साइँलाहरुको प्रचण्डलाई सुझाव – सीता र प्रकाशलाई चितवन पठाउनोस्
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१४ पुस, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड पारिवारिक विषयमा पटक-पटक विवादमा तानिँदै आउनुभएको छ । तर, आफ्नै कारणले नभएर पत्नी सीता दाहाल र छोरा प्रकाशका कारण । ‘सर्वहारावर्ग’ का नेता भनिए पनि प्रचण्डको उठबस र लवाइ-खवाइको पनि पार्टीभित्रैबाट निकै ठूलो चर्चा र आलोचना हुँदै आएको छ । र, यसको असर हालै सम्पन्न संविधानसभा चुनावमासमेत परेको छ ।
तर, भित्री खासखुस कुराकानीमा यसलाई स्वीकार गर्ने एमाओवादी नेताहरु औपरिचारिक फोरमहरुमा प्रचण्डबारे प्रश्न उठाउन आँट गर्दैनन् । एमाओवादी नेताहरुकै शब्दमा ‘मुखले बोले बाइलो हुन्छ, झिम्काई देऊ परेली’ भन्ने गीतझै प्रचण्डको विपक्षमा बोले विवादमा परिन्छ भन्दै नेताहरु चुप बस्ने गरेका छन् ।
तर, संविधानसभा चुनावमा अप्रत्यासित हार व्यहोरेपछि समीक्षा गर्न बसेको बैठकमा भने केही नेताहरुले प्रचण्डको पारिवारिक मामिलामा प्रश्न उठाउने आँट छन् ।
स्रोतका अनुसार उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशसहितका नेताहरुले पेरिसडाँडामा सम्पन्न पूर्वपोलिटब्यूरो सदस्यको बैठकमा प्रचण्डमाथि प्रश्न उठाउने आँट गरेका छन् । स्रोतका अनुसार श्रेष्ठले प्रचण्डको भारतीय खुफिया एजेन्सी रअका अधिकारीसँग उठबस रहेको भन्दै कांग्रेस नेता अमरेशकुमार सिंह र व्यापारी अजय सुर्मागीसँग सम्वन्ध तोड्न आग्रह गर्नुभएको छ ।
साइँला निस्के अर्का बहादुर
प्रचण्डमाथि यस्तै प्रश्न उठाउने अर्का आँटी नेतामा पूर्बपोलिटब्यूरो सदस्य गोपाल किराती (साइँला) पनि पर्नुभएको छ । किरातीले पूर्व पोलिटब्यूरो बैठकमा अध्यक्ष प्रचण्डले आफूलाई सशक्त रुपान्तरण गर्नुपर्छ भन्ने आवाज उठेको बताउनुभएको छ ।
अब एमाओवादीले के गर्नुपर्छ भन्ने प्रश्नमा किरातीले फिल्डमा खटिएका नेता कार्यकर्ताले प्रचण्डले पत्नी सीता दाहाल र छोरा प्रकाशलाई पुख्र्यौली घर चितवन पठाउन सुझाव दिएको बताउनुभयो । ‘पारिवारिक विषयमा उहाँ विवादित हुनुहुन्छ, त्यसलाई व्यवस्थित गर्नुपर्छ’ किरातीले भन्नुभयो-’केन्द्रीय समितिमा आएको छैन, फिल्डमा साथीहरुको सुझाव छ, सीता दाहाल भाउजू र छोरो प्रकाशलाई चितवनको घरमा राख्नुपर्छ । पार्टीको जिम्मा पनि त्यतै दिनुपर्छ । र, अध्यक्ष प्रचण्डले आफ्नो सचिवालयलाई पारिवारिकबाट मुक्त गरेर नितान्त प्रशासकीय तुल्याउनुपर्छ । यो सुझावलाई हेडक्वार्टरमा पुर्याउने काम भएको छ ।’
प्रचण्डको परिवारमा देखिएको समस्याले प्रचण्डसँगै उहाँको परिवार मात्रै नभई सिंगो पार्टीलाई नै क्षति पुर्याएको माओवादी नेताहरुको बुझाइ छ । नेताहरुले भेट्न नपाउने दलाल, भ्रष्टाचारी कसले भेट्यो, पत्तो नहुने अवस्था रहेको भन्दै नेताहरुले प्रचण्डको सचिवालयमा ‘एयर पोइजनिङ’ भएको टिप्पणी समेत गरेका छन् ।
एमाओवादीमा भ्रष्टाचारी र सुदखोरहरु पैदा भए -किराती
माओवादी नेताहरुले पार्टीमा भ्रष्टाचारीहरु घुसपैठ भएको भन्दै तह लगाउन माग गरेका छन् । ‘पार्टीमा भ्रष्टाचारी छन्, सुदखोरहरु पैदा भए । तीनलाई ठीक पार्नका निम्ति छानविन आयोगहरु पनि बनाइएको थियो । ती प्रतिवेदनहरु पनि सार्वजनिक भएका छैनन्’ किरातीले अनलाइनखबरसँग भन्नुभयो-’ तिनीहरुलाई कारवाही पनि भएको छैन, कारवाही गर्नुपर्यो भनेर गम्भीर माग आएको छ ।’
एमाओवादीले नेताहरुको सम्पत्ति छानविन गर्न अमिक शेरचन र लडाकू शिविरमा भएको भ्रष्टचारको छानविन गर्न पोष्टबहादुर बोगटीको नेतृत्वमा छुट्टा-छुट्टै समिति बनाएको थियो । दुबै समितिले निकै ढीलो गरेर प्रतिवेदन बुझाएको भनिए पनि न त त्यो सार्वजनिक भएको छ, न कुनै नेतामाथि नै कारवाही भएको छ । बरु तिनै विवादित व्यक्तिलाई समानुपातिक उम्मेद्वारको सूचीमा राखिएको छ ।
किरातीका अनुसार माओवादी नेताहरुले पूर्वउपाध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि सचिवालय व्यवस्थित गर्न सुझाव दिएका छन् । प्रचण्डलाई नयाँ लेनिनको संज्ञा दिएका एमाओवादी नेता किरातीले भ्रष्टाचारीलाई कारवाही गर्नेलगायतका यी मागहरुमा आफ्नो समर्थन रहेको बताउनुभयो । ‘यो मागमा साइँलाको पनि दृढ समर्थन छ’ उहाँले भन्नुभयो ।
पार्टी नेतृत्वले आफूलाई सशक्त रुपान्तरण नगर्ने हो भने पार्टी समाप्त हुने भन्दै नेताहरुले नेतृत्वलाई सचेत गराएका छन् । यद्यपि यसबारे पूर्वपोलिटब्यूरो सदस्यहरुको बैठकमा प्रचण्डले भने कुनै जवाफ दिनुभएको छैन ।
रेणु दाहाल पनि शुद्धीकरणको पक्षमा
यसैबीच प्रचण्ड परिवारभित्रैबाट छोरी रेणु दाहालले समेत शुद्धीकरणको आवाज उठाइरहेको एमाओवादी स्रोत बताउँछ । बीना मगरलाई उम्मेद्वार बनाउने विषयमा समेत रेणुको असहमति रहेको र उनले कडाइपूर्वक प्रचण्डको आलोचना गर्ने गरेको एमाओवादी नेता बताउँछन् ।
यसैबीच प्रचण्ड परिवारभित्रैबाट छोरी रेणु दाहालले समेत शुद्धीकरणको आवाज उठाइरहेको एमाओवादी स्रोत बताउँछ । बीना मगरलाई उम्मेद्वार बनाउने विषयमा समेत रेणुको असहमति रहेको र उनले कडाइपूर्वक प्रचण्डको आलोचना गर्ने गरेको एमाओवादी नेता बताउँछन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments