Hindi Films

राहतको बहानामा क्रिश्चियन धर्म प्रचार गर्दै वर्ल्ड भिजन

Unknown | 06:54 | 0 comments

 

फोटो :फाइल फोटो
२०७२ जेष्ठ १ शुक्रबार, लमजुङ : लमजुङमा १५ वर्षदेखि काम गर्दै आएको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था भूकम्पपीडितलाई सहयोग गर्ने बहानामा क्रिश्चियन धर्म प्रचारमा लागेको छ । 
 
अन्तराष्ट्रिय गैरसरकारी संस्था वर्ल्डभिजनले स्थानीय प्रशासनलाई समेत अटेर गर्दै क्रिश्चियन धर्मको प्रचार कार्यक्रम शुरु गरेको हो । 
 
विनाशकारी भूकम्पले जिल्लामा पुर्याएपछि जिल्लावासी राहतमा जुटिरहेको मौकामा सो संस्थाले क्रिश्चियन धर्मको प्रचार गर्ने ‘च्यानल अफ होप’ कार्यक्रम सञ्चालन गरिरहेको रहस्य खुलेको हो ।
 
जिल्ला प्रशासन कार्यालयले धर्म परिवर्तन गर्ने कार्यक्रम गर्न स्वीकृती दिएको छैन । तर, यो संस्थाले सरकारी संयन्त्रलाई समेत चुनौती दिँदै क्रिश्चियन धर्म प्रचार गर्नैका लागि ‘च्यानल अफ होप’ कार्यक्रम थालेको हो । 
 
गैससले कार्यक्रम चलाउन जिल्ला विकास समिति, जिल्ला प्रशासन र सम्बन्धित लक्षित बर्गका कार्यालयको अनिवार्य सिफारिस लिनुपर्ने प्रावधान छ । लमजुङमा ‘बालसुरक्षा’ मा केन्द्रीत सो कार्यक्रम चलाउन जिल्ला प्रसाशनमा प्रस्तावना पेश भएको थियो । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने जिल्ला बालकल्याण समितिको बैठकबाट सो प्रस्ताव अस्वीकृत भएको थियो । 
 
संस्थाले प्रशासन र जिविसमा बुझाएको प्रस्तावनामा चर्चभित्र र बाहिरका बालबालिकालाई लक्षित गरी यस्तो कार्यक्रम ल्याइएको उल्लेख रहेको वल्र्डभिजनकै एक कर्मचारीले बताए । 

काठमाडौंंका भूकम्पपीडित बालबालिकालार्इ खेल खेलाउँदै वर्ल्ड भिजनका कर्मचारी । तस्बिर : वर्ल्डभिजनको वेबसाइटबाट
प्रस्तावनामा हिन्दू बालबालिकाहरु आर्थिकरुपमा कमजोर रहँदा उनीहरुको चाँडै विवाह हुने गरेको उल्लेख छ । गरिबीकै कारण हिन्दू बालबालिकामा रहेका अशिक्षा, जातीय तथा लैङ्गिक विभेदजस्ता समस्या हल गर्न  यो कार्यक्रममार्फत ती बालबालिकालाई क्रिश्चियन बनाउन सकिने उल्लेख गरिएको उनले बताए ।
 
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सो कार्यक्रम गर्न स्वीकृती नदिएको बताए । ‘धर्म फैलाउने कार्यक्रमको प्रस्तावना आएपछि मैले ‘करेक्सन’ गरेर ल्याउनुस भनेको थिएँ, उनले भने, ‘अहिलेसम्म करेक्सन भएर आएको छैन, हामीले सञ्चालनका लागि स्वीकृती दिएका छैनौं ।’ 
 
उनले आफूले स्वीकृति नदिएको कार्यक्रम जिल्लामा शुरु हुन लागेको बारे भने अनज्ञिता प्रकट गरे । ‘म त्यसबारे यथार्थ के हो बुझ्नेछु,’ उनले भने, ‘सरकारलाई छलेर काम भएको रहेछ भने कारबाहीको दायरामा ल्याउँछु ।’  
 
स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले राहतका नाममा एनजिओले मनपरी गर्दै आएको बताए । ‘एनजिओले मनलाग्दी गर्न पाउँदैनन्,’ उनले भने, ‘धार्मिक असहिष्णुता हुने कार्यक्रम गर्नेलाई कारबाही गर्न तयार छौं ।’ 
 
बालअधिकार अधिकृत नबीनचन्द्र घिमिरेले बालबालिकाको नाममा धर्म परिवर्तनका गतिविधी गर्न नपाइने बताए । ‘वर्ल्ड भिजनबाट कार्यक्रम सञ्चानका लागि प्रस्तावना आएको थियो’, उनले भने, ‘बालकल्याण समितिको बैठकले त्यसलाई अस्वीकृत गरी अर्को प्रस्तावना ल्याउन दिएको निर्देशन पालना भएन ।’ 
 
उनले बालबालिका सम्बन्धी सन्धी–महासन्धीको वल्र्डभिजनले पालना नगरेको बताए । वर्ल्डभिजनले सो कार्यक्रम ‘चर्च’ मार्फत तयारी गरेको थियो । तर अहिले जिल्लाकै ‘आरसीडीसी’ नामक एक गैरसरकारी संस्थालाई कार्यक्रमको जिम्मा दिइएको छ । 
 
यो कार्यक्रम चलाउने जिम्मा पाएको आरसीडीका संस्थापक राजेन्द्र बोहोरा समाज कल्याण परिषद्मा दर्ता भइसकेपछि कार्यक्रम चलाउन पाइने तर्क गरे । 
 
वल्र्ड भिजनले यसअघि पनि जिल्लाका सबै विद्यालयमा विद्यार्थीहरुलाई धर्म प्रचारका पोष्टर र कार्डहरु भर्न लगाएर घुमाउरो तरिकाले क्रिश्चियन धर्मको प्रचार गर्दै आएको छ । धर्म परिवर्तनका गतिविधि भइरहँदा पनि यसअघि स्थानीय प्रशासन मौन रहँदै आएको थियो । 

Category:

0 comments