Hindi Films

नेपालले यू १९ विश्वकपमा सातौंपटक टेस्ट राष्ट्रलाई हरायो !

Unknown | 17:36 | 0 comments


फोटो :बंगलादेशमा जारी यू—१९ विश्वकप क्रिकेटको बिहीबार भएको आफ्नो पहिलो खेलमा टेस्ट राष्ट्र न्युजिल्यान्डलाई हराएपछि खुसी साटासाट हुँदै नेपाली खेलाडी । तस्बिर सौजन्य: रमन सिवाकोटी

काठमाडौं: नेपालले आईसीसी यू १९ विश्वकप क्रिकेटमा आफ्नो ‘जाइन्ट किल' छवि कायम राख्दै फेरि टेस्ट राष्ट्रलाई जिल्याएको छ । नेपालले बंगलादेशमा जारी आईसीसी यू १९ विश्वकपको आफ्नो पहिलो खेलमा बिहीबार बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डलाई ३२ रनले हराएर उत्कृष्ट सुरुआत गर्‍यो । दोस्रो दिनको खेल सकिँदासम्म आफ्नो खेलमा सफलता हातपार्ने नेपाल एकमात्र एसोसिएट राष्ट्र हो ।
 
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ३८ रन बनायो । यू १९ विश्वकपमा नेपालले हालसम्म बनाएको यो सर्वाधिक योगफल हो । यसअघि सन् २००६ मा नेपालले आयरल्यान्डविरुद्घ आठ विकेट गुमाएर दुई सय ३४ रन बनाएको थियो ।
 
नेपालका लागि कप्तान राजु रिजालले ४८, आरिफ सेखले ३९, सन्दीप सुनारले ३९ र कुशल भुर्तेलले ३५ रन बनाए । न्युजिल्यान्डले भने ४७.१ ओभरमा अलआउट हुनुअघि दुई सय ६ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डलाई लक्ष्यसम्म पुग्न नदिन नेपालका बलर दीपेन्द्र ऐरीले तीन, प्रेम तामाङले दुई तथा सुनिल धमला र सन्दीप लामिछानेले एकएक विकेट हात लिए ।
 
नेपालले यू १९ विश्वकपमा सातौंपटक टेस्ट राष्ट्रलाई हराएको हो । नेपालले अन्तिमपटक सन् २००८ को प्लेट च्याम्पियनसिपको क्वार्टरफाइनलमा टेस्ट राष्ट्र जिम्बाबेलाई ९९ रनले हराएको थियो । यू १९ विश्वकपमा नेपालको यो सातौं सहभागिता हो । सन् १९९९ को एसीसी यू १९ प्रतियोगितामा उपविजेता बनेपछि विश्वकपमा छानिएको नेपालले पहिलो सहभागितामा खासै प्रभाव देखाउन नसके पनि त्यसपछिका सहभागितामा अपत्यारिलो प्रदर्शन गर्दै ‘जाइन्ट किलर'को छवि बनाएको छ ।
 
सन् २००० पछि नेपालले लगातार चारपटक यू १९ विश्वकप खेलेको थियो । लगातार चारपटक एसीसी यू १९ च्याम्पियन बन्दै नेपालले उक्त सफलता हातपारेको थियो । नेपालले सन् २००२ को विश्वकपमा समूहगत चरणमै पाकिस्तानलाई ३० रन र प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशलाई २३ रनले हराएको थियो । 
 
सन् २००४ को संस्करणमा नेपालले समूहगत चरणमै टेस्ट राष्ट्र दक्षिणअफ्रिकालाई एक विकेटले हरायो भने सोही टोलीलाई सन् २००६ को संस्करणको प्लेट च्याम्पियनसिप सेमिफाइनलमा दुई रनले पराजित गरेको थियो । सोही विश्वकपको प्लेट च्याम्पियनसिप फाइनलमा पनि नेपालले न्युजिल्यान्डलाई एक विकेटले हराएको थियो ।
 
सन् २००८ को विश्वकपको प्लेट च्याम्पियनसिप क्वार्टरफाइनलमा नेपालले जिम्बाबेलाई ९९ रनले हराएको थियो । विश्वकपको समूहगत चरणबाटै बाहिरिने टोलीबीच हुने प्लेट च्याम्पियनसिपमा नेपाल एकपटक विजेता र दुईपटक उपविजेता बनेको छ । सन् २००९ को एसीसी यू १९ को सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएपछि नेपालको प्रभाव घटेको थियो । पछिल्लो समय अफगानिस्तान एसीसी यू १९ मा सशक्त देखिँदै आएको छ । त्यसयता नेपालले सन् २०१२ को विश्वकप खेले पनि प्रभाव भने देखाउन सकेको थिएन ।
 
सन् २००७ पछि नेपालले एसीसी यू १९ को उपाधिसमेत जित्नसकेको छैन । नेपालले विश्वकपको आफ्नो पहिलो खेलमै टेस्ट टोलीलाई हराएको यो पहिलोपटक हो । न्युजिल्यान्डको सिनियर टोली गत एक दिवसीय विश्वकपको फाइनलमा पुगेको थियो । नेपालले सिनियर क्रिकेटमा भने हालसम्म टेस्ट टोलीलाई हराउनसकेको छैन । नेपालले दोस्रो खेल शनिबार आयरल्यान्डसँग खेल्नेछ ।

Category:

0 comments