Hindi Films

लोकमान प्रकरण र पत्रकारको भूमिकामाथि प्रश्न

Unknown | 01:04 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की र पत्रकारवीच आइतबार बिराटनगरमा उत्पन्न तनावपछि दुबैपक्षले आफूमाथि दुव्र्यवहार भएको दाबी गरेका छन् । अख्तियारले विज्ञप्ति नै जारी गरेर पत्रकारले लोकमानसिंहमाथि दुव्र्यवहार गरेको गुनासो पोखेको छ भने पत्रकार महासंघ र विभिन्न संस्थाले अलग–अलग विज्ञप्ति जारी गरेर प्रेस जगतमाथि ‘ठाडो हस्तक्षेप’ भएको बताएका छन् ।

पत्रकारको भूमिकामाथि प्रश्न
बिराटनगरको घटनालाई हेर्दा गल्ती लोकमानसिंह कार्कीको मात्रै छ या पत्रकारले पनि पत्रकारिताको व्यवसायिकता निर्वाह गरेका छन् या छैनन् ? यो पनि मूल्यांकनको विषय बनेको छ । नेपाल पत्रकार महासंघ र अन्य संघ संस्थाहरुले पत्रकारबाट भएको गल्तीलाई सार्वजनिक बहसको विषय बनाउन सक्दैनन् र चियागफमा मात्रै भन्छन् कि पत्रकारले पनि मर्यादा र व्यवसायिकतामा बस्नुपर्छ ।
तर, अरुलाई लोकतन्त्र र पारदर्शिता सिकाउने नेपाली मिडियाले आफ्नो विषयमा खुला बहस र छलफल गर्न जरुरी देखिएको छ । पत्रकार महासंघ वा मिडिया सम्बन्धी संस्थाले मुख थुन्न खोज्छ भने पाठकहरुले अवश्यै बहस गर्ने छन् । आइतबारको घटनामा नागरिक र पाठकहरुले मिडियाकर्मीलाई के भनेका छन् भनेर जान्ने हो भने उक्त घटनासम्बन्धी समाचारमा आएका अनलाइन प्रतिक्रिया पढे काफी हुन्छ ।
आइतबार बिराटनगरमा भएको घटनाको चर्चा गर्दा नारायणहिटी छाड्ने बेलामा भएको पत्रकार सम्मेलनमा एकजना पत्रकार राजगद्दीमा बसेको घटना उल्लेखनीय छ । त्यसैगरी राजधानीको रिपोर्टस् क्लवमा जनजाति नेता आङकाजी शेर्पाले भाषण गरिरहेका बेला भौतिक प्रतिकारमा उत्रिएर आङकाजीलाई पत्रकारले बाहिर जा भनेको घटनालाई पनि अर्को दृष्टान्तका रुपमा लिने गरिएको छ ।
सुपाडीको सम्बन्धमा पत्रकारले लोकमानलाई जोडेर प्रश्न सोध्न नपाइने कुरै थिएन । प्रश्नहरु अप्रमाणिक पनि हुन सक्छन् । किनभने, प्रश्न भनेको अस्पष्ट भएरै सोधिने विषय हो । त्यसैले लोकमानलाई जोडेर प्रश्न सोध्नु पत्रकारको कुनै गल्ती थिएन । पत्रकारको धर्मै हो प्रश्न सोध्नु ।
तर, कार्कीको जवाफमा चित्त बुझेन भन्दैमा होहल्ला गर्ने, नाराबाजी गर्ने र ‘मण्डले मूर्दावाद’ भनेर नारा लगाउने काम पत्रकारको पेशाभित्र पर्दैन । पत्रकार सम्मेलन सकिएपछि कार्कीले यसो भने, पत्रकारलाई हप्काए, दुव्र्यवहार गरे या प्रमाण छ भने सुपाडीको धन्दालाई सहयोग गरे इत्यादि भनेर समाचार, टिप्पणी, सम्पादकीय वा लेखसमेत लेख्न पाउँछ पत्रकारले । तर, ‘मण्डले लोकमान मूर्दावाद’ भन्ने नारावाजी गर्नु पत्रकारिताको धर्मभित्र कुनै पनि हालतमा पर्दैन ।
पत्रकार अर्को ग्रहको प्राणी होइन
पत्रकारबाट भएको कमजोरीबारे विश्लेषण या टिप्पणी ग¥यो भने आक्रोशित हुने केही सञ्चारकर्मीको बानी छ । तर, पत्रकार अर्को ग्रहबाट दूधले नुहाएर पृथ्वीमा आएको प्राणी होइन । मुलुकमा लोकतान्त्रिक पुनसंरचनाको कुरा उठिरहेका बेला पत्रकारले पनि आफूलाई पुनसंरचना गर्न जरुरी छ । कानून र मर्यादा पत्रकारका लागि पनि बनेका हुन् ।
आफ्नै महिला सहकर्मीलाई कार्यकक्षमै यौनदुव्र्यवहार गरेर पनि दण्डबाट उन्मुक्ति पाएका पत्रकारहरु हामीमाझ छाती खोलेर हिँडिरहेका छौं कि छैनौं रु आचारसंहिता विपरीत अनैतिक तरिकाले पैसा काएर पेशालाई नै हामी कोही कसैले बदनाम गरिरहेका छौं कि छैनौं रु यसबारे पत्रकारले गम्भीरतापूर्वक आत्ममूल्यांकन गर्नुपर्ने अवस्था आएको छ । अन्यथा आम नागरिकले पत्रकारिता पेशालाई घृणा र अविश्वासको नजरले हेर्न खतरा बढ्दै गएको छ ।
सामान्य पत्रकारिताको कभरमा अदृश्य स्रोतबाट आलिशान महल ठ्याएका पत्रकारलाई आम नागरिकले भोलि स्पष्टीकरण मागे भने उनीहरुले पनि सम्पत्ति शुद्धीकरणको दायरामा आउनुपर्ने हुन्छ कि हुँदैन ? यो नेपाली मिडियामा बहसको विषय बन्न सकेको छैन
लोकमानको कमजोरी
आफ्नो गृह जिल्लामा राठी पुरस्कार बाँड्दै हिँडेका अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अर्का आयुक्त केशव बराललाई पनि साथैमा राखेर पत्रकार सम्मेलन नै गर्नुपर्ने के जरुरी थियो बिराटनगरमा ? यो विस्तारै खुल्दै जाला । तर, संवैधानिक निकायको गरिमामय पदमा बसेको व्यक्तिले आवेशमा आएर पत्रकारलाई पढ्न आग्रह गर्ने, तपाईको भन्दा मेरो ठूलो स्वर छ भन्ने अनि असभ्य शब्द प्रयोग गरेर गाली गर्नु अख्तियार प्रमुख त के कुनै पनि सभ्य नागरिकको स्तरले सुहाउने कुरो होइन ।
अझ, पाइलटबाबा र ओशो तपोवनमा वर्षौं ध्यान गरेको योगी लोकमानले त झनै यस्तो आवेश र आक्रोश प्रकट गर्नुले नीलो स्यालको लोककथालाई स्मरण गराएको छ । लोकमानको आवेशले अझै उनमा ध्यान र योगको कोर्ष नपुगेको स्पष्ट पारेको छ ।
गाली खाइन्छ भन्ने डर लागेको भए किन पत्रकार सम्मेलन गर्नु ? पत्रकार सम्मेलनमा पत्रकारले प्रश्न सोधे भन्दैमा लोकमानले यसरी बटारिन मिल्थ्यो ? अनि लोकमानलाई उनका विषयमा प्रश्न सोध्नै नहुने भन्ने लोकतन्त्रमा कहाँ छ ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएकाले लोकमानलाई पत्रकारले मात्रै होइन, आम नागरिकले पनि प्रश्न सोध्न पाइन्छ, अरुको सम्पति जाँच्दै हिँड्ने लोकमानको व्यक्तिगत सम्पत्ति कति छ ? लोकमानसँग यस्तो प्रश्नको समेत जवाफ माग्ने अधिकार आम नेपाली नागरिकलाई छ । सदाचारको वकालत गरी हिँड्ने लोकमानसिंह कार्कीले अहिलेसम्म आफ्नो सम्पत्तिको विवरण नेपाली जनतासमक्ष सार्वजनिक गरेका छैनन् ।
लोकमान कुनै लुई चौधौं हैनन्, लोकतन्त्रमा सबै नागरिक समान हुन्छन् । त्यसैले कसैले प्रश्न सोध्दैमा उत्तेजित हुन र मुढेबल देखाउन खोज्ने उनले जुन हर्कत बिराटनगरमा गरे, यसले लोकमानको मात्रै कद घटाएको छैन, संवैधानिक निकायको पदीय गरिमालाई पनि घटाइदिएको छ । पत्रकारले व्यवसायिक मर्यादा विपरीत हर्कत गरे भन्दैमा लोकमानले आफू पानीमाथिको ओभानो भन्न मिल्दैन ।
तर, लोकमानले सभ्य नागरिकको भूमिका देखाएनन् भन्दैमा पत्रकारले गरेको व्यवहारलाई गतिलो काम मान्न सकिँदैन । ‘मण्डले मूर्दावाद’ भन्ने नारावाजी पत्रकारिताको व्यवसायिकताभित्र पर्दैन । त्यसैले बिराटनगरको घटनामा पत्रकार र अख्तियारप्रमुख दुबैको गल्ती देखिन्छ ।
आगामी दिनमा पत्रकार र अन्यपक्ष दुबैले यस्ता कमजोरी दोहोरिन दिनुहुँदैन । पत्रकारले पनि एमाले, कांग्रेस, माओवादी या राजावादी हैन, पत्रकार भएर प्रस्तुत हुनुपर्छ । र, नेपाल पत्रकार महासंघले पनि ठाडो हस्तक्षेप र तेर्सो हस्तक्षेप भन्दै विज्ञप्ति निकाल्नेक्रमसँगै आन्तरिक शुद्धीकरणको अभियान पनि चलाउने पो हो कि ? बिराटनगरको घटनाले राम्रो के गरेको छ भने यी विषय सतहमा बहसमा आएका छन् ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments