कति राम्रो काम हेर्नुहोस् ,राजधानीमा लिफ्ट मागिदिने केटी
|
सुवुना बस्नेत अनामनगरबाट पानीपोखरीमा रहेको अफिस जान सधँैँ सार्वजनिक यातायातकै प्रयोग गर्छिन्। अघिपछि बस पनि प्रत्येक पाँच मिनेटमा आइपुगिहाल्थ्यो। असोजको दोस्रो साताबाट राजधानीको सडकमा सवारीसाधन पातलिँदै थिए। एकदिन त उनी एकघण्टा कुर्दा पनि गाडी आएन। बल्ल तल्ल आएको गाडीमा खुट्टा राख्ने ठाउँ थिएन। एउटा खुट्टाको अघिको भागले टेकेर उनी गाडीमा घुसि्रइन्। भित्र सास फर्न पनि अफ्ठेरो, उता अफिस पुग्न ढिलो भैसकेको भन्ने छटपटी।
अफिसमा अरु जना पनि बल्ल आउँदै रहेछन्। उनीहरुले पनि गाडी नपाएर सास्ती पाएको अनुभव सुनाए।
‘हामी त बल्लतल्ल उक्लियौँ। बिचरा, बिरामी र वृद्धवृद्धा भने उभिएको उभियै थिए,' एकजना साथीले भनिन्। अरुले पनि देखेका थिए स्कुले बच्चा, अपाङ्गता भएका मानिस बाटोमा आफ्ना आँखा ओच्छाएर बसेका थिए। तिनीहरुलाई सम्झेर सबै भावुक भए।
अर्को साथीले भने, ‘हामी बाटोमा बसेर दुःख पाएका मानिसका लागि लिफ्ट मागिदिउँ न त सानै भए पनि सहयोग हुन्छ।'
‘हुन त हो तर असुरक्षित हुन्छ,' सुवुनाले भनिन्।
‘प्रहरीको सहयोग लिउँला नि त,' साथीले जवाफ दिए।
त्यो दिनभरि उनीहरुले अफिस छलफल गरे। काठमाडौंमै अलि टाढा भएका साथीहरुलाई आइडिया सेयर गरे। फेसबुकमा पेज र इभेन्ट पनि बनाए— राइड सेयर।
सडकमा सार्वजनिक गाडी ठप्पैजस्तो भए पनि निजी गाडीहरु चलिरहेका थिए। सार्वजनिक यातायात नपाएपछि सडकमा मानिसको भीड हुन्थ्यो।
‘निजी सवारी हुनेलाई आँखा उठाएर पनि हेर्न नसक्ने संस्कार छ हाम्रो न त गाडीले सडकमा उभिएका मानिसलाई समभाव राख्ने गर्छन,'उनले भनिन्,‘ त्यसैले हामीले विभिन्न ठाउँमा उभिएर अफ्ठेरो परेका मानिसका लागि लिफ्ट मागिदिने भयौँ।'
भोलिपल्ट अफिसमा उनका एक साथी झोक्किदै आइपुगे। उनले लिफ्ट दिन गाडीमा बोलाउँदा एकजना अधवैँसे बा मानेनछन्। सम्झाएपछि बल्लबल्ल बसेछन् तर डराउँदै। जब साथीले ठाउँमा पुर्याइदिएर रोकेछ उनी जान्छु पनि नभनी भागेछन्।
‘मान्छे यस्ता छन् अनि तिमीहरु लिफ्ट दिलाउने कुरा गर्छौ,'साथीले उनीहरुको काममा शंका गरे।
‘अरुप्रति अविश्वास गर्ने त छँदै छ, असुरक्षाको भावनाले गर्दा पनि हामी लिफ्ट लिन अफ्ठेरो मान्छौँ' सुवुनाले सुनाइन्,‘त्यसैले त हामीले यस्तो दुःखमा कमजोर मानिसलाई सहयोग गर्न खोजेको नि।'
त्यो दिन उनीहरुले लगभग ५ सय जनालाई लिफ्ट दिलाइदिएछन्।
उनीहरुले केही गाडीहरु रोकेर अफ्ठेरो परेकोलाई लिफ्ट दिने गर्नुस् है भन्न समेत भ्याएछन्। ‘धेरै मानिसहरुले लिफ्ट दिने बानी गर्न थाले त्यसपछि, फेसबुक र ट्वीटरमा समेत लिफ्ट दिन सक्छौँ भनेर जानकारी राखे यो धेरै राम्रो भयो,' सुवुनाले भनिन्।
दिनभरि लिफ्ट दिलाउन जाँदा अफिसको काम थुप्रिने खानाको ठेगान नहुने लगायतका समस्या भएपछि त्यसलाई निरन्तरता दिन पनि सकेनन्।
‘हामीले एक्लैले जहाँ भेट्छौँ त्यही सहयोग गर्ने भनेर त्यो कार्यक्रम रोक्यौँ' सुुवुनाले भनिन्,‘त्यसपछि जहाँ गएपनि आफुलाई चाहिँदा लिने, लिफ्ट माग्न हिचकिचाएकालाई दिलाइदिने गर्न थाल्यौँ।'
एकदिन महाराजगन्ज अस्पतालबाट ब्लड ब्याङ्क आउन नपाएर बाटोमा अलपत्र परेकी अधवैंसे आन्टीलाई उनले लिफ्ट दिलाइदिइन्।
‘उनले लिफ्ट पाएको बाइकमा बसेपछि मेरो कुममा हात राख्दै मुस्कुराइन् र भनिन् तपाईँलाई ठूलो धर्म हुन्छ,' सुवनालाई यसरी विना स्वार्थ कसैको सेवा गर्न पाउँदा गज्जब लाग्छ रे।
नाकाबन्दीको बेला लिफ्टका लागि भनेर उनीहरुले बनाएको फेसबुक पेज, कारपुल भन्ने अर्को पेजमा पनि लिफ्ट लिने र दिनेका धेरै कथा पोष्ट भए।
एकदिन उनले सौरभ नाम गरेका यूवासंग लिफ्ट मागिन्। उनले त बाटोभरि रमाइला कहानी सुनाए। ‘एक दिन मैले लिफ्ट दिन खोज्दै बाटोमा उभिएकी यूवतीलाई जाने हो भनेर सोधेको ठूलठूला आँखा पार्दै हेरिन्,' सौरभले सुवुनालाई सुनाए,‘बाइक स्टार्ट गर्नै पाएको थिइन, उसको प्रेमी आएर तैँले उसलाई किन जाम भनिस् भनेर धन्नै कुटेका। जोगिएँ।'
सुबुनाले बुझाउन खोजेको के भने—काठमाडौं अहिलेसम्म सामाजिक बनिसकेको छैन। यहाँ अघिपछि पनि अफ्ठेरो परेका बेला खाली गाडी र बाइकमा लिफ्ट दिने लिने चलन छैन।
उनी इलाम कि हुन्। आफ्नो घरबाट माथि इलाम बजारमा रहेको स्कुल पढ्न जाँदा सानैमा उनले धेरै लिफ्ट मागेकी थिइन्। ‘बाइक, बस ट्रक सबैले हामीलाई देखेपछि रोक्थे, बुवाआमाले पनि नचिनेका मानिससँग लिफ्ट मागिदिनुहुन्थ्यो कसैले नाइँ पनि भन्दैनथे डर पनि लाग्दैनथ्यो,' उनले सुनाइन्। तर जब उनी उच्चशिक्षाका लागि काठमाडौं आइन्, यहाँको सडकमा त्यस्तो सुविधा पाइन्न भन्ने थाहा पाइन्। उनले पनि शहरका मानिसजस्तै गुडिरहेका खाली बाइक र गाडीतिर कहिल्यै फर्केर हेरिनन्।
|
Category: News
0 comments