भारत-चीन जोड्ने कोशी राजमार्ग निर्माणमा एक वर्षदेखि अवरोध
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१४ माघ, संखुवासभा । भारतको जोगवनी र चीनको तिब्बतलाई सिधा जोड्ने उत्तर-दक्षिण राजमार्गको निर्माणमा स्थानीयबासीले एक वर्ष अघिदेखि गरेको अवरोध अझै खुल्न सकेको छैन । आफूहरुले भनेको रुटबाट सडक खन्नुपर्ने माग गर्दै संखुवासभाको पाथिभरा गाविसका बासिन्दाले गरेको अवरोध खुलाउन नसक्दा ४५ करोड बढीको महत्वकांक्षी योजना अलपत्र परेको हो ।
सडक विभागले पुरानो सर्भेको रुटबाट सडक खन्दा ४ वटा बढी चट्टाने भिर फोर्नुपर्ने भएकाले नयाँ रुटबाट सडक खन्न थालेपछि पाथीभराबासीले एक्साभेटर, डोजर र लोडरसहितका निर्माण सामाग्री कव्जा गरेर सडकनिर्माणमा बाधा गरेका थिए ।
स्थानीयले अवरोध नगरेको भए अघिल्लो वर्ष नै हटियागोला पुग्ने यो सडकको सबै निर्माण अवरोध हुँदा संखुवासभाको उत्तरी दूर्गम गाविसका बासिन्दा निराश भएका छन् ।
भारतको जोगवनीबाट चीनको तिब्बतसम्म ३ सय ३८ मिटर लामो यो सडकमा १ सय ७ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ । यो सडक खण्डमा विराटनगरको जोगवनीबाट संखुवसाभाको हेदाङ्गमा बजारसम्म २ सय ७६ किलोमिटर सडकको ट्रयाक खुलिसकेको छ । हेदाङ्माबाट एकुवासम्मको ७ किमि सडक निर्माण आफूहरुले भनेको रुटबाट लान भन्दै पाथीभराबासीले अवरोध गरेपछि सो सडकको अन्य भागको निर्माण पनि ठप्प भएको हो ।
एकवर्षअघि नै टेन्डर लागेर काम शुरु गर्न खोजेका ठेकेदारले हेदाङ्माबाट एकुवासम्मको ७ किमि सडकको ट्रयाक नखुलेपछि अन्य खण्डको निर्माण रोकिएको हो । हेदाङ्माबाट हटियाको पेजुङ खेालासम्मको ४१ किमि सडक निर्माणका लागि डोजरसहितका निर्माण सामाग्री लाने बाटो नभएपछि किमाथाङ्कामा एक वर्षभित्रै सडक पुर्याउने योजना तुहिएको हो ।
पाथीभराबासीले अवरोध गरेको ७ किमि सडकको निर्माण नभएसम्म त्यहाँ भन्दा माथिका अन्य सडक पनि खन्न सकिने अवस्था नरहेको निर्माण व्यवसायी संघ संखुवासभाका अध्यक्ष बनले बताए । ‘स्थानीयले भनेको रुटबाट लाँदा ४ वटा भिर फोड्नै अर्बौं खर्चिनुपर्छ, ठूला मेशिनको प्रयोग गरेर खन्दा पनि भिरबाट वर्षौंमा पनि सडक खन्न सकिन्न’, अध्यक्ष वनले भने, ‘सडक विभागले अहिले खन्न लागेको नयाँ रुटबाट जाँदा २ महिनामा ७ किलोमिटर सडक निर्माण पूरा हुन्छ, एउटा गाउँको स्वार्थका लागि पूर्वाञ्चलकै भाग्यमाथि खेलबाड गरिनुहुन्न ।’
मेसिन लान नसक्दा किमाथाङ्काबाट चेपुवाको छुमसुरसम्मको २१ किमि पनि सडक निर्माण पनि अवरुद्द भएको छ । यो सडकखण्ड निर्माणका लागि पनि खाँदबारी हुँदै हेदाङ्माबाटै ठूला ठूला मेसिन लानुपर्ने हुन्छ । स्थानीयले गरेको अवरोध हटाएर ७ किलोमिटर ट्रयाक नखनेसम्म त्यहाँ भन्दा माथिका दुवै सडकखण्ड निर्माण गर्नै नसकिने अवस्था छ ।
चीनको तिब्बतबाट चेपुवाको छुमसुरसम्म र नेपालको भूगोल दुबैतर्फबाट एकैपटक खनिने भनिएपनि सडकको सबै निर्माणप्रकृया रोकिएपछि स्थानीयबासी निराश भएका छन् ।
निर्माण व्यावसायी संघ संखुवासभाका अध्यक्ष वनले सडक निर्माण अवरोबाट हुने सबै क्षतिको जिम्मा सरकार र स्थानीयले लिनुपर्ने बताए । ‘सहमति खोजेर सडक निर्माण अघि बढाउनुपर्छ, चाँडो भन्दा चाँडो सडक निर्माणको अवरोध नहटाए यसले संखुवासभामासहित पूर्वी पहाडकै विकासमा असर गर्छ ।’ अध्यक्ष वनले भने ।
उद्योग वाणिज्य संघ खाँदबारीका अध्यक्ष अनन्त गौली अहिले जारी अवरोध कुनैपनि हालतमा खुलाएर सडक निर्माण सुचारु गर्नुपर्ने बताउँछन् । ‘यो सडक निर्माण पूरा भए चीन र भारतलाई जोड्ने तातोपानी नाकाभन्दा छोटो हुनेछ’, अध्यक्ष गौलीले भने, ‘यो सडकसँग पूर्वाञ्चलकै भाग्य र भविष्य जोडिएको छ, कनै पनि हालतमा निर्माणप्रकृया सुचारु गर्नुपर्छ ।’
सेना परिचालन गरेर निर्माण सुचारु गर्न माग
निर्माणमा पटक पटक अवरोध भएपछि स्थानीले सेना परिचालन गरी निर्माण अघि बढाउन माग गरेका छन् । ‘सेनालाई सुरक्षा गर्न लगाएर भए पनि चीनको सिमावर्ती क्षेत्र किमाथांकासम्म सडक पुर्याउनुपर्छ’ भोटियाले भने, ‘सेनालाई र सडक विभागलाई स्थानीयले के सहयोग गर्नुपर्छ तयार छौं, यो सडकले ढुंगेयुगमा जिएका हामीलाई अर्को संसारमा जोड्ने आशमा छौं ।’
स्थानीयको अवरोधपछि किमाथांका र पावाखोला दुबैतर्फ जाने सडक निर्माण पनि रोकिएको छ । ४५ करोड लगानीमा बनिरहेको सडकमा अवरोध भएपछि चीनको सीमावर्ती क्षेत्रका बासिन्दा आक्रोशित भएका छन् । हटिया गाविसका पासाङ भोटियाले राष्ट्रिय गौरवको आयोजना रोक्ने पाथीभराबासीले उत्तरीक्षेत्रको विकट गाविसका स्थानीयको वर्षौंदेखि भौग्दै आएको दुःख बुझेर अबरोध हटाउनुनपर्ने बताए ।देशका अन्य भागमा पनि सेना आफैंले या सुरक्षा दिएर सडक बनाइने गरेको बताउँदै स्थानीयबासीले अवरोध गर्नेहरुलाई कानुनी दायरामा ल्याएर भए पनि निर्माण अघि बढाउनुपर्ने माग गरेका छन् ।
सर्वपक्षीय छलफलले निस्केन समाधान
समस्या समाधानका लागि पटक पटक सर्वपक्षीय छलफल भए पनि अहिलेसम्म समाधान निस्केको छैन । सोमबार भएको सर्वपक्षीय छलफलमा पनि पाथीभराबासीले अडान नछोडेपछि समस्या झन बढेको छ ।
सडक निर्माण सुचारु गर्न पुनः सर्वपक्षीय भेला गरेर अवरुद्द सडक निर्माणलाई सुचारु गर्न पहल गरिने सडक आयोजनाका प्रमुख इन्जिनियर सत्येन्द्र शाक्यले बताए । उनले सडक निर्माण भएको अवरोध हटाउन प्रजिअ विष्णुकार्कीसहितले पहल जारी राखेको जानकारी दिए ।
सोमबार खाँदवारीमा भएको भेलामा पाथीभराबासीले यो सडकले आफूहरुलाई कुनै फाइदा नहुने भन्दै आक्रोश पोखेका थिए । कार्यक्रममा संयोजक राईले सडक राष्ट्रिय हितमा भए पनि ठेकेदार र सडक विभागले मनोमानी गरेर अन्यत्रैबाट लान खोजिएकाले आफूहरुको माग सुनुवाई नभए रगत बगाउन तयार रहेको चेतावनी दिए ।
पाथीभराबासीले सलबहादुर राईको संयोजकत्वमा आन्दोलन समिति गठन गरेर पहिले सर्भे भएको रुटबाट सडक नखनिए अवरोध नखोल्ने बताउँदै आएका छन् । सडक विभागका कर्मचारी र इन्जिनियर र स्थानीयको मिलेमतोमा सडकलाई सर्भे भन्दा बाहिरबाट लगेर खेतबारी मास्ने षड्यन्त्र गरेको आन्दोलन समितिका संयोजक राईले आरोप लगाए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments