Hindi Films

तिमी राम्रो भारतीय हौ ,म नेपाली बिहे गरेर बच्चा पाएर सबै भोगिसकेको मान्छे,त्यसकारण तिमी अरु नै भारतीय केटीसँग बिहे गर।

Unknown | 05:28 | 0 comments




हुन त नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध छ। खासगरी मधेसका जिल्लामा नेपाली र भारतीयबीच बिहेबारी हुनु नौलो होइन। तर पनि खासगरी पहाडी मूलका नेपाली भारतीयहरूलाई उति रुचाउँदैनन्। बिहे त परको कुरा।
तर प्रेम र संगीतको कुनै भाषा र सीमाना हुँदैन भनेझैँ भयो, काठमाडौँकी विजया सिंखडा (४०) अनि दक्षिण भारतका अरुण विश्वनाथन (४७) बीचको सम्बन्ध।
नेपालबाट अमेरिका आएको एक महिनामै मन्दिरमा भएको भेटघाट ६ महिना बित्दानबित्दै बिहेमा परिणत भयो।
हिन्दी लवजमा नेपाली बोल्ने विश्वनाथनलाई मैले प्रश्न गर्ने सही शब्द चयन गर्न नसकी ‘कसरी उ गर्नु भयो त?’ भन्नेबित्तिकै उनले भनिहाले, ‘कसरी पटाउनुभयो हाँ?’ उनले प्रष्ट्याए, ‘मन्दिरमा भेट भयो अनि कफी पिउन लिएर गइहालेँ अनि त भइहाल्यो।’
‘धर्म गर्दा कर्म मिल्यो’ विजयाले विस्तारै सबै बेलिविस्तार लगाइन्।
सन् २००४ को फेब्रुअरीमा नेपालबाट अमेरिका आएको एक महिना नबित्दै न्युयोर्कको म्यानहाटनमा काम गर्ने स्टोरबाटै सबै कागजात र पैसा हराएछ।
‘भर्खरै एउटा ग्रोसरी स्टोरमा काम पाएको थिएँ। काममा जाँदा सबै डकुमेन्ट अनि पैसा भएको ब्याग लिएर गएको थिएँ, काम गर्ने बेला त्यही काउन्टरको छेउमा राखेको केहीबेरमा नै कसैले उम्काइसकेछ। अमेरिकामा पनि यस्तो हुदोरै’छ भनेर निकै नै दुःख लाग्यो,’ आफ्नो दुःख सम्झँदै  भनिन्, ‘पाँच वर्षको मल्टिपल भिसा, पाँचसय डलर ब्यालेन्स भएको एटिएम कार्ड अनि अन्य कागजपत्र सबै नै गुमाएँ।’
एटिएममा भएको पैसा पनि पासपोर्टको जन्ममिति हेरेर त्यही पासवर्ड हानेर चोरले सबै झिकिदिएछ। पुलिस रिपोर्ट गरेपछि बैंकले त्यो पैसाचाहिँ फिर्ता गर्‍यो। चोर भने पत्ता लागेन।
उसै त नेपालमा पनि वैवाहिक सम्बन्ध बिग्रिएको अवस्था। १२ वर्षकी छोरी छाडेर अमेरिका आउँदा, यहाँ पनि त्यस्तो आपत। बिरक्तिएर उनी ज्याक्सनहाइटस्थित सत्यनारायण मन्दिरमा भगवान् गुहार्न पुगिन्।
भगवान्‌ले उनको दुःख बुझिदिए सायद र विश्वनाथनलाई दूतका रूपमा पठाए। यस्तै लाग्छ- उनको कथा सुन्दा।
विश्वनाथनसँग उनको भेट भयो। उनले पासपोर्ट बनाउनेदेखि यावत् कुरामा सघाए।
‘हुन त सबै मान्छे एकै हुँदैनन्, तर हाम्रा नेपालीहरू भर्खर नेपालबाट आएको मान्छेलाई दुःखमा सहयोग गर्दैनन्,’ विजयालाई त्यस्तै लाग्यो, ‘बिरामी भएको छ भने पनि ए हो र भनेर मुखले ठिक्क पार्छन् तर उपचारका लागि कहाँ जाने के गर्ने केही पनि सहयोग गर्दैनन्।’
