Home �
News
� तीन सय २५ दिनदेखि अनशनमा बसेका नन्दप्रसाद अचेत, गंगामाया गम्भीर
Unknown |
10:02 |
0
comments
|
 |

काठमाडौं, असोज ३ । छोरा कृष्णप्रसादका हत्यारालाई कानुनी कारबाही गर्न माग राखेर तीन सय २५ दिनदेखि अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी बिहीबार अचेत भएका छन्। उनकी पत्नी गंगामायाको अवस्था पनि गम्भीर छ। वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखिएका अधिकारी बिहीबार बिहान अचेत भएका हुन्। करिब तीन घन्टा उपचारपछि सामान्य होस आएजस्तो भए पनि उनी बोल्न नसकेको अस्पतालका निर्देशक स्वयंप्रकाश पण्डितले बताए।
'अचेत भएलगत्तै उपचार थालिएको थियो। धेरैबेर होसमा नआएपछि हामी आत्तियौं', पण्डितले भने, 'लामो प्रयासपछि उहाँ सामान्य होसमा त आउनुभयो तर बोल्न सक्नुभएको छैन।'
अधिकारीको उपचारमा वीर र त्रिवि शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकको टोली खटिएको छ। रगत परीक्षणका क्रममा उनको मिर्गौलाले काम गर्न छाड्दै गएको, शरीरमा पानी, सोडियम, पोटासियम र ग्लुकोजको मात्रा अत्यन्तै कम भएको पाइएको छ ।
पण्डितका अनुसार उनलाई अहिले महँगो औषधि चलाउनु परेको आजको अन्नपूर्ण पोष्टमा दीपा दाहालले समाचार लेख्नु भएको छ ।
यसअघि अधिकारीले लिन नमानेको टोटल प्यारेन्टाइन न्युट्रेसन (पोषणयुक्त औषधि) बिहीबारदेखि दिन थालिएको छ। गंगामायाको शरीरमा पनि रगतको मात्रा अत्यन्तै कम भएको छ।
उपचारमा संलग्न एक चिकित्सकले भने, 'उहाँ पूर्ण होसमा आउनुभयो भने पनि केही खान सक्ने अवस्थामा हुनुहुन्न। सरकारले उहाँको कुरा सुन्दैन। अब हामीले मात्र उहाँहरूलाई कुनै हालतमा बचाउन सक्दैनौं। भगवान्ले बचाएमात्र हो।'
अधिकारी अचेत भएको जानकारी बिहानै प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई गराइएको थियो। संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिका प्रतिनिधि अपराह्न अस्पताल पुगेर अनशन तोड्न आग्रह गरे पनि अधिकारीदम्पतीले मानेनन्।
सरकारले गत साउन २१ गते अधिकारीदम्पतीको जीवन बचाउन २४ घन्टाभित्र जबर्जस्ती भए पनि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वीर अस्पताललाई निर्देशन दिएको थियो। तर उनीहरूलाई खाना खुवाउने प्रयास सफल हुनसकेको छैन।
गत वर्ष सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अधिकारीदम्पतीले ४७ दिनपछि अनशन तोडेका थिए। तर लामो समय बितिसक्दा पनि सरकारले माग पूरा गर्न चासो नदिएको भन्दै उनीहरूले फेरि अनशन थालेका हुन्।
उपचारमा २५ लाख ५७ हजार खर्च
स्वास्थ्य मन्त्रालयले अधिकारीदम्पतीको उपचारका लागि भन्दै वीर अस्पताललाई १२ लाख ४७ हजार रुपैयाँ पठाएको छ। उनीहरूको उपचारमा २५ लाख ५७ हजार रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ।
|
 |
Category:
News
0 comments