Unknown |
14:00 |
0
comments
४ भदौ, काठमाडौं । गुणस्तरहीन विद्युत ट्रान्सर्फमर खरिद गरी भ्रष्टाचार गरेको अरोपमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादव र दुई पूर्व कार्यकारी प्रमुखसहित थप १० जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
‘प्राधिकरणले न्यून गुणस्तरको वितरण ट्रान्सर्फमर खरिद गरी अनियमितता एवं भ्रष्टाचार गरे भन्ने विषयको उजुरीको अनुसन्धानको सिलसिलामा हालसम्म संकलित प्रमाण कागजातका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो’, अख्तियारद्वारा मंगलबार बेलुकी जारी विज्ञप्तिमा भनिएको छ ।
अख्तियारले योजना प्रमुख कृष्णबहादुर थापा, इन्जिनियर प्रमोद रिजाल, पूर्वमहाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेल, अवकाश प्राप्त कार्यकारी निर्देशक डा. जीवेन्द्र झा, अवकाश प्राप्त उपकार्यकारी निर्देशक टीकाराम वीसी, उपनिर्देशक (लेखा) कृष्ण वहादुर केसी, तह ११ मा कार्यरत देव शर्मा पौडेल, वितरण तथा ग्राहक सेवा (पूर्व अर्थ महाशाखा) का लेखा अधिकृत सुशीलप्रसाद खनाल र विद्युत विकास आयोजनाका पूर्व संयोजक महेश प्रसाद आचार्य समेतलाई हिरासतमा लिएको हो ।

अख्तियारले उक्त प्रकरणमा यसअघि नै ५ जना वरिष्ठ अधिकृत र ट्रान्सफरमर आपूर्तिकर्ता कम्पनीका दुई कर्मचारीलाई पक्रेर अनुसन्धान गरिरहेको छ । प्राधिकरणका सहायक प्रबन्धक सुरेन्द्र पनेरु, सहनिर्देशक हरिशबहादुर पाल, सहायक प्रबन्धक मदनराज चापागाईं, इन्जिनियर प्रज्वल पाण्डे र भण्डार प्रमुख भरत रुपाखेती यसअघि नै पक्राउ भएका हुन् । त्यस्तै चिनियाँ कम्पनी हुवेई सनलाइटका दुई जना कर्मचारी पक्राउ परेको हुन् ।
प्राधिकरणले २०६३ देखि २०६८ सालसम्म खरिद गरेका ट्रान्सफर गुणस्तहीन भएको प्राधिकरण सञ्चालक समितिले गठन गरको छानबिन समितिको प्रतिवेदनबाट खुलेको थियो । ४ हजार ६ सय ५७ ट्रान्सफर गुणस्तरहीन भएको कारण अहिले प्राधिकरणलाई विद्युत वितरणमा गम्भीर समस्या परेको छ ।
ती ट्रान्सफरमर भारतको एसभीआर, थाइल्याण्डको सहवान्त, चीनका कम्पनीहरु हुवेई सनलाइट, जेके होल्डिङ र साङदोङबाट किनिएका थिए । यादव २०६८ सालमा हुवेई सनलाइट कम्पनीबाट ट्रान्सफरमर खरिद गर्दा प्राधिकरणको ग्राहक तथा वितरण शाखाका महाप्रबन्धक रहेका थिए ।
हुवेइमार्फत आयात गरेको ट्रान्सर्फमरमा बाहिर तामा र भित्र आल्मुनियम भेटिएको थियो । सिन्धुपाल्चोकसहितका केन्द्रका सातवटा ट्रान्सर्फमर परीक्षण गर्दा तामाको तारको सट्टा अल्मुनियम भेटिएको थियो । हुवेईले प्रधीकरणलाई २५, ५०, १००, २०० र ३०० किलोभोल्टका ट्रान्सर्फमर विक्री गरेको थियो । ती ट्रान्सर्फमरबाट अत्याधिक विद्युत चुहावट हुनुका साथै जल्ने र पड्कने समस्या देखिएको थियो ।
अध्यागमनका पाँच कर्मचारी रंगेहात पक्राउ
यसैगरी, अख्तियारले अध्यागमन विभागका शाखा अधिकृतद्वय सूर्यप्रसाद दाहाल र देवर्ष सापकोटा, नासुद्वय प्रदीपप्रसाद लामिछाने र विश्वराज खरेल तथा कार्यालय सहायक जय नारायण नापितलाई पनि पक्राउ गरेको छ ।
अख्यिारको विशेष टोलीले निगरानी गर्दा सेवाग्राहीसँग रकम लिने क्रममा खिचिएको श्रव्यदृश्यसहित उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
|
 |
Category:
News
0 comments