गैंडा हेटौडाको बजारभरि घुमेपछि (भिडियोसहित)
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चितवन– गैंडा हेर्न मान्छेहरु जंगल जान्छन्। हात्ती चढेर जंगलमा डुल्दा गैंडा देखिएमा भाग्यमानी मान्नु पर्ने अवस्था छ। विश्वकै दुर्लभ वन्यजन्तु गैंडा नेपालका सिमित संरक्षित क्षेत्रमा बस्ने गरे पनि सजिलै देख्न गाह्रो छ। हेटौंडा आसपासको जंगलमा गैंडा देख्नु दर्लभ छ। तर, सोमबार एउटा भाले गैंडाले दिनभर हेटौंडा बजारमै डेरा जमायो।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शिशु शर्माका अनुसार बिहान सवा छ बजे पशुपतिनगर क्षेत्रमा गैंडा देखिएको सूचना आएको थियो। विस्तारै गैंडा हेटौंडा कै मूख्य बजारमा छिर्योा। यो क्रममा एक जनाको मृत्यु, र आठजना घाइते भए। दुई घण्टा हेटौंडा अस्पतालमा बसेको गैंडा त्यहाँबाट निस्केर टिसिएनको झाँडीमा पस्यो।
दामोदर आचार्य बिहान सवा नौ बजे हेटौंडाको बुद्धचोकमा थिए। एक्कासी उनले देखे सडकमा गैंडा दौडिँदै थियो। पछाडिपट्टी नेपाली सेना र प्रहरीको गाडी थियो। त्यसको पछि मोटरसाइकल र अन्य साना गाडी टन्नै थिए। अगाडी पनि केही गाडी र मानिसहरु थिए। सडकको दायाँबायाँ त भीड नै थियो। उनको आडैबाट गयो गैंडा। फोटो खिच्न पनि भ्याए।
'यसअघि चितवनमा जंगलमै गैंडा देखेको हो। तर, आज बजारमा त्यो पनि आडैमा गैंडा देख्दा डर पनि लाग्यो अनि रमाइलो पनि,' आचार्यले भने। केही बेर अलमल अलमल गर्दै गैंडा हेटौंडा अस्पतालभित्र छिरेको उनले देखे। त्यसपछि उनी आफ्नो काममा लागे। डिएसपी शर्माका अनुसार करीब १० बजे अस्पताल छिरेको गैंडा त्यहाँ लगभग दुई घण्टा बस्यो।
अस्पतालबाट निस्केर हुलाक छिर्योा। त्यहाँबाट लगत्तै निस्केर काठ संकलन गर्ने टिम्बर कार्पोरेसन (टिसिएन) कार्यालयको झ्याङमा बस्यो। साँझ छ बजेसम्म पनि गैंडा त्यही थियो। 'त्यहाँ बसेको गैंडालाई सुरक्षित रुपमा जंगल लैजानका लागि हामीले पर्सा बन्यजन्तु आरक्षका दुई र चितवन निकुञ्जका दुई हात्ती र प्राविधिक बोलाएका छौं,' डिएसपी शर्माले भने।
गैंडालाई सुरक्षित रुपमा निकाल्ने योजनाका साथ दिउँसो चार बजे हेटौंडा पुगेका चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक चित्रबहादुर खड्काका अनुसार गैंडालाई हात्तीको घेरामा राखेर जंगल पठाउने तयारी भएको छ। टिसिएन कार्यालयभन्दा पाँच सय मिटर पर राप्ती खोला छ। गैंडालाई राप्तीमा निकालेर खोलै खोला पदमपोखरी आडबाट जंगल छिराउने योजना बनाएको उनले बताए।
दुई किलोमिटर खोला पार गरेर जंगल पठाउँदा सोमबार राती हुन सक्ने उनले बताए। सो गैंडा पर्सा आरक्ष वा चितवन निकुञ्जबाट हेटौंडा पुगेको हुन सक्ने अधिकारीहरु बताउँछन्। 'जंगलमा चर्दै चर्दै गैंडा कहिले काही रातीमा गाउँमा पनि पस्छ। यस्तो घटना एकाध हुने गर्छन्,' चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने।
गाउँ छिरेको गैंडा बाटोको मेसो नपाएर भौतारिँदा भौतारिँदै उज्यालो हुने र गाउँलेले देखेपछि हल्ला गर्दा आत्तिने कुँवरले बताए। 'गाउँ गएका बेला जंगल फर्कन सकेन भने मान्छेले देखेपछि हल्ला गर्छन्। हल्ला सुनेपछि आत्तिन्छ, तर्सन्छ। जता पायो उतै दौडन्छ' उनले भने। आत्तिएको गैंडाले मान्छेलाई आक्रमण गर्ने उनले बताए।
मकवानपुर प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार हेटौंडा वडा नं ८ की ६१ वर्षीया हरिमाया दाहालको गैंडा आक्रमणमा परेर ज्यान गयो। उनी पत्कर लिन गएका बेलामा जंगल छेउ गैंडाले हानेको थियो। उपचारका क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको डिएसपी शर्माले जानकारी दिए। घाइते आठमध्ये उपचारपछि दुईजना घर फर्केका छन्।
'उनीहरुमध्ये एक जनालाई थप उपचारका लागि भरतपुर अस्पताल लगिएको छ। अरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ,' डिएसपी शर्माले भने। चितवन निकुञ्जका प्रमुख कुँवरले बस्तीमा गैंडा देख्ना साथ धेरै होहल्ला नगर्न र नजिकको प्रहरी कार्यालय वा निकुञ्ज आरक्ष वा जिल्ला वन कार्यालयमा फोन गर्न सर्वसाधरणसमक्ष आह्वान गरेका छन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments