२०७१ मा नेपाली फिल्म ८३ मा जम्मा ४ हिट भए ,नेपाली फिल्म उद्योग किन ओरालो लाग्दै !
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौ, चैत्र २८ - दुई चार वर्षयता फिल्मको वर्ष समीक्षाको एउटै निचोड निस्किने गरेको छ- फिल्मको अवस्था नाजुक छ । यो वर्ष पनि करिब त्यस्तै नतिजा निस्कियो ।
२०७१ वैशाख १२ देखि चैत २७ सम्ममा जम्माजम्मी ८३ नेपाली फिल्म प्रदर्शनमा आए । यीमध्ये केही थोरैले सफलताको स्वाद चाखे । अधिकांशले चाहिँ फिल्म उद्योगलाई अझै 'नाजुक' बनाएर गए ।
वैशाखको दोस्रो साता 'कबड्डी' र 'नोभेम्बर रेन' ले वर्षको खाता खोले । भनिन्छ, बिहानीले दिनको संकेत गर्छ । यी दुवै फिल्मको ओपनिङ साझेदारी राम्रो रह्यो । ग्रामीण कथा बोकेको 'कबड्डी' ले विशेषत: सहरिया दर्शकलाई रिझायो । मुस्ताङको थकाली समुदायको कथालाई टिपिएको कबड्डीले केवल दर्शकलाई हिमाली संस्कृति मात्रै पस्केन, लेखक र निर्देशक दुवैमा सम्भावना बोकेका रामबाबु गुरुङलाई पनि चिनायो । र, दयाहाङ राईलाई नेपाली फिल्मको बिकाउ स्टारका रूपमा पनि स्थापित गरायो ।
जसरी फिल्म 'लुट' बाट हाकु काले, गोफ्लेजस्ता चरित्र स्थापित भए त्यसैगरी 'टलकजंग भर्सेज टुल्के' बाट टुल्के बनेर उदाए, खगेन्द्र लामिछाने । लामो समय रंगमञ्चमा खारिएर फिल्ममा आएका खगेन्द्रले मुख्य भूमिका भएको दोस्रो फिल्ममै चल्तीका नायक नायिकाको स्टारडमको पर्खालमा डोजर चलाए । एउटै फिल्मबाट चर्चाको छलाङ मार्न न उनले भिलेनसँग फाइट खेल्नुपर्यो न त फूलबारीमा नायिकाको पछिपछि नाच्दै हिँड्नैपर्यो । हाकु काले र गोफ्ले जन्माउने निर्देशक निश्चलले नै यसको पनि जस पाए किनभने, 'टुल्के' का पनि निर्देशक उनै निश्चल थिए ।
साउन तेस्रो साता फिल्म उद्योगले सुखद र दु:खद खबर एकसाथ आत्मसात् गर्यो । दु:खद कुरा, अभिनेता श्रीकृष्ण श्रेष्ठको देहान्त भयो । स्वदेशमा आफू अभिनीत फिल्म 'कोहिनूर' रिलिज भएकै भोलिपल्ट साँझ साउन २४ मा श्रीकृष्णको भारतमा उपचारका क्रममा निधन भयो । उनले अभिनेत्री स्वेता खड्कासँग विवाह गरेको एक महिनामात्र भएको थियो । रिलिजको दुई दिन खासै नचलेको फिल्म हेर्न तेस्रो दिन दर्शकको अनपेक्षित भीड लाग्यो । भीड हलदेखि मलामीसम्म उत्तिकै रह्यो । राष्ट्रिय सम्मानका साथ श्रीकृष्णको अन्त्येष्टि गरियो । फिल्मले नेपालभित्रै झन्डै १० करोड बराबरको व्यापार गरेर खुम्चिँदै गइरहेको स्वदेशी फिल्मको बजारको फैलिनसक्ने आकार देखाइदियो ।
यसै वर्ष निर्देशक आलोक नेम्वांगले आत्महत्या गरे । आलोकले निर्देशन गरेको अन्तिम फिल्म 'अझै पनि' हालै रिलिज भयो । तर, यसले खासै सफलता पाउन सकेन ।
वर्षको मध्यतिर अर्थात् कात्तिक २८ मा एउटा फिल्म प्रदर्शनमा आयो, 'जेरी' । यसअघि यसै फिल्मका निर्देशक हेमराज बीसी र मुख्य अभिनेता अनमोल केसी रहेको फिल्म 'होस्टेल' ले किशोर दर्शकहरूलाई हलमा तानेको थियो । 'जेरी' मा त्यो दोहोरियो । अनमोल र आना शर्मा अभिनीत फिल्म हेर्न केटाकेटी स्कुल, कलेज नै बंक गरेर हलमा पुगे । युनिर्फममै हल पुगेपछि दर्शक फिल्म पूरा हेर्न नपाउँदै पुलिस चौकी लगिए । उक्त घटनाले पनि फिल्मको व्यापारमा कमी ल्याएन । मुस्ताङका उजाड बगर र पहाडका दृश्यले भरिएको 'जेरी' लाई युवा दर्शकले गुलियो मानेर हेरिदिए ।
बीचमा रेखा थापाले निर्देशन र अभिनय गरेको फिल्म 'हिम्मतवाली' तथा उनका पूर्वपति छविराज ओझाले निर्माण गरेको नवल नेपालको 'लज्जा' ले पनि ठीकठाकै व्यापार गरे । तर त्यसपछिका बाँकी आधा वर्ष फिल्म उद्योगका लागि बिर्सनलायक नै रह्यो । मुखौटा, नागबेली, ताण्डव, श्री ५ अम्बरे, रंग बैजनी, लभ यू बाबा, सोल सिस्टर, सम्बोधन, वान वेजस्ता फिल्म विविध कारणले रिलिजअघि जति चर्चामा रहे, पछि पत्तासाफ भए । बिहानीले दिनको संकेत गर्छ भन्ने मान्यता फेल खायो । सुरुवाती खाता राम्रो खोलेको वर्षको मध्यक्रममा आएका फिल्मले निराशाजनक प्रदर्शन गरे । रिलिजको दिन नै दर्शक नआएर हल सो रद्द गर्नुपरेको घटना सम्भवत: पहिलोपटक वर्ष २०७१ ले नै भोग्यो । करोड रुपैयाँ लागतमा बनेको भनिएका फिल्मबाट निर्माताले देशभर पाँच लाखभन्दा कम रकम हात पारे ।
वर्ष २०७१ मा निर्माताका खल्ती त रित्तिए नै, निर्देशक पनि कमजोर देखिए । न १२ वर्षपछि फिल्म 'रंग बैजनी' बाट कमब्याक गरेका शम्भु प्रधानको सोचले दर्शक तान्न सक्यो न सुरज सुब्बा नाल्बोको नै केही जोर चल्यो । यसै वर्ष सौगात विष्टले सबभन्दा कान्छो निर्देशकको कीर्तिमान पनि बनाए । वर्ष २०७१ मा नवनिर्देशकको ओइरो नै लाग्यो । सुटिङस्थलबाटै निर्देशकलाई हटाएर रेखा थापा आफैं निर्देशक बनिन् ।
यस वर्ष फिल्म नीति भने जारी भयो । गत वर्ष नै चलचित्र विकास बोर्डले ल्याउन लागेको फिल्म तथा हल वर्गीकरण र पारदर्शी बक्सअफिस प्रणालीको कदममा परेको मुद्दालाई सर्वोच्च अदालतले खारेज गरिदियो । उक्त खारेजीले पुन: एकपटक सिर्जनाको वर्गीकरण हुन सक्छ वा सक्दैन भन्ने बहसलाई ब्युँझाइदिएको छ । वर्ष २०७२ सम्भवत: नीतिगत बहसमा केन्दि्रत हुने देखिन्छ । वर्ष २०७१ मा फिल्म मात्रै नभई फिल्म सम्बद्ध संघसंस्था पनि मृतप्राय: रहे । निर्देशक समाज, निर्माता सघ, चलचित्र संघलगायतले खासै केही काम गर्न सकेनन् । विकास बोर्डले त झन् महिना दिनदेखि नै नेतृत्व पाउन सकेको छैन ।
रिलिज भएका ८३ फिल्ममध्ये यो साता रिलिज भएका तीन 'फिल्म नाई नभन्नु ल ३', 'हवल्दार सुन्तली' र 'सेतो बाघ' को नतिजा आउन बाँकी नै छ । यिनलाई छोडेर भन्ने हो भने यो वर्ष ४ फिल्म (कबड्डी, कोहिनूर, टलकजंग भर्सेज टुल्के र जेरी) हिट र ३ फिल्म (हिम्मतवाली, लज्जा र नोभेम्बर रेन) ले लगानी उठाए । बाँकी ७६ ले आ-आफ्नो गच्छेअनुसार घाटा खाए !
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: CelebrityNews And Gossips, gossip
0 comments