फ्लुका कारण हनहन्ती ज्वरो आएर सुतेका बेला पनि विश्वनाथनले हेरचाह गर्न थाले। उनले भनिन्, ‘अस्पताल लगिदिने मात्रै होइन बेलाबेलामा फोन गरेर कस्तो छ भनेर सोध्ने पनि गर्नुहुन्थ्यो।’ अनि त उनको लोग्नेमान्छे मात्रै होइन, समग्र भारतीयहरूको व्यवहारप्रति नै सकारात्मक धारणा जाग्न थाल्यो।
काठमाडौँ बालाजुकी बाहुनकी छोरी विजयाले १९ वर्षकै उमेरमा सानेपाको एक नेवार केटासँग ‘लभ म्यारिज’ गरिन्। तर बिहेपछि श्रीमान्‌ले उनलाई दुर्व्यवहार गर्न थाले। सधैँ रक्सी खाएर आउने अरु स्वास्नी मानिसहरूसँग सम्बन्ध गास्ने अनि हाँकाहाँकी आएर ‘के गर्छेस्’ भन्ने। यस्तै व्यवहारले आजित भएर सम्बन्धविच्छेद गरेको तीन वर्षपछि अमेरिका आए पनि अन्य नेपाली लोग्नेमान्छेप्रति पनि उनको राम्रो धारणा बन्न सकेन।
उनी यस्तो अपार्टमेन्टमा बस्नुपर्‍यो। जहाँ ५-६ लोग्नेमान्छेहरू एउटै कोठामा लाइन लागेर भुइँमा सुत्थे। उनी पनि त्यहीँ । ‘बेलुका कामबाट थकित भएर कतिबेला सुतौँ भएर आएको हुन्थेँ तर एक टुक्रा चिकेन र ग्रेभी अनि भात भएको कुकरलगायत सबै भाँडाकुँडा जुठै छाडिदिएको हुन्थ्यो,’ सुरुवाती दिनका दु:ख उनले सुनाइन्, ‘त्यो सबै एक घण्टा लगाएर माझिसकेर सुत्न जाँदा पनि उनीहरू भने रातको एक-दुई बजेसम्म टिभी हेर्ने होहल्ला गर्ने गर्थे।’
दुःखका ती कथा सुनाइरहँदा विजया अहिले न्युयोर्कको अस्टोरियास्थित आफ्नै होटलमा कस्टोमर सर्भिस गरिरहेकी थिइन् अनि आजका दिनमा कुनै पनि नेपाली महिलाले त्यति दु:ख भने पाउनु नपर्नेमा खुसी थिइन।
केही समयपछि विश्वनाथनले उनलाई बिहेको प्रस्ताव गरे। उनले ‘ओके’ भन्न सकिनन्। उल्टै सम्झाइन्, ‘मलाई थाहा छ, तिमी राम्रो मान्छे हौ तर पनि तिमी भारतीय हौ। म नेपाली। हाम्रोमा इन्डियन भनेपछि त्यति राम्रो मान्दैनन्। त्यसमा पनि म त बिहे गरेर बच्चा पाएर सबै भोगिसकेको मान्छे। मलाई सबैथोक थाहा छ। तिमीलाई केही पनि थाहा छैन। त्यसकारण तिमी अरु नै भारतीय केटीसँग बिहे गर। राम्रा र अग्ला पनि हुन्छन्।’
तर पनि विश्वनाथन मान्दै मानेनन्। भने, ‘१०-१५ वर्ष, जति पनि कुर्छु तर तिमीबाहेक कसैसँग बिहे गर्दिनँ।’
त्यसपछि विजयाले माइतीमा सोधिन्। माइतीबाट ‘इन्डियनको विश्वास नगर्, फसाउला’ भन्ने कुरा आयो। अरु प्रायः साथीहरूले पनि त्यसै भने। तर पाँच महिनापछि उनका दाजुभाउजू डिभी परेर अमेरिका आए, उनले विश्वनाथनलाई दाइभाउजुसँग पनि भेटाइन्। राम्रो मान्छे भनेर दाइभाउजू पनि कन्भिन्स भएपछि अनुमति लिएर सन् २००४* सेप्टेम्बरमा बिहे गरिन्।
भारतमा होटल म्यानेजमेन्ट पढेका विश्वनाथन हायातलगायत विभिन्न तारे होटलमा काम गरेपछि अमेरिका आएका थिए। न्युयोर्कस्थित विभिन्न तारे होटलमा काम गरेपछि विश्वनाथन र विजया मिलेर आफ्नै व्यवसाय सुरु गरे। न्युयोर्कको अस्टोरिया र क्युगार्डेनमा होटल छ, जहाँ २५ भन्दा बढी मानिस काम गर्छन्।
हाल उनीहरूको सात वर्षको छोरो छ, आर्यन। जो छेवैमा भिडियो गेममा व्यस्त थियो। विजयाको पहिलाको श्रीमान्‌पट्टीको छोरी रिवेरा (२१) पनि हाल उनीहरूसँगै यहीँ छिन्। नेपालकी चर्चित मोडल, जो क्यु गार्डेनको रेस्टुरेन्ट सम्हाल्छिन्।
संयोग, पहिलेको श्रीमान् पनि अहिले अमेरिकामै छन्। उनले विश्वनाथनलाई भेटेर विजयालाई छाडिदिन आग्रह पनि गरे। तर, विजयाले मानिन।
भनिन्, ‘मैले यहाँ आएर तपाईंलाई छाडेको होइन। त्यो तपाईलाई नै थाहा छ। म यस्तो राम्रो मन भएको मान्छेलाई धोका दिन सक्दिनँ।’
हाल न्यु मेक्सिको राज्यमा बस्ने पूर्व श्रीमान्‌मा पश्चाताप भएको उनले महसुस गरेकी छिन्। उसको गर्लफ्रेन्डचाहिँ छ तर घरजम भएको छैन रे। बेलाबेलामा छोरीलाई फोन गर्ने गरेको उनले बताइन्।
यो सबै भोगाइपछि विजयाको मनमा एउटा कुरा लागेको छ- आइमाईको लाइफ लोग्नेमान्छेमा भर पर्छ। यो उनको बुझाइ हो। राम्रो जीवनसाथी नपाउँदा जीवनै बर्बाद हुने उनको ठम्याइ छ।
‘यहाँ पनि मैले धेरैको सम्बन्ध बिग्रेको देखेकी छु,’ उनले भनिन्।
धेरै नेपाली महिलाको पुरुष साथी हुने र पुरुषहरूले पनि महिला साथी बनाउने तर दुई-चार महिना रमाइलो गरेपछि विशेषगरी पुरुषहरूले सम्बन्ध अघि बढाउन नचाहने भएका कारण पनि सम्बन्ध बिग्रेको देख्छिन् विजया। उनले कुर्सीमा बसेर कफी पिउँदै यसो भनिरहँदा सोही कपको कफी लिएर सुरुप्प पार्दै विश्वनाथनले हाँस्दै हिन्दी लवजमा तर नेपालीमै भने, ‘चित्त बुझ्नु पर्छ, चित्त बुझेपछि त भइहाल्छ।’
नेपाली र भारतीयको एउटै धर्म र रीतिरिवाज भएका कारण उनीहरूमा कुनै सांस्कृतिक अप्ठेरोपन पनि छैन। अझ विश्वनाथन त धार्मिक त हुँदै हुन्, त्यसमाथि शाकाहारी। जाँड-रक्सी पनि छुँदै छुदैनन्।
विजया भन्छिन्, ‘नेपाली लोग्नेहरूले स्वास्नीलाई मान्छे गन्दैनन्। कुनै सम्मान गर्दैनन्। तर विश्वनाथनले फरक छन्।
र त, विजयाको ठम्याइ छ- सम्बन्ध भनेको माया, सम्मान र विश्वासको उपज हो। न कि दुई चुटकी सिन्दुर। 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments