्वक लेखेका छन्, रजनीशका बारेमा। ती पंक्ति स्पर्श गर्नलायकका छन्। एकान्तका मेरा प्रिय भनेर यी दुई एकअर्काकालाई कवितामा सम्बोधन गर्थे।
...
ओशो आफ्नो समयका एक शक्तिशाली विम्ब थिएभन्दा अत्युक्ति नहोला। तर, त्यतिमात्र भन्दा अफसोसनाक हुनसक्छ, कारण ओशो आफ्नो समयपछिका पनि एक दिगन्त दर्शन हुन्। उनलाई देख्ने, चिन्ने, सुन्ने र बुझ्ने मान्छे अब धेरै कम छन् तर उनको सन्देश अब व्याप्त छ।
 
ओशोलाई समय, कालक्रमका हिसाबले जसले जसरी बुझे पनि उनी एक एेना हुन्, त्यो ऐनामा हेर्न सकिन्थ्यो भने त्यो ऐनाबाट देख्न पनि सकिन्थ्यो परपरसम्म।
 
यो ऐन्द्रिक दर्शन सायद त्यो समयको राजनीतिले कथंकदाचित् बुझेन होला। वा, अबुझ बन्यो त्यो बेलाको समय, सत्ता र शक्तिदारहरू।
 
ओशोलाई धेरैले गुरु, सन्त, धार्मिक नेता वा वक्ताका रूपमा अनेकानेक व्याख्या गरे तर उनी एक साहित्यकार हुन्, जसका बारेमा धेरैले कमै ज्ञान राखे। जब उनी कविता, गीत वा हाइकूबारे बोल्थे- उनका विचार अपार भएर आउँथे, सारा तरंग छाल भएर आउँथे।
 
उनी मौनतालाई मौनताले चिर्न सक्थे। यस्तो सामर्थ्‍य धेरै कम कवि वा ऋषिमा हुनसक्छ। भनिन्छ, सन्न्यासी समाजबाट मात्र अलग्गिन सक्छ, कवि आफैंबाट अलग्गिनसक्ने सन्न्यासी हो। ऋषिमन त्यसैको तज्जन्य आकर्षण।
 
ओशो त्यही थिए सायद। उनी कविताको जवाफ कवितामै दिन सक्थे तर उनको कविता अक्षरमा होइन, चित्रमा कोरिएको हुन्थ्यो- स्पष्ट, सचित्र र सम्पृक्त।
 
 
 
ओशोको प्रस्थानपछि नेपालले भोग्दै आएको दुर्दशाको सूची अझै लामो हुँदै गयो, यति लामो कि त्यो सूचीको लम्बाइमा १६ हजार मान्छे मरिसक्दा पनि शान्तिको कुनै आभा छैन। भोलि अर्को १६ हजार मान्छे मरेपछि पनि फेरि अर्को शक्ति उदय होला। 
 
 
ओशोले श्रोतव्य संसारमा प्रवेश गर्दा आजको जस्तो नक्कली चीजको जन्जाल वा असामाजिक सञ्जाल बनिसकेको थिएन। तर, उनले आफ्नो श्रोता वा शुभेच्छुकलाई श्रवणको माध्यमबाटै एउटा शाब्दिक संसार बनाउन सघाए। त्यसको एउटा विशाल समुदाय नेपालमा पनि बन्यो।
 
नेपालमा ओशो क्यासेट संस्कृतिबाट भित्रिए, गल्लीगल्ली र चोकचोकमा सुनिन थाले। उनी पत्रपत्रिका र अखबारबाट काठमाडौं भित्रिँदा नेपालीय भाव 'पञ्चै हो यो देश बनाइदेऊ' को नारामा शाही सामन्ती सरकारको धरापबाट मुक्त हुन सकेको थिएन। 
 
तर, नेपाली युवा काठमाडौं झोँछ्येँबाट मरुध्व:खा, मरुहिटी कंकेश्वरीको चिहान हुँदै स्वयम्भूको डाँडामा प्रकटन बुद्धका अर्धनिलिमित नयनमा गएर नीलो धर्कोमा निलिम्म हुन पुग्दा बचाउने कुनै जर्क थिएन, त्यो बेला ओशोको प्रवचन जे कृष्णमूर्ति, नागार्जुन, रमण महर्षि, गुरजिएफका वाणी हुँदै सम्बुद्ध हुन आइपुगे।
समयले बचायो एउटा समयलाई।
...
ओशो रजनीशचन्द्र मोहनबाट आचार्य रजनीश हुँदै भगवान् रजनीश हुँदासम्मको आरेखमा मौन थियो, एउटा सिंगो काठमाडौं। काठमाडौंलाई गाली गरेर नथाक्ने कवि, राजनीतिज्ञलाई दर्शन दिन ओशो काठमाडौं आउँदा उनलाई अमेरिकाको रेगन सरकारले ब्लांकेट एरेस्टको घोषणा गरिसकेका थिए।
 
पञ्चायती व्यवस्थाको जर्जर रूखको बलमा चन्द्रसूर्य टिकाएर बसेको एउटा कमजोर राजशाहीले ओशोलाई काठमाडौं भव्य स्वागत गर्न सकेन र बस्न दिन झनै सकेन।
 
उनलाई स्वागत गर्न विमानतलमा राखिएका तामाको घडा हटाउन लगाइए, त्यो राजाको स्वागतमा मात्र प्रयोग हुने प्रतीक हो भनेर। हिन्दू धर्ममा अतिथि भगवान्सरह भनिए पनि हिन्दु जनताका राजा बन्न पुगेका श्री पाँचपटक धारण गर्ने शासकले त्यो सम्मान भगवान्जस्तो एउटा अतिथिलाई दिन सकेन।
उनी फर्केर गए।
...
बुद्धको जन्मभूमिमा २५ सय वर्षपछि आएको छु, स्वागत गर भनेर उनले अनुनयविनय गर्दा पनि राजा महाराजा अनि उनका सारा शक्ति मौन रहे।
'जोर्बा दी बुद्ध' फर्केर गए। 
 
त्यसपछि नेपाललाई एकेक दु:खले लखेट्न थाल्यो, बयालीसको बम विद्रोह, होटल अन्नपूर्णमा मानवीय हत्या, सिंहदरबार, राजदरबारमा दुर्घटना। त्यसपछि प्रहरी अधिकृतको अपहरण। ४५ सालको महाभूकम्प। 
 
भारत सरकारको नाकाबन्दीको प्रकरण। २०४६ सालमा जनविद्रोह। विद्यार्थी, महिला, स्रष्टा, पार्टीको एकनाशको विद्रोह। पुलिसको दानवीय रूप। 
 
यसबीच नेपाल विस्तारै विस्तारै आफ्नाको बीचमै परायाको मुहारमा नांगिन थाल्यो। समयले नेपाललाई गहिरो संकटमा पार्दै लग्यो।
...
ओशो जुन समय नेपाल आए, त्यो समय नेपालको शान्त अनुहारलाई हेर्न सकिने धेरै चेहरामध्ये कवि सर्वेश्वरदयाल सक्सेनाका यी पंक्तिले झल्काउँछ,
थपाक्।
 
केही खस्यो।
थाहा छैन,
के हो, मान्छे हो कि सूर्य?...
 
यस्तो वैभवशाली देशमा यही समय चीनका एक नेताको फोटो उल्टो छापिएको प्रकरणमा सरकारी पत्रिकाका पाँच सम्पादक कारबाहीमा परे। प्रकारान्तरले यसलाई सञ्चारजगत्ले भारतको चलखेलको रूपमा व्याख्या गरे। लैनचौरको शक्तिलाई यसरी हातमा ल्याए तिनले।
 
यसपछि साँच्चै नेपालमा भारतीय चलखेल बढ्दै गयो। २०४६ सालको जनआन्दोलनमा भारतीय नेताले चाक्सीबारीमा आएर 'कहाँ है यहाँ प्रजातन्त्र' नभनेसम्म जनता सडकमा आउन तयार भएनन्। 
 
चन्द्रशेखर, एम फारुखी, सुब्रमण्यम्जस्ता नेता कुर्लिए त्यो मञ्चमा। हिन्दी भाषालाई सिनेमाको डायलगमा मात्र सुनेका नेपालीका निम्ति त्यो भाषणले ठूलो टनिकका रूपमा काम गर्‍यो।
 
ओशो दर्शनसँग अपरिचित नेपाली विद्वत्वर्ग, प्राज्ञिक धरातल, राजनीतिक सल्लाहकार वा त्यति बेलाको राजदरबार नै एउटा दीनहीन पात्रका रूपमा देखा प:यो। राजा कविता सुन्दै हिँड्न थाले। 
 
राजालाई कविता लेखेर अनुभूति सुनाउने पनि ती नै थिए, जो राजालाई वरिपरिबाट धूप बाल्थे। त्यही मग्मगाउँदो धूपमा राजाले आफ्ना बारेमा, देशका बारेमा लेखिएका कैयन् कविता सुने मौनमौन भएर।
 
चौतारीमा राजा भेटियो
चौतारीमा रानी भेटियो... जस्ता गीत गाउने राजभक्तहरू भएको ढोँगी युगमा राजालाई नांगो छ भनिदिने कुनै कथावाचक नै थिएनन्। राजा कुनै दर्शन वा चिन्तनबिना देश चलाउँदै थिए। उमेरले ५० कटेपछि बल्ल राजाले दर्शनको सहारा लिए अवतार पुरुषमार्फत।
 
साईबाबाको दर्शनपछि मात्र राजा र रानीमा शक्तिको आभास भयो, त्यो एउटा क्षीण शक्तिमात्र थियो, निभ्ने बेला दियो जोडले बलेजस्तै।
...
ओशोको प्रस्थानपछि नेपालले भोग्दै आएको दुर्दशाको सूची अझै लामो हुँदै गयो, यति लामो कि त्यो सूचीको लम्बाइमा १६ हजार मान्छे मरिसक्दा पनि शान्तिको कुनै आभा छैन। 
 
भोलि अर्को १६ हजार मान्छे मरेपछि पनि फेरि अर्को शक्ति उदय होला र त्यसले पनि यही मुर्दाशान्ति खोज्ला, जुन हामीले कुनै अतीतमा गुमाइसक्यौं।
 
त्यो शान्ति हामीभित्रै बोध हुन सकेन, जाग्रत हुन सकेन जसका निम्ति ओशो हामीलाई ब्यूँझाउन आएका थिए।
 
हामीले उनलाई त्यति बेला एउटा सेल्सम्यानका रूपमा बाहेक बढी लिएनौं। वा, कुनै जादुगरभन्दा बढी ठानेनौं कि? अझै पनि त्यो भूल हामी गर्दैछौं भने चेतनाको बन्द ढोका खोल्न कोही आउनेछैन।
 
धेरै समय र कालखण्डमा आज यो पंक्तिकार सोल्टी होटलको प्रवचनकक्षमा भएको उनको शालीन अभिव्यक्ति सम्झिरहेछ, जसमा मानवीय जीवन, युद्ध, राजनीति र अन्तरसंघर्षका परिणामले आधुनिक जीवनमा ल्याएका विषद् तस्बिरलाई उनले बारबार देखाइरहेका थिए।
 
के जीवन, के दर्शन? के साहित्य? के धर्म? के इतिहास? के पुराण? के कुरआन? साराका सारा कुरा जे जति हाम्रोजस्तो इतिहाससित गाँसिएको धरतीलाई चाहिन्थ्यो, त्यो थियो उनको अभिव्यक्तिमा। 
 
तर, हामी बारबार उनको स्वच्छन्द अभिव्यक्तिलाई आफ्नो शारीरिक स्वतन्त्रताको सीमा र हिस्सामा मात्र जोड्न पुग्छौं। जसले जति बुझेको छ, त्यतिमै ग्रहण गरेर आफूलाई चाहिने सुविधाअनुसार पाउने र लिने गर्छौं।
 
ओशो निर्वचनीय पंक्तिबीच पाइने जीवनसुलभ प्रसंग कम अनि आफ्नो उन्मादी हरकतका निम्ति ओशोलाई सेल्फहेल्प ठान्ने पागलपनबाट पीडित हाम्रो बौद्धिक जमातलाई ओशोले कहिल्यै तर्काएनन्।
 
ओशोलाई बुझ्ने र नबुझ्नेका बीचमा ओशोलाई मन पर्ने गालिबका यी पंक्ति दोहो:याउने धृष्टता फेरि गर्छु,
दिल को बहलाने को गालिब ये खयाल अच्छा है।।
 प्रकाश सायमी |

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments