Hindi Films

‘हामी कसैलाई ब्रस गर्‍यौं कि गरेनौं भनेर सोध्छौं? अवश्यै सोध्दैनौं। त्यस्तै सेक्स गर्‍यौं भनेर पनि सोधिराख्नु पर्दैन

Unknown | 08:51 | 0 comments


स्वामी अरुणको २५ वर्षे जंगलबास

स्वामी आनन्द अरूण, सन्यासी र माताजीहरूबीच अध्यात्मिक चर्चा चलेको चार घण्टा बितिसकेछ। यो जंगला मुलुकभित्र चराहरू समेत बास बसेको पनि घण्टौं भइसकेको छ। तर, सत्सङमा बसेकाहरूका आँखामा अझैं निद्रा आएको छैन।


ओसो तपोवन स्थापनाको रजत महोत्सवको पूर्व सन्ध्यामा कुरा गरिरहेका स्वामी अरुण विगततिर हराइरहेका थिए। एउटा मीठो सपना देखेर ब्युँझिएजस्तो उनलाई लागिरहेको थियो।
‘हामीलाई यी २५ वर्ष बितेको थाहै भएन,' अरुणले सेतोपाटीसँग भने– ‘हामीलाई यहाँ आएर बसेको केही महिनाअघि जस्तो लाग्छ।'
राजधानी काठमाडौंको शीरमा उभिएको रानीवनस्थित नागार्जुनमा ओसो तपोवन एउटा आध्यात्मिक केन्द्र बनिसकेको छ। अहिले यसले आफूलाई एउटा अन्तर्राष्ट्रिय ध्यान केन्द्रको रुपमा विस्तार गरिरहेको छ।
‘हाम्रा निम्ति यो समय उत्सवमय भयो,' उनले भने– ‘हामी जंगलमा बस्दा व्यक्तिगतरुपमा धेरै उपलब्धि नभए पनि हामीले विधायक काममा हामी लागेका छौं।'
नेपालले ओसोलाई अमेरिकामा बस्न नदिएपछिको असजिलो अवस्थामा आश्रय दिएको थियो। जनकपुरबाट अध्ययनका निम्ति भारत पुगेका स्वामी अरुणले त्यही ओसोलाई भेटेका थिए। उनैले नेपालमा ओसोको अभियानलाई निरन्तरता दिन थाले।
२१ अप्रिल १९९० मा अन्य समर्पित साथीहरूको सहयोगमा अरुणले नागार्जुन ओसो तपोवन स्थापना गरेका थिए। भर्खर नागार्जुनमा आश्रम बसाल्ने बेलामा बत्ती थिएन, पानी थिएन। आज सयौं मानिसहरू यहाँ बस्छन्। अन्तर्राष्ट्रिय स्तरको आवास र ध्यानको सुविधा यहाँ भएको छ।
एउटा संस्थाले २५ वर्षमा यति उन्नति गर्न सक्छ भने मुलुकले चाहेमा यो हासिल गर्न नसक्ने अवस्था छैन। ‘अहिले ८० देशका मानिस यहाँ प्रत्येक वर्ष आउँछन्,' स्वामी अरुणले भने। देशभरि विभिन्न स्थानमा केन्द्र खुलेका छन्। लुम्बिनी र पोखराका आश्रम अत्यन्तै आकर्षक छन्।
यहाँ आउने विदेशी साधकरूका निम्ति सुरुको वर्ष निकै कठिन हुने गर्छ। उनीहरू धेरै गम्भीर हुन्छन् हास्न बिर्सिसकेका। ‘सुरुमा उनीहरूलाई धेरै मेहनत गर्नुपर्छ,' उनी भन्छन्– ‘एक/दुई भ्रमणपछि उनीहरू हामीजस्तै हुन्छन्। रोटी, दालभात खान्छन्।'
तपोवनकै प्रेरणाबाट उनीहरूले रुस, अमेरिका, युरोपलगायतका पश्चिमा मुलुकमा शाखा विस्तार गरिरहेका छन्। यस्ता केन्द्र स्थापना गर्नेहरूमध्ये धेरैको जीवनमा कुनै आशा बाँकी थिएन्। त्यहाँ उनीहरूले अहिले आफैं उत्प्रेरित भई केन्द्र संचालन गरिरहेको स्वामीले बेलिबिस्तार लगाए।
धेरै आर्थिक विकास भएका प्रतिस्पर्धी समाजमा आनन्द र उत्सव हराइसकेको उल्लेख गर्दै स्वामी अरुणले भने– ‘अधिकांश मानिस आफू नाँच्दैनन् टिभीमा अरु नाँचेको हेरेर रमाउँछन्। आफू प्रेम गर्दैनन् अरुले टिभीमा प्रेम गरेको हेरेर सन्तुष्टी लिन्छन्।'
‘विज्ञान र सुविधाले गर्दा दुई सय वर्षअघिको मानिसभन्दा अहिले धेरै दुःखी छ,' उनले भने– ‘राजामहाराजालाई उपलब्ध नभएको सुविधा अहिले उपलब्ध छ। सुविधासँगै समस्या पनि बढिरहेका छन्।'
जीवनलाई प्रत्येक क्षण उत्सवमय बनाउनुपर्ने स्वामी अरुणले बताए। आफूले त्यही उत्सवको सन्देश यो आश्रममार्फत् दिइरहेको उल्लेख गरे। ‘धेरै महत्वांकाक्षा भएपछि जीवनमा उत्सव मनाउन सकिन्न।'
तपोवनले आफ्नो आश्रम स्थापनाको २५ वर्षको महोत्सव बुधबारदेखि तीन दिनसम्म पुस्तक प्रदर्शनी, ओसोसम्बन्धी छलफल आयोजना गरेर मनाउँदैछ।
‘ये मन मागे मोर' एउटा हिन्दी विज्ञापनलाई उदृत गर्दै स्वामीले ‘मोर' अर्थात् धेरै प्राप्तिको आकांक्षामा रोक लाग्नुपर्ने आवश्यकता रहेको उनले बताए। ‘सबैलाई ‘मोर'ले छाडेको छैन,' उनले भने– ‘जे प्राप्त भयो त्यो देखिँदैन।'
आफू सन्यासी भए पनि बेलाबेलामा धेरै प्राप्तिको अपेक्षा हुने गरेको उल्लेख गर्दै स्वामी अरुणले अब यो ७१ वर्षको उमेरमा आफू धेरै प्राप्ति भन्दा बढ्ता मौन रहन चाहेको बताए। संस्थाको विकास सहजरुपमा भयो भने त्यो जीवन्त हुने उनले उल्लेख गरे।
‘हामीलाई जति प्राप्ति भएको छ, हामी उत्सव मनाउँछौं,' उनले भने– ‘जति पनि सुन्दर निर्माण, ओसोको समाधि आदि बनेका छन्, तिनीबाट हामी आनन्द लिन्छौं।'
विकास र अध्यात्मलाई जोड्न प्रत्येक महिना उच्च व्यक्तिहरूलाई बोलाएर छलफल अभियान समेत चलाउन थालेका स्वामी अरुणले भने– विकासमा अध्यात्म अवश्यै चाहिन्छ। अरुलाई पछारेर माथि हुने पाशविक चाहना मानिसमा हुन्छ। त्यो महत्वाकांक्षामा संयम चाहिन्छ।'
‘हामी वनमा बस्ने जोगीहरूमा कुनै महत्वाकांक्षा छैन,' उनले भने– ‘हामी जंगलमै बस्ने भएका हुनाले यो प्रकृतिले हामीलार्य राम्रो सोच्न प्रेरित गरेको छ।'
देशको राजनीतिक नेतृत्वप्रति आशा गर्न सक्ने स्थिति नभएर निराशाको अवस्था रहेको उल्लेख गर्दै स्वामी अरुणले अहंकारलाई लगाम लगाएका नेताहरूको आवश्यकता रहेको बताए। आफूलाई गुरु ओशोले अंहकार बढ्न नदिएर मद्दत गर्दै आएको पनि उनले चर्चा गरे।
‘हाम्रा नेताहरू थकित र दुःखी हुनुहुन्छ,' उनले भने।
गुरुले दिएको अदम्य आत्मविश्वासले नै संस्थालाई यो उचाइमा ल्याउन सकेको उनले बताए। पहिले आफूलाई जीवनप्रति कुनै आशा नरहेको बरु आत्महत्या गर्ने स्थितिमा रहेको पनि उनले चर्चा गरे। ‘ओसोलाई नपाएको भए सायद मैले आत्महत्या गर्ने थिएँ,' उनी भन्छन्– ‘म आनन्दित थिइँन्, गुरुले कुनैबेला भन्नु भएको थियो– तिमी आफू पनि आनन्दित हुनेछौं र अरुलाई पनि आनन्दित तुल्याउने छौं।'
नभन्दै अहिले त्यस्तै भएको छ। प्रशासक, नेता, बुद्धिजीवि आदि आनन्दको खोजीमा तपोवन पुग्ने गरेका छन्। ‘मलाई इमानदारीपूर्वक काम गर्‍यौं भने नेपाललाई तिमीले विश्वको केन्द्र बनाउन सक्नेछौं भन्नु भएको थियो,' उनले आफ्ना गुरुलाई सम्झदै भने– ‘४५ वर्षमा गुरुको त्यो वाणी साक्षात भएको छ।'
चीन र भारतजस्ता दुई ठूलो सभ्यताको बीचमा रहेको नेपालले यी दुबै संस्कृतिको प्रतिनिधित्व गर्न सक्ने पनि उनले चर्चा गरे।
शक्ति राष्ट्रहरूको युद्धको भोकलाई जित्न र त्यसबाट मानिसहरूलाई जोगाउन अध्यात्म ठूलो हतियार हुन सक्ने सन्देश पनि स्वामी अरुणको छ। ‘प्रलयका दिनहरू निकट छन्,' उनले भने– ‘त्यसैले यसबाट जोगिनका निम्ति अध्यात्मको ठूलो आवश्यकता छ।'
कुनै बेला ओसो भन्ने बित्तिकै ‘सेक्स'सँग जोडेर प्रश्न आउने गर्थे। नेपालमा अचेल यस्ता प्रश्न सोधिनै छाडेको र ओसोलाई धेरैले बुझेको महसुस उनले गरेका छन्।
‘मानिसमा सेक्सको दमनको भयावह स्वरुप समाजमा देखिन्छ,' उनले भने– ‘मेरा एकजना मित्र भन्नु हुन्छ ‘सेक्स' र ‘ट्याक्स' समयमै सफा नगरेमा दुःख पाइन्छ।'
अध्यात्मिक क्षेत्रमा यो विषयमा चर्चा गर्दा पनि मुखमा गंगाजल हाल्नुपर्ने जस्तो अवस्था रहेको उल्लेख गर्दै यसलाई एउटा अपवित्र विषयजस्तो मानिएको उनले बताए। ‘यो सामान्य व्यवहार हो, यसलाई यति ठूलो महत्व दिनु पर्ने थिएन,' उनी भन्छन्– ‘हामी कसैलाई ब्रस गर्‍यौं कि गरेनौं भनेर सोध्छौं? अवश्यै सोध्दैनौं। त्यस्तै सेक्स गर्‍यौं भनेर पनि सोधिराख्नु पर्दैन।'
‘गुरुले यससम्बन्धी समाजमा रहेको ठूलो असम्कभदारी हटाइदिनु र बुझ्ने गरी व्याख्या गरिदिनु भयो,' उनले भने।
सन्यासको परम्परालाई पनि ओसोले परिवर्तन गरिदिएका कारण गुरुगम्भीर र दुःखी भएर तपस्या नगरी हासखेल गर्दै बस्ने विधि अपनाएका कारण यो लोकप्रिय हुँदै गएको स्वामी अरुणले बताए। ‘धर्मका कारण पनि आफ्नै शरीर र परिवारमाथि हिंसा भएको छ,' उनले भने– ‘ओसोले धर्मलाई धेरै गम्भीर हुनबाट बचाइदिनु भयो।' 
स्वामी अरुणले अद्भुत शक्तिहरूको अभ्यास गर्ने भन्दा पनि शान्त चित्त भई अति प्राप्तिको इच्छाबाट पर बसेर आनन्दित हुनुपर्ने सुझाव दिए। त्यस्तै अध्यात्मिक क्षेत्रमा समेत ‘इगो' व्याप्त भएको हुनाले त्यसबाट जोगिन पनि आफूले गुरुबाट सिकेको उनले बताए।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments