तातोपानीको बाटो : नेपालतर्फ रामराम ! चीनतर्फ ‘नो जाम’
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२८ पुस, काठमाडौं । ‘सडकको अवस्था अत्यन्त दयनीय छ, सधैं ज्यानको बाजी राखेर गाडी चलाउनुपर्छ’ तातोपानी भन्सारका एकजना कन्टेनर चालकले भने– ‘जसको सरकार आए पनि दर्दनाक अवस्थामा रहेको सडक बनाउन कसैले प्रयास गरेनन् ।’
साँघुरो तथा जीर्ण सडकमा ठूला–ठूला कन्टेनरहरु चलाउन निकै समस्या हुने गरेको ती चालकको गुनासो थियो । उनले पंक्तिकारसँग भनेका थिए– ‘तातोपानी नाकासम्म पुग्ने बाटो फराकिलो बन्ला र सहजरुपमा गाडी चलाउन पाइएला भन्दै कुरेको वर्षौं भइसकेको छ ।’
यी चालक त केवल प्रतिनिधि पात्र हुन् । उनीजस्ता धेरै चालकले काठमाडौं तातोपानी सडक खण्डमा गाडी चलाउँदा यस्तै समस्या भोगिरहेका छन् । एउटा गाडी पनि राम्रोसँग चलाउन नमिल्ने साँघुरो सडकमा दुईतर्फी गाडी चलाउनुपर्ने बाध्यता छ ।
चीन नेपालको मूख्य व्यापारिक मुलुक हो । नेपालले आयात व्यापार गर्ने देशहरुमध्ये भारतपछि चीन दोस्रो स्थानमा पर्छ । चीनसँग जोडिएको व्यापारिक नाका तातोपानी पुग्ने सडकको अवस्था कहालीलाग्दो छ ।
चीनबाट दैनिक १८ देखि २३ करोड रुपैयाँ बराबरको वस्तु नेपालले आयात गर्दै आएको छ । त्यहाँबाट आयात गरिने अधिकांश वस्तुहरु तातोपानी नाका हुँदै नेपाल भित्रिने गरेका छन् । चीनको खासा बजारबाट तातोपानी नाका हुँदै दैनिक ५०/६० कन्टेनरले समान ओसार्ने काम गरिरहेका हुन्छन् ।
उक्त सडक खाडीचौरसम्म राम्रो भएपनि त्यहाँबाट तातोपानीसम्म निकै साँघुरो र भत्किएको अवस्थामा रहेको छ । ‘मुख्य व्यापारिक मार्ग बनाउन सरकारले कुनै चासो नदेखाएको नेपाल चीन मितेरी व्यापार संघका अध्यक्ष बहादुर शेर्पाले बताए ।
चीनलाई बाटो बनाउन रोकावट
‘सिजन नहुँदा दैनिक ४० वटासम्म र सिजनमा सय वटासम्म कन्टेनरले खासाबाट काठमाडौंमा सामान ओसार्छन्’ मितेरी व्यापार संघका अध्यक्ष शेर्पालेभने– ‘यहाँको बाटो बनाउन सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी तगारो बन्दै आएका छन् ।’ प्रजिअले विभिन्न बखेडा झिकेर सडक बनाउनबाट रोक्ने गरेको उनले अनलाइनखबरसँग गुनासो गरे ।
चीनले मितेरी पुलदेखि नेपालतर्फ ८ किलोमिटर सडक फराकिलो बनाउन लागेको छ । उक्त कार्यमा स्थानीय युवा संगठन र प्रजिअ मिलेर असहजता पैदा गरिदिएको अध्यक्ष शेर्पाले आरोप लगाए ।
चीनले ४ अर्ब लगानीमा नेपालमा सुख्खा बन्दरगाह र त्यहाँसम्म आउने सडक चौडा बनाइदिन लागेको छ । सडक चौडा बनाउँदा तातोपानीमा रहेका घरहरु भत्काउनुपर्ने भएकाले स्थानीय युवा संगठनहरुले प्रमुख जिल्ला अधिकारीसँग मिलेर बाटो नाप्न नै अबरोध गरेको शेर्पाको भनाइ छ ।
अहिले तातोपानी सडकमा दुईवटा गाडी जम्काभेट हुँदा पार गराउन निकै समस्या हुने गरेको छ । साँघुरो सडकका कारण तातोपानीमा सधैँ जाम हुने गरेको छ । नेपाल–चीन मितेरी पुल तर्नेवित्तिकै चीनमा दोहोरो गाडी चलाउन मिल्ने ठूलो र राम्रो सडक छ, नेपालतर्फ भने चालकले राम–राम भन्दै गाडी चलाउनुपर्ने अवस्था छ ।
‘मितेरी पुलबाट खासासम्म कहिल्यै गाडीको जाम हुँदैन, तातोपानीमा बाटो खुलेको कहिल्लै देख्न पाइँदैन’ पोतला होटलका सञ्चालकले भने– ‘ब्यापारिक सहजताका लागि बाटोको सुधार अत्यावश्यक रहेको छ ।’
चीनलाई सहजरुपमा काम गर्ने वातावरण बनाइदिएमा अबको एक वर्षमा त्यहाँको ८ किलोमिटर सडक फराकिलो बनिसक्ने छ । तर, बाटो फराकिलो बनाउन प्रशासन र स्थानीय युवाहरु बाधक बन्दै आइरहेको चालकहरुको गुनासो छ ।
बाटोभरि कन्टेनर हुने हुँदा सर्वसाधारणलाई समेत हिँडडुल गर्न कठिनाइ हुने गरेको छ । खासामा किनमेल तथा घुमफिरका लागि दैनिक सयौं सर्वसाधारण त्यसतर्फ जाने गरेका छन् ।
कन्टेनरमात्र नभई बस, मोटरसाइकल, कार, अन्य प्राईभेट पिकअप गाडीहरु ठूलो संख्यामा तातोपानी पुग्ने गर्छन् । जसले गर्दा काठमाडौं तातोपानी सडक सधै व्यस्त हुने गरेको छ ।
नेपाल व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा चीनबाट २२ अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । साथै, नेपालबाट ७९ करोड रुपैयाँ बराबरको वस्तु चीनमा निर्यात भएको छ ।
उक्त बाटोको स्तरोन्नति गर्न सकेमा चीनमा नेपालको व्यापार बढ्ने नेपाल चाइना चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् । पटक–पटक बाटो विस्तार गर्न आग्रह गर्दा पनि सरकारले नटेरेको उनको पनि गुनासो छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News





0 comments