प्रचण्डले धोका दिएको हो भने अन्य दलहरूले जनतालाई सडकमा उतारेर देखाइदिनु पर्यो नि !: मातृका यादव
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
प्रचण्डले धोका दिएको हो भने अन्य दलहरूले जनतालाई सडकमा उतारेर देखाइदिनु पर्यो नि !: मातृका यादव
– माओवादीभित्रको अन्तरविरोधका कारण हामी माओवादी ६ ठाउँमा विभाजित भएका हौँ । सबै दलको आ–आफ्नो मूल्य–मान्यता र विचार छ । तर, माओवादी आन्दोलनको पुनर्गठन गर्नुपर्छ भने कुरा सबैले महसुस गरेका छन् र त्यो आजको आवश्यकता पनि हो । अलग भइसकेकालाई भन्नेबित्तिकै एक ठाउँमा ल्याउन गाह्रो हुन्छ । त्यो बिस्तारै हुन्छ । अलग भएको कुरा जति चर्चामा थियो, त्यति नै अहिले एकीकरण हुन लागेको चर्चा पनि छ । तर, चर्चाअनुसार काम भइरहेको छैन । यद्यपि हामी छलफलमा छौँ । कार्यगत एकताका लागि बनेको समितिले काम गरिरहेका छन् । हामी पाँच माओवादीको बीचमा छलफल जारी छ ।
पाँच मात्र किन ६ वटा दलको कुरा थियो नि ?
विप्लवजी बाहेकका दल अहिले छलफलमा छन् । उहाँहरूले छलफल हुनुपर्ने माग गरिरहनुभएको छ । कार्यगत एकता समितिले छलफल गर्ने तयारी गरिरहेका छन् ।
एकीकरण प्रक्रिया कति अगाडि बढेको छ ?
अहिले पहिलो चरणमै छ । एकीकरण गर्ने वा कार्यगत एकता गर्नेसम्म सहमति भएको छ । अरू विषयमा छलफल हुन बाँकी छ । मुख्य कुरा, अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै माओवादीहरू एकीकरण वा कार्यगत एकता गर्न तयार भएका छन् । यो नै पहिलो र महत्वपूर्ण चरण हो । माओवादी फुटका कारण जुन क्षति भएको छ, त्यसको महसुुस सबै माओवादीले गरेका छन् ।
प्रचण्ड संविधानसभामा नै केन्द्रित हुनुभएको छ, जब कि उहाँले त्यहाँ केही गरिरहनुभएको छैन । त्यसैले संघर्षको एउटा मोर्चा संविधानसभालाई बनाई सडक संघर्षलाई प्रमुख रूपमा लिनुपर्छ । अन्ततः संविधानसभाबाट जनताको हकमा संविधान बन्दैन भन्ने कुरा प्रचण्डले पनि बुझ्नुभएको छ ।
अहिले माओवादी आन्दोलनले देशमा जुन परिवर्तन भएको थियो, त्यो धराशयी भएको छ । परिवर्तनलाई स्वीकार नगर्नेहरू जुरुर्मुराएका छन् । यथास्थितिवादीको बोलबाला छन् । त्यसले गर्दा पुनः माओवादीहरू एक ठाउँमा आएर त्यसविरुद्ध संघर्ष गर्न तयार भएका छन् । यो नै महत्वपूर्ण कुरा हो । ६ दल ६ तिर फर्केका थिए । नेताबीच व्यक्तिगत सम्बन्ध भए पनि विभिन्न कारण दलहरूको दूरी बढेको थियो । अहिले आएर त्यो दूरी कम भएको छ । यो नै सकारात्मक पक्ष हो ।
एकीकरणको अप्ठेरो पक्ष के हो ?
माओवादी, माक्र्सवाद, लेलिनवाद अर्थात् हाम्रो सिद्धान्त र बुझाइमा कहीँकतै कुनै अप्ठेरा छैनन् । यसमा सबैको एकमत छ । तर, त्यसको आधारमा देशलाई निकास कसरी दिने ? रणनीति के हुने ? जनवादी क्रान्ति कसरी सफल पार्ने ? यी विषयमा अप्ठेरा देखिएका छन् । तर, यो पनि समाधान हुन्छ । हामी छलफल गरिरहेका छौँ ।
यस प्रकारका अप्ठेरा कुन–कुन दलमा बढी पाउनुभएको छ ?
हामी धेरैजसो पार्टी नयाँ जनवादी क्रान्ति हुनुपर्छ भनिरहेका छौँ । तर, कमरेड प्रचण्ड लगायतले नयाँ जनवादी क्रान्तिमा केही अपुग छ, त्यसलाई पूरा गर्दै जाने भन्नुभएको छ । नयाँ जनवादी क्रान्ति जसरी माओवादीले जनयुद्धकालमा गरेका थिए, त्यसरी गर्न सम्भव नभएको उहाँहरुको भनाइ छ । तर, हामीले नयाँ जनवादी क्रान्ति नै अहिलेको आवश्यकता हो । संघर्षको रूप फरक हुनु सक्छन् । त्यस विषयमा पनि छलफल भइरहेका छन् ।
नयाँ जनवादी क्रान्ति गर्नुपर्छ भन्ने पक्षमा कति दल छन् ?
प्रचण्ड नेतृत्वको एमाआवादी बाहेकका हामी पाँचै दल नयाँ जनवादी क्रान्ति सफल पार्नका लागि नयाँ ढंगको संघर्ष अगाडि बढाउन सकिन्छ भने पक्षमा छौँ ।
नयाँ जनवादी क्रान्तिका लागि प्रचण्डलाई कन्भिन्स गर्न सकिन्छ त ?
कन्भिन्स गर्नुभन्दा पनि अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तु र अवस्थाबारे अध्ययन गर्नुपर्छ । र, त्यसलाई आत्मसात गर्नुपर्छ । परिस्थितिलाई आत्मसात् गर्न सकियो वा बुझ्न सकियो भने कन्भिन्स गर्न कसैले कसलाई गाह्रो छैन ।
एकीकरण हुँदा पार्टीको पुरानै संरचनामा फर्किने हो वा पुनर्संरचना हुन्छ ?
पुनर्संरचना हुन्छ नै । पद ठूलो कुरा होइन । अध्यक्ष प्रचण्डले त म एउटा साधारण सदस्य भएर काम गर्न तयार छु भनिरहनुभएको छ । अन्य नेताले पनि त्यही भन्नुभएको छ । मेरो विचारमा एकीकरण हुँदा पदमा विवाद नहोला । विवादै भयो भने कार्यदिशा र संघर्षको रणनीतिमा हुन सक्छ । त्यसैले यी सबै कुराको पुनर्संरचना भयो भने सबै कुरा मिल्न सक्छ । अब पार्टी पुनर्गठन हुन्छ भने सबै हिसाबले पुनर्गठन हुन्छ ।
तपाईंलगायत मोहन वैद्य किरण र विप्लवहरूले प्रचण्डको क्रियाकलापमाथि पटकपटक शंका गरिरहेको कुरा बाहिर आएको छ नि ?
तपाईंलगायत मोहन वैद्य किरण र विप्लवहरूले प्रचण्डको क्रियाकलापमाथि पटकपटक शंका गरिरहेको कुरा बाहिर आएको छ नि ?
जुन संविधानसभाले देश र जनताको हितमा काम गर्दैन, प्रचण्ड त्यसैमा केन्द्रित छन
अहिले अध्यक्ष प्रचण्ड जुन लाइनमा हिँडिरहनुभएको छ, त्यो लाइनले के परिणाम दियो, त्यो कुराको पनि मनन गर्नुपर्छ । यता हामी जुन लाइनमा छौँ, त्यसले के परिणाम ल्यायो, त्यो कुराको पनि ख्याल गर्नुपर्छ । मनन गर्नुपर्छ । हाम्रो लाइन गलत हो भने हामीलाई भन्नुपर्छ । उहाँहरूको लाइन गलत हो भन्ने त्यो कुरा स्वीकार गर्नुपर्छ । एक अर्काको कुरा बुझेर, विश्लेषण गरेर, अगाडि बढ्यो भने एक–अर्काप्रतिको अविश्वास हट्छ ।
मोहन वैद्यले संविधानसभा छाड्न प्रचण्डलाई दबाब दिइरहनुभएको छ, के यो सम्भव छ ?
जुन संविधानसभाले देश र जनताको हितमा काम गर्दैन, त्यो संविधानसभामा रहिरहनुको कुनै तुक छैन । आवश्यक पनि छैन । हाम्रो भनाइ हो, संविधानसभालाई पनि संघर्षको थलो बनाउनुपर्छ । हुन त सडक संघर्षलाई नै हामीले प्रमुख रूपमा लिएका छौँ । तर, प्रचण्ड संविधानसभामा नै केन्द्रित हुनुभएको छ, जब कि उहाँले त्यहाँ केही गरिरहनुभएको छैन । त्यसैले संघर्षको एउटा मोर्चा संविधानसभालाई बनाई सडक संघर्षलाई प्रमुख रूपमा लिनुपर्छ । अन्ततः संविधानसभाबाट जनताको हकमा संविधान बन्दैन भन्ने कुरा प्रचण्डले पनि बुझ्नुभएको छ र संविधानसभा छाड्ने अवस्था सिर्जना भएको छ ।
सहमतिबाट संविधान बन्दैन, यसकारण संविधानसभा छाड्नुपर्ने हो वा नयाँ जनवादी क्रान्ति सफल पार्न छाड्नुपर्ने हो ?
पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान, स्वायत्ततासहितको संविधान, एक मधेस एक प्रदेशसहितको संविधान निर्माण भयो भने, त्यसलाई तत्कालका लागि स्वीकार गर्न सकिन्छ । तर, पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान निर्माण हुनु भनेको नयाँ जनवादी क्रान्ति होइन । पहिचानसहितको संविधान निर्माण भयो भने, त्यसलाई स्वीकार गर्न सकिन्छ । पछि त्यसलाई संशोधन गरेर जान सकिन्छ । तर, कांग्रेस र एमालेले पहिचानसहितको संविधान कुनै हालतमा निर्माण गर्दैनन् ।
मोहन वैद्यको बटमलाइन एमाओवादी संविधानसभाबाट फिर्ता हुनुपर्छ भन्ने पनि हो, यसमा तपाईंहरुको धारणा ?
उहाँहरूले एकातिर संविधानसभाबाट फिर्ता हुनुपर्ने कुरा उठाइरहनुभएको छ भने, अर्कोतिर सर्वपक्षीय सम्मेलनको माग गर्नुभएको छ । सर्वपक्षीय सम्मेलन र संविधानसभामा तात्विक फरक छैन, उस्तै–उस्तै हो । दुइटैले सकारात्मक परिणाम दिँदैन । यसमा हाम्रो धारणा के हो भने, संविधानसभालाई पनि एउटा संघर्षको मोर्चा बनाएर सडक संघर्षलाई प्राथमिकतामा राखेर आन्दोलन गर्नुपर्ने हुन्छ । आन्दोलनबाट नै क्रान्तकारी संयुक्त सरकार गठन गरी सत्ता कब्जा गर्नुपर्छ । र, यस हिसाबले मेरो विचारमा वैद्यजी र प्रचण्डजी दुइटैको कार्यनीति फरक छ ।
अहिले आएर ३० दलीय गठबन्धनमा विवाद देखिएको छ । माओवादी एकातिर छ भने मधेसवादी दल अर्कोतिर । को दोषी छयसो हुनुमा ?
३० दलीय गठबन्धन केका लागि गठन भएको हो, त्यो नै स्पष्ट छैन । उहाँहरू पहिचानसहितको संविधान निर्माण गर्नका लागि संघर्ष गर्न संगठित हुनुभएको हो । तर, पहिचान चाहने थुप्रै संगठन मोर्चाभन्दा बाहिर छन् । मोर्चा बनाइएको छ भने सोच फराकिलो बनाउनुप¥यो । तर, त्यो नै त्यहाँ छैन । संकुचित मानसिकता देखिएको छ । सही कुरा भन्ने हो भने, ३० दलीय मोर्चा जनतामा पुगेको छैन । पहिचानका लागि जनविद्रोह गर्ने कुरा गरेका छन् । तर, जनतामाझ पुगेका छैनन् । अनि, कसरी हुन्छ जनविद्रोह ? अस्ति, आमहडताल फिर्ता लिइयो । त्यसैले त्यत्रो बबाल भएको छ । मधेसी र माओवादीबीच दूरी बढेको छ । कांग्रेस र एमालेले वार्ताका लागि समय थप गरेको, संविधानसभाको बैठक सारेको भनेर गठबन्धनका संयोजक प्रचण्डले आमहडताल फिर्ता लिएको भनिरहनुभएको छ । यदि कांग्रेस र एमाले प्रक्रियामा गयो भने पुनः आन्दोलन गर्ने चेतावनी दिइएको छ । तर, कांग्रेस र एमाले प्रक्रियामै छन् र त्यसको तयारी गरिरहेका छन् । खोइ प्रचण्डको चेतावनीको अर्थ ? अर्कोतिर माओवादीले धोका दियो भन्दै छुट्टै आन्दोलन गर्ने चेतावनी मधेसवादी दलहरूले गरिरहेका छन् । तर, त्यो चेतावनी पनि चेतावनीमै सीमित भएको छ । प्रचण्डले साँच्चै धोका दिएको हो भन्ने कुराको पुष्टि गर्न प्रचण्ड, गच्छदारबाहेकका दलहरू आन्दोलनको घोषणा गरेर जनतालाई सडकमा उतारेर देखाइदिनुपर्ने थियो । तर, त्यो पनि गरेका छैनन् । बाहिर कुरा मात्र गरेका छन् । त्यसैले मेरो विचारमा दुइटै दोषी छन् ।
मधेसमा आन्दोलन गर्न तपाईंले पनि एउटा समिति बनाउनुभएको छ, के अब मधेसवादी दलहरू तपाईंको समितिमा आएर संयुक्त आन्दोलन गर्लान् ?
हाम्रो समितिमा आउनुस् भनेर मैले कहिल्यै भनेको छैन । मैले एउटा संयुक्त बृहत् मोर्चा बनाएर आन्दोलन गर्न भनेको छु । मधेसवादी दलको छुट्टै मोर्चा, आदिवासी जनजातिको छुट्टै मोर्चा, माओवादीको छुट्टै मोर्चा बनाउने अनि सबैको एउटा बृहत् मोर्चा बनाएर संघर्षमा जानुपर्ने मेरो सोच थियो । तर, साथीहरूले यसमा ध्यान दिनुभएको छैन । हेर्नुहोला अन्ततः बृहत् मोर्चा बनाएर आन्दोलनमा जानुको विकल्प छैन । तर, मधेसवादी दलमाथि विश्वास गर्ने अवस्था पनि छैन ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments