Hindi Films

बोलवाला र पहुँचवालाको लागि मात्र निःशुल्क शिक्षा

Unknown | 12:42 | 0 comments

तुलसीपुर (दाङ),असोज १८ -तुलसीपुर नगरपालिकाको विकट वडामा रहेको प्रावि प्रतापकोट अम्बासलाई निमाविमा स्तरोन्नति गर्न अभिभावकले वार्षिक रु ५०० सहयोग गरिरहेका छन् । सरकारले निःशुल्क शिक्षा नीति ल्याए पनि भौगोलिक विकटताका कारण त्यहाँका बालबालिका प्राविको पढाइ पछि निमाविको अध्ययन गर्न जान नसक्ने भएपछि आफूहरूले बाध्य भएर प्रतिअभिभावकबाट वार्षिक रु ५०० सङ्कलन गरेर प्रतापकोटमा विगत चार वर्षदेखि निमावि सञ्चालन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलामणि बाठाले बताउनुभयो । उहाँका अनुसार निमाविसम्मको पढाइ सञ्चालन गर्न पटकपटक जिल्ला शिक्षा कार्यालयमा शिक्षक दरबन्दी र राहत शिक्षकको माग गर्दा पनि कुनै सुनुवाइ नभएपछि अभिभावकको आर्थिक सहयोगमा २०६६ सालदेखि निमावि कक्षा सुरु गरिएको हो । भौगोलिक विकटताका कारण निमावि अध्ययन गर्न चाहने विद्यार्थीले तीन घण्टा पैदल हिँडेर जानुपर्न बाध्यताका कारण धेरै विद्यार्थीले प्रावि कक्षासम्म पढेर पढाइबीचमै छाड्ने गरेकाले सरकारी निकायको कुनै सहयोग नभए पनि अभिभावकबाट सङ्कलन भएको पैसाबाट न्यून तलवमा चार जना निजी स्रोतका शिक्षक राखेर पढाइ सुरु गरिएको अध्यक्ष बाठाले बताउनुुभयो । तीनजना स्थायी शिक्षक, एकजना राहत शिक्षकको मात्र दरबन्दी रहेको उक्त विद्यालयमा २७५ जना विद्यार्थीले अध्ययन गरिरहेको निमावि प्रतापकोट अम्बासका प्रधानाध्यापक खगेन्द्रप्रसाद खरेलले जानकारी दिनुभयो । यस विद्यालयमा शिक्षक दरबन्दीका साथै भौतिक पूर्वाधार र खानेपानीको टड्कारो समस्या रहेको छ । जिल्लामा राजनीतिक पहुँच भएका विद्यालयमा आवश्यकताभन्दा बढी शिक्षक र भौतिक पूर्वाधारमा सहयोग गरेको शिक्षा कार्यालयले नगरकै विकट वडा मानिने वडा नं ७ को प्रतापकोट अम्बासमा भने निमावि सञ्चालन भएको तीन वर्ष बितिसक्दा पनि कुनै सहयोग नगरी आफ्ना बालबालिकाको पढाइमा खेलवाड गरेको नागरिक वडामञ्चका संयोजक यज्ञ बुढाले दुखेसो गर्नुभयो । तुलसीपुर नगरपालिका–७ प्रतापकोट निमाविका अभिभावकको एउटै भनाइ छ – बोलवाला रपहुँचवालाको लागि मात्र निःशुल्क शिक्षा रहेछ ।

Category:

0 comments