Hindi Films

परपुरुषसँग लागेको भन्दै महिलालाई मोसो दलेर सडकमा घुमाएपछि.....

Unknown | 11:58 | 0 comments

२०७२ बैशाख २८ सोमबार

फोटो :अन्नपूर्ण
दाङ : देउखुरी उपत्यकाको सतवरिया २ वनघुस्रीकी एक महिलालाई गाउँकै महिलाले कानुन हातमा लिएर मोसो दली सामाजिक बहिष्कार गरेका छन्। मोसो दली सामाजिक बहिष्कार गर्ने काममा संलग्न ६ जना महिलालाई प्रहरीले पहिचान गरी चारजनालाई पक्राउ गरेको छ।
 
महिलालाई मोसो दली सामाजिक बहिष्कार गर्ने काममा संलग्न सतवरिया-२ वनघुस्रीकी सीतारामी चौधरी, पानमति चौधरी, हिरामती चौधरी र जानकी चौधरीलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मणबहादुर शाहीले बताए। घटनामा संलग्न मुख्य ६ जनामध्ये २ जना महिला फरार  छन् । 
 
बाँकी २ जना महिलालाई पनि नियन्त्रणमा लिएर सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी भइरहेको प्रमुख शाहीले जानकारी दिए। उक्त गाउँकी ती महिलालाई सोमवार दिउँसो महिलाहरुकै हुलले कपाल मुण्डन गर्नुका साथै मोसो दली जुत्ताको माला लगाएर लखेटेको थियो। 
 
ती महिला भित्री वस्त्रमा मात्रै लेखेटिँदासमेत वनघुस्री गाउँ पूरै मुकदर्शक बनेको थियो। महिला हिंसा न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट व्यापक प्रयास भइरहँदा पनि सोमवार चौधरी थरकी ती महिलामाथि यस्तो अमानवीय व्यवहार गरिएको थियो ।

गाउँको निर्णय भन्दै चौधरी परिवारकी ती महिलालाई कानुन हातमा लिएर सामाजिक बहिष्कार गर्दा पनि त्यहाँ पुगेको प्रहरीले केही गर्न सकेन । गाउँका अगुवाहरुले पनि महिलामाथि भइरहेको अमानवीय दृश्य मुकदर्शक बनेर हेरिरहे तर त्यो कार्यलाई रोकेनन् ।
 
महिलालाई मोसो दलेर गाउँ घुमाइएको केही समयपछि प्रहरी घटनास्थलमा पुगेकाे प्रहरी मोसो दलेर सामाजिक बहिस्कार गरेको मुद्दालाई गाउँमै मिलाउने भनेपछि त्यहाँबाट फर्केको थियो।

'प्रहरी त पुग्यो तर कसलाई पक्राउ गरेर ल्याउनु ? गाउँका सबै महिला जम्मा भएका रहेछन्', शाहीले भने, 'उनीहरुले समस्या गाउँमै समाधान गर्छौं भनेपछि टोली फर्किएको हो ।'

उनका अनुसार घटना गम्भीर प्रकृतिको थहा भएपछि पुन: प्रहरीको टोली घटनास्थलमा पुगेर घटनामा संलग्न मुख्य चारजना महिलालाई नियन्त्रणमा लिएको हो ।
 
 
छिमेकी पुरुषसँग अनैतिक सम्वन्ध रहेको आरोप गाउँलेहरुले ती महिलामाथि पटकपटक लगाएका थिए। गाउँमा धेरैपटक छलफल भएर समाधान नभएपछि उक्त विवाद वडा प्रहरी कार्यालय लमहीसम्म पुगेको थियो। प्रहरीले आइन्दा यस्ता क्रियाकलाप नगर्ने शर्तमा सम्झाई बुझाई पठाएको थियो। 
 
प्रहरीले सम्झाई बुझाई पठाएपनि समस्या पुन: दोहरिएको गाउँलेहरुको आरोप छ। महिलासँग अनैतिक सम्बन्ध रहेको भनिएका व्यक्तिले पनि सामाजिक हिंसा सहन नसकेर आत्महत्या गरिसकेको बताइएको छ ।
 
गाउँलेहरुले आत्महत्या गर्नुको कारण पनि उनै महिला भएको आरोप लगाउँदै २५ हजार जरिवाना तिराउने निर्णय गरेका थिए। पछि जरिवाना थप गरी ५० हजार रु पैयाँ असुल गर्ने निर्णय गाउँलेले गरेको अगुवा शालिकराम चौधरीले बताए। 
 
त्यही पैसा तिर्न नसकेपछि महिलाहरुले यस्तो व्यवहार गरेको हुनसक्ने चौधरीको भनाइ छ। चौधरीले थपे, 'कानुनमा के छ ? हामीलाई केही थाहा छैन्, तर गाउँको विरुद्ध जानेलाई हामीले कारवाही गर्दै आएका छौं ।'
 
पीडित महिलाले आफूमाथि हिंसा भएको बताएकी छन्।  'ममाथि यस्तो हिंसा र ज्यादति भयो', महिलाले आफ्नो शरीर देखाउँदै भनिन्, 'यी गाउँले महिलाहरु सबै झुटो कुरा गरिरहेका छन्। ममाथि लगाइएका आरोप झुठा हुन्।' आर्थिक विपन्नताका कारण उनका श्रीमान् मजदुरी गर्छन् ।
अन्नपूर्ण पोस्टबाट साभार 

Category:

0 comments