Hindi Films

भूकम्पको पीडामा सेलिब्रेटीको मल्हम

Unknown | 05:11 | 0 comments

वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट धनजनको जति क्षति भएको छ यसले सबैलाई मर्माहत बनाएको छ। महाभूकम्पको पीडाले एकातरि सबैको मन रुवाएको छ भने अर्कोतिर संसारको ध्यान आकर्षित गरेको छ। 
 
विश्वका विभिन्न स्थानमा रहेका नेपालीमात्रै होइन विश्वविख्यात सेलिब्रेटीले पनि नेपाल र नेपालीलाई आइपरेको यो पीडामा मल्हम लगाउने प्रयास गरेका छन्।
 
हलिउड बलिउडका दर्जनौं सेलिब्रेटीले भूकम्पपीडितलाई सहयोगको आह्वान गर्दै दु:खको घडीमा साथ दिएका छन्। यस्तो महाविपत्तिमा पनि नेपाली जनताले देखाएको धैयता र स्वाभिमानको उनीहरूले मुक्त कण्ठले प्रशंसा गरेका छन्।

समाचार हेरेर मर्माहत भएँ
अमिताभ बच्चन
बलिउड मेगा स्टार अमिताभ बच्चनका फ्यान नेपालमा पनि त्यत्तिकै छन्। नेपालप्रति उनको गहिरो लगाव पनि छ। उनले नेपालमा गएको विध्वंसकारी भूकम्पको समाचार र फोटो हेर्दा साह्रै मर्माहत भएको उल्लेख गर्दै सबैको रक्षाको लागि प्रार्थना गरेको बताएका छन्। 
 
सस्तो लोकप्रियताको लागि आफ्नो ब्लगमा नेपालको लागि सहयोगको अपिल गरेको टिप्पणीप्रति आक्रोश पोख्दै उनले भनेका छन्, 'कतिपय मानिसहरू अनावश्यक टिप्पणी गर्छन्। उनीहरूको मन तुच्छ विचारले भरिएको हुन्छ। त्यस्तालाई बेलैमा ठेगान लगाउनुपर्छ।'
नेपालीको साहस देख्दा गौरव लाग्छ
केटी पेरी
प्रख्यात गायिका केटी पेरीको स्वरमा जस्तो जादु छ उनका अन्य क्रियाकलाप पनि त्यत्तिकै चर्चित छ। उनका गीत सुन्ने नेपाली फ्यान कति छन् न उनलाई थाहा छ न त उनी कहिल्यै नेपाल आएकी छन्। 
 
तापनि उनले नेपाल र नेपालीलाई परेको महाविपत्तिमा मल्हम लगाउने प्रयास गरेकी छन। संसारभर रहेका आफ्ना लाखौं फ्यानलाई उनले भनेकी छन्, 'कस्तो विध्वंसकारी दुर्घटना। 
 
मृत्यु हुनेको संख्या बढेको देखेर मेरो मुटु तड्पिएको छ। म निकै भावुक बनेकी छु। तर साहसी नेपाली देखेर गौरव पनि लागेको छ।'
 
नेपालका लागि प्रार्थना गर्दैछु
किम कादर्शिन
विन्दास स्वभावकी विश्वविख्यात मोडेल, नायिका एवं टीभी प्रिजेन्टर किम कादर्शिनको नाम लिनासाथ ग्ल्यामरस, सेक्सी र विवादास्पक छविको स्मरण हुन्छ। 
आफ्नो प्रतिभा छ छँदैछ अनेकन हर्कतबाट उनी बारम्बार चर्चामा आउँछिन्। तर किमभित्र मानवीय भावना पनि त्यत्तिकै छ भन्ने कुरा पनि प्रमाणित गरेकी छन्।
 
नेपालमा आएको विनाशकारी महाभूकम्पबाट पीडितप्रति उनले सहानुभूति देखाएकी छन्। 'नेपालका भूकम्प प्रभावितको लागि प्रार्थना गरिरहेकी छु। कृपया सबैले सहयोग गरौं', उनले भनेकी छन्।
 
बालबालिकालाई सहयोग गरौं
सेलेना गोमेज
विश्वप्रसिद्ध हलिउड गायिका तथा नायिका सेलेना गोमेजले नेपालसँग नाता गाँसिसकेकी छन्। युनिसेफको सद्भावना दूत बनेर केही महिनाअघि नेपाल आएको स्मरण गर्दै उनले महाभूकम्पबाट पीडित बालबालिकाको सहयोगका लागि याचना गरेकी छन्। 
 
सेलेनाले सामाजिक संजालबाट भनेकी छन्, 'नेपालमा भूकम्प प्रभावित बालबालिकालाई सहयोग गरौं।' उनको यो स्टाटसपछि हलिउडमा महाभूकम्पसँगै नेपाल र नेपालीको चर्चा हुन थालेको छ।
 
मेरो मुटु टुटेको छ
आमिर खान
बलिउडका मिस्टर पर्फेक्सनिस्ट आमिर खानले नेपालमा महाभूकम्पले पुर्‍याएको क्षतिले आफ्नो मुटु टुटेको प्रतिक्रिया दिएका छन्। केही महिनाअघि नेपाल आएका आमिरले भनेका छन्, 'हजारौंले ज्यान गुमाएको सुन्दा स्वब्ध भएको छु।'
 
युनिसेफमार्फत भूकम्पपीडित खासगरी बालबालिकाको लागि तत्काल राहत तथा सहयोगको लागि हात बढाउन पनि उनले आग्रह गरेका छन्। आमिर अभिनीत पछिल्लो चलचित्र पीकेलाई नेपाली दर्शकले पनि अत्यधिक रुचाएका थिए।
 
सबै सकुशल होऊन्
सन्नी लियोन
समाज जतिसुकै शिक्षित र उदार भए पनि यौन व्यवसायलाई संसारमै राम्रो मानिन्न। यही व्यवसायबाट करियर सुरु गरेकै पोर्न स्टार सन्नी लियोन अहिले बलिउडकी उम्दा नायिकामा दह्रिएकी छन्। 
 
सन्नी यस्ती भाग्यमानी कलाकार हुन् जसको विगतलाई सबैले बिर्सिदिए जस्तो भएको छ। नेपालसँग उनको कुनै नाता नभए पनि महाभूकम्पका कारण चराएको नेपालीको घाउमा मलम लगाउने प्रयास गरेकी छन्। 
 
'नेपालका सबै मानिस सकुशल होऊन्। सबैका लागि प्रार्थना छ', उनले भनेकी छन्।
 
अल्लाहले रक्षा गर्नेछन्
शाहरुख खान
शाहरुख खान नेपाल भ्रमण गर्ने पछिल्ला बलिउड स्टार हुन्। नेपाल र नेपाली धेरै सुन्दर रहेको प्रतिक्रिया दिएका किंग खान शाहरुखले अर्को पटक परिवारसहित नेपाल आउने बताएर नेपालीको मन जितेका थिए। 
 
उनले पनि नेपाल र नेपालीलाई परेको दु:खद् घडीमा केही मल्हम लगाउने प्रयास गरेका छन्। 'नेपालको भूकम्प पीडितका लागि प्रार्थना गरिरहेको छु। आशा छ, अल्लाहले सबैको रक्षा गर्नेछन्', उनले उल्लेख गरेका छन्।
 
हातमा हात मिलाऔं
आलिया भट्ट
बलिउडमा राम्रो सम्भावना लिएर अघि बढिरहेकी पछिल्लो पुस्ताकी नायिका हुन् आलिया भट्ट। बलिउड प्रवेशको छोटो समयमै आफ्नो पहिचान बनाउन सफल उनले नेपालका भूकम्पपीडितको लागि सहयोग गर्न सबैलाई आग्रह गरेकी छन्।
 
आलियाले भनेकी छन्, 'नेपालका भूकम्पपीडित सहयोग पर्खिरहेका छन्। हातमा हात मिलाएर सहयोग गरौं। नेपालको लागि केही गरौं।'
 
रोहनमार्फत सहयोग पठाउँछु
करण जोहर
बलिउडका जल्दाबल्दा निर्माता एवं निर्देशक हुन्, करण जोहर। उनले पनि ट्विटरबाट नेपालका भूकम्पपीडितका लागि सहयोग गर्न अपिल गरेका छन्।नेपालमा रहेका फोटोग्राफर रोहन श्रेष्ठको माध्यमबाट सहयोग पठाउने प्रतिबद्धतासमेत जनाएका उनले फेसबुकमा पनि सहयोगको लागि अपिल गरेका छन्। 
 
करनका कुछकुछ होता है, कभि खुसी कभि गम, कभि अलविदा ना केहना, माइ नेम इच खानजस्ता चलचित्रलाई नेपाली दर्शकले पनि निकै रुचाएका थिए।
सक्दो योगदान गरौं।
अनिल कपुर
बलिउडमा सदाबहार अभिनेताका रूपमा चिनिन्छन्, अनिल कपुर। नेपालकी छोरी मनीषा कोइरालासँग विभिन्न चलचित्रमा अभिनय गरेका उनले सामाजिक सञ्जालमार्फत नेपालको भूकम्पपीडितका लागि सबैले सक्दो योगदान गर्न आह्वान गरेका छन्। 
 
बलिउड स्टार कपुरले सेभ द चिल्ड्रेनमार्फत सहयोग गर्न पनि अनुरोध गरेका छन्।
 
सबैको सुरक्षाका लागि प्रार्थना
प्रीति जिन्टा
अभिनयमार्फत एकताका बलिउडमा तहल्का मच्चाएकी डिम्पल गर्ल प्रीति जिन्टाले पनि नेपालमा आएको विनाशकारी महाभूकम्पप्रति चिन्ता व्यक्त गरेकी छन्। 

'नेपालमा गएको यति ठूलो भूकम्पबाट म मर्माहित भएकी छ', उनले भनेकी छन्। 
 
नेपाल र भारतको दक्षिणपूर्वतिर गएको भूकम्पमा परेका सबैको सुरक्षाको लागि आफूले भगवान्सँग प्रार्थना गरेको पनि उल्लेख गरेकी छन्। -एजेन्सीको सहयोगमा
-

Category: ,

0 comments