Home �
News
� श्रीकृष्णका दाजु भन्छन्,‘भाइले बोल्दाबोल्दै छाड्यो !’
Unknown |
03:25 |
0
comments
काठमाडौं–श्रीकृष्ण श्रेष्ठका दाजु मीनकृष्णले भाइले बोल्दाबोल्दै संसार छाडेको बताउँदै बुहारी श्वेतालाई बहिनी बनाएर राख्ने बताएका छन् । नयाँ पत्रिकासँग कुराकानी गर्दै उनले अगाडि भनेका छन्–
बिहेपछि भाइबुहारी सिमला घुम्न भनेर हिँडेका थिए । तर भाइलाई लगातार खोकी लागेर श्वास फेर्न गाह«ो भएपछि गंगाराम अस्पताल भर्ना भएछ । पहिले विरामी हुँदा पनि त्यही अस्पतालमा उपचार भएको थियो ।
हामी सधैं सम्पर्कमै थियौं । केही दिनअघिसम्म पनि सुधार भएपछि जेठादाजु जानुभयो । १८ दिनपछि उहाँ फर्कनुभयो । र म गएँ । म जाँदा उसको अबस्था सामान्य नै थियो । तर स्वास फेर्न अफ्ठारो भएकाले लगातार अक्सिजन दिइरहनुपथ्र्यो ।
म गएपछि मात्र थाहा भयो–डाक्टरले बोन क्यान्सरको पहिचान गरे । मृत्यु हुनुभन्दा दशदिन अघि मात्र बोन क्यान्सर पहिचान भएको हो । लगातार औषधि गर्दा पनि निको नभएपछि डाक्टरले शंका लागेर परीक्षण गर्दा यस्तो भेटिएको थियो ।

पहिलो पटक किमो चढाउँदा भाइलाई क्यान्सर भएको थाहा थिएन । तर दाजुको औषधि व्यवसाय भएकाले भाइलाई औषधिको बारेमा राम्रो जानकारी थियो । किमो चढाउँदा उसले सायद रोगको अनुमान गरेको भने हुनुपर्छ । त्यसैले पहिलो किमो लिएपछि डाक्टरले उसलाई बोन क्यान्सर भएको बताउँदा ठुलो प्रतिक्रिया जनाएन ।
शनिबार किमो दिएपछि उसलाई निकै रिजिफ भएको थियो । खोकी बन्द भयो । खाना राम्रोसित खान थाल्यो । त्यति नै बेला उसले कोहिनुर फिल्मका लागि अडियो सन्देश रेकर्ड गराएर नेपाल पठाएको थियो । रेकर्ड गर्दा मैले मास्क हटाएर बोल्न लगाएको थिएँ । उसलाई बोल्न पक्कै पनि गाह«ो भइरहेको थियो ।
श्वेता बहिनीलाई पनि पहिलो किमो दिएपछि नै क्यान्सर भएको थाहा दिइयो । तर किमो दिएपछि अबस्था सुधार भएकाले उनी विचलित भइनन् । अब ठिक हुन्छ भन्नेमा ढुक्क भइन् ।
दोस्रोचोटी किमो सफल भएको भए भाइलाई धेरै राम्रो हुने थियो । त्यसैले डाक्टरहरुले आइसियूमा राखेर किमो दिने सल्लाह दिए । आइसियुमा सार्ने क्रममा करिब रातको ११ बजिसकेको थियो । भाइलाई आइसियुमा राखेर म तल झेरको थिएँ । श्वेता आइसियुमा भाइसित थिइन् । डाक्टरले एकपटकमा एकजना मात्र भित्र बस्न दिने भएकाले उनी भाइलाई बाइ भनेर बाहिर गइन् । त्यसपछि म गएँ ।
म भित्र पस्नासाथ भाइले हातले इसारा गरेर मलाई बोलायो । म उसको नजिकै गएर बसेँ । उसले लामो सास फेर्यो । आँखाबाट आँसु झार्यो । मेरो एउटा हात दह«ोसित समात्यो । ‘दाइ म अब सक्दिन’ भन्यो । तर त्यतिबेला उसको स्वर निकै प्रष्ट थियो । लगभग पहिलेको जस्तै । मैले आइसियुमा ल्याउनासाथ उसलाई राम्रो भएको पो अनुमान गरेँ । तर भाइ त एकदम निराशाजनक कुरा गर्न थाल्यो ।
करिब तीन मिनेट भाइले त्यसरी बोल्यो । मेरी छोरी चल्ला (जिस्काएर बोलाउने नाम )लाई सम्झियो । आकास अधिकारी र शिब दाई (शायद शिब श्रेष्ठ हुनुपर्छ ) नाम लियो । अफिसका साथीभाइ ,इन्द्रणी ग्रुप,चलचित्रसम्बन्धी संघसस्था,पत्रकारहरु सबैलाई सम्झियो । मेरी श्रीमती श्वेतलाई बहिनी बनाएर पाल्नुस् ,दाई धर्म हुन्छ भन्यो ।
उसले यस्तो कुरा गरे पनि म स्वर सुन्दा ढुक्क थिएँ,भाइलाई केही हुँदैन । त्यतिन्जेल उसको नजिक भएका डाक्टर पनि उसको स्वर सुनेर खुसी भएका थिए । तर भाषण नै दिएजस्तो गरी भटाभट बोलेपछि भाइको हात एकाएक खुकुलो भयो । उ सुतेको खाट हल्लिएको महसुस भयो । मेरो मनमा चिसो पस्यो । भाइले छोडिसकेछ । एकाएक मेरो स्वास अड्केझै भयो । विदेशको ठाउँ, के गर्ने कसो गर्ने ? म एकैछिनमा पसिनाले निथ्रुक्क भएँछु ।
अब जे भयो भयो भाइले भनेजस्तै श्वेतालाई हामी अब बहिनी बनाएर राख्छौं । मेरो एउटी दिदी छन्,अब एउटी बहिनी पनि भइन् । उनको भविष्यबारे हामी पनि सोच्छौं । मन बुझाउने खालकी बहिनी छन् । समयले विस्तारै उनको घाउ पुर्दै जाला ।
 |
Category:
News
0 comments