नशालु बिस्कुट र जुस खुवाएर २९ जनालाई लुटियो
|
फोटो :फाइल फोटो
नेपालगन्ज : भारतमा मजदुरी गरेर घर फर्कने नेपालीलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने काममा एउटा गिरोह नै सक्रिय देखिएको छ ।
भारतबाट फर्केने कामदारलाई गाडी वा मोटसाइकलमा राख्ने र बीच बाटोमा लगेर नशालु जुस तथा खन्य खाने कुरा खुवाएर लुटपाट गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यसरी लुटपाट गर्ने गिरोहमा संलग्न २ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार लुटपाटमा संलग्न कालिकोट जिल्लाको रघु – ६ का बसन्त बुढा र गोविन्द बुढालाई सार्वजनिक गरेको छ । बाँकेका प्रहरी उपरीक्षक बसन्तकुमार पन्तले उनीहरुले विगत ३ वर्षदेखि भारतको आग्रा, लखनउ, रुपैडिया, गोण्डा लगायतका ठाउँहरुमा कमाएर घर फर्किदै गरेका नेपालीलाई लुटपाट गर्ने गरेको बताए ।
२०७१ बैशाख देखि चैत्र मसान्त सम्म उनीहरुले २९ जना व्यक्तिहरुलाई लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
केही दिन अगाडि मात्र भारतबाट काम गरेर फर्किदै गरेका भैरवस्थान– ८ अछामका विरेन्द्र बहादुर बुढालाई उनीहरुले नशालु पदार्थ खुवाएर नगद र सुन लुटपाट गरेका थिए । रुपैडियाबाट साथी बनाएर मोटरसाइकलमा बसालेर नेपालगन्ज आउदै गर्दा बीच बाटोमा बिस्कुट खान दिएर उनीहरुले लुटपाट गरेको पीडित बुढाले बताए।
प्रहरीले गिरोहलाई नै पक्राउ गरेको दाबी गरेपनि लुटपाटमा संग्लन भनिएका बसन्त बुढाले अहिलेसम्म आफुले २ जनालाई मात्र लुटपाट गरेको बताउँछन ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
|
Category: News
0 comments