Hindi Films

पार्टीभित्र कुनै पनि समस्या छैन : प्रचण्ड, एमाले धनुषाका पूर्व अध्यक्ष मण्डल एमाओवादी प्रवेश -

Unknown | 05:52 | 0 comments

१८ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै पनि विवाद नभएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा प्रचण्डले सांगठनिक स्वरुपका विषयमा नयाँ कार्यविधिको जरुरत रहेकाले केही विवाद भए जस्तो देखिएको बताउनुभयो । उहाँले पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजान र आफू र सबै पार्टी पङ्क्ति प्रतिबद्ध भएर लागेको उल्लेख गर्नुभयो ।
गत माघमा सम्पन्न महाधिवेशनले कार्यनीति र रणनीतिको विषयमा प्रष्ट भए पनि साङ्गठनिक विषयमा प्रष्ट पार्न नसक्दा समस्या आएको भन्दै उहाँले आगामी साउन ४ गतेका लागि तय गरिएको विस्तारित बैठकले सबै समस्या हल गर्ने बताउनुभयो । परम्परागत ढङ्गले कम्युनिस्ट पार्टी चल्न नसक्ने भएकाले नयाँ विधि र प्रक्रियाको आवश्यकता रहेकामा जोड दिँदै उहाँले विस्तारित बैठकले विश्व कम्युनिस्ट आन्दोलनका लागि समेत नयाँ साङ्गठनिक संरचनाको उदाहरण पेश गर्ने बताउनुभयो । पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान र संविधानसभाबाटै संविधान भन्ने नारामा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै उहाँले आगामी मंसिर ४ गतेका लागि तय गरिएको संविधानसभाको निर्वाचनपछि मुलुक नयाँ राजनीतिक दिशामा प्रवेश गर्ने बताउनुभयो । कार्यक्रममा एमाले धनुषाका पूर्व जिल्ला अध्यक्ष हरिदेव मण्डलको नेतृत्वमा एक दर्जनभन्दा बढी कार्यकर्ता एमाओवादीमा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीहरुलाई एमाओवादीका अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेताहरुले टीका लगाएर पार्टी प्रवेश गराउनु भएको थियो । रासस -

Category:

0 comments