यस्तो छ आङ सान सू कीको भित्री कथा
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
धेरैलाई थाहा नहुन सक्छ, आङ सान सू कीको नाम मात्र छ, थर छैन । उनको नाम तीनजना आफन्तको नामबाट जुराइएको छ । आङ सान उनको बुवाको नामबाट, सू उनको हजुरआमाको नामबाट र की आफ्नो आमाको नामबाट लिएर उनको नाम आङ सान सू की जुराइएको हो । बर्मेलीहरु सू कीलाई ड सू तथा एमी सू की भनेर चिन्छन्, ड को अर्थ काकी तथा एमीको अर्थ आमा भन्ने हुन्छ ।
आङ सान सू की विश्व प्रजातन्त्रवादी आन्दोलनमा गर्विलो नाम हो । नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी प्रजातन्त्रवादी नेतृ सू की विश्वमा सबैभन्दा लामो समय जेलपर्ने मध्येकी एक राजनेता हुन्, जसले सन् १९८९ देखि २०१० सम्मको अवधिमा पटक-पटक गरेर १५ वर्ष नजरबन्दमा बिताइन् ।
सन् १९४५ जुन १९ मा आमा खिक की तथा बुवा आङ सानको कोखबाट रंगुनमा जन्मिएकी सू कीका बुबाले बर्मालाई बेलायतको औपनिवेशबाट स्वतन्त्र बनाउनका लागि आधुनिक बर्मेली सेनाको स्थापना गरेका थिए । सन् १९४७ मा उनको हत्या भयो ।
सू कीकी आमा खिन की बर्माकी तत्कालीन समयकी चर्चित नेतृ थिइन् र मन्त्रीसमेत भइन् । उनी भारत तथा नेपालका लागि समेत राजदूत बनेकी थिइन् । आमासँगै सू की नेपाल पनि आएकी थिइन् । अध्ययनका क्रममा अमेरिकामा भेट भएका डाक्टर माइकल एरिससँग सु कीको सन् १९७१ मा बिहे भयो । उनले सन् १९७१ र १९७७ मा दुई छोरा जन्माइन् ।
सन् १९८८ मा सू की बर्मा फर्किइन् र बर्मामै बस्न थालिन् । तर उनका श्रीमानलाई सन् १९९५ देखि बर्माको सैनिक शासकले बर्मा आउन प्रतिबन्ध लगाएपछि सू की र उनका श्रीमान एरिसबीच भेट हुन पाएन र सन् १९९५ को क्रिसमसको त्यो भेट नै अन्तिम भयो ।
क्यान्सर रोगबाट ग्रसित एरिसको सन् १९९९ मा निधन भयो । सू की नजरबन्दमा परेपछि उनका श्रीमानले केवल पाँच पटकमात्र उनीसँग भेट गर्न पाएका थिए । लण्डनमा रहेका सू कीका छोराहरुले सन् २०११ पछिमात्र आमालाई भेट्न पाए । सन् २०१० को नोभेम्बर १३ मा जुन्ता सरकारले सू कीलाई नजरबन्दबाट मुक्त गरेको थियो ।
सन् १९८८ मा सू की स्वेदश फर्केसँगै त्यहाँका सैनिक शासक नि विनले राजीनामा दिएपछि बर्मामा प्रजातन्त्रप्रेमीहरुले विशाल प्रदर्शन सुरु गरे । सू कीले ती प्रदर्शहरुमा सहभागी भई सम्बोधन पनि गरिन् । तर, केही महिनापछि नै सैनिक शासक जुन्ताले फेरि शासन हत्याए । २७ सेप्टेम्बर १९८८ मा उनले नेसनल लिग फर डेमोक्रेसीको स्थापना गरी बर्मामा प्रजातन्त्र प्राप्तिका लागि होमिइन् । तर, जुन्ता सरकारले सन् १९८९ को जुलाई २० देखि उनलाई नजरबन्दमा राख्यो ।
सन् १९९० मा सैनिक जुन्ता सरकारले आम चुनावको घोषणा गर्यो । त्यो चुनावमा सू की को दल एनएलडीले ५९ प्रतिशत भोट तथा ८० प्रतिशत सिटहरु जित्यो । तर, जुन्ता सरकारले परिणाम अस्वीकार गर्यो र सत्ता हस्तान्तरण गरेन ।
सन् १९९६ को नोभेम्बर ६ मा सू कीमाथि सांघातिक हमला भयो । पार्टीका अरु सहकर्मीसँगै गाडीमा यात्रा गरिरहेका बेला एक भिडले उनको गाडीमा हमला गर्यो । धन्न सु की बच्न सफल भइन् । त्यो आक्रमण सरकार समर्थित युएसडीएले गरेको बताइन्छ ।
संयुक्त राष्ट्रसंघको पहलमा सू की र सरकार बीच वार्ता भएपछि सन् २००२ को मे ६ मा उनी नजरबन्दबाट मुक्त भइन् । तर, प्रायोजित भीडले उनीमाथि आक्रमण गरेपछि उनलाई सरकारले फेरि पक्राउ गरेर जेलमा राख्यो र केही समयपछि फेरि आफ्नै घरमा नजरबन्दमा राख्यो ।
सन् २००९ मा एक अमेरिकी नागरिक उनको घरमा छिरेको अभियोगमा उनलाई पक्राउ गरी इन्सेन जेलमा राखियो । सोही वर्षको अगष्ट ९ मा उनीविरुद्ध अदालतले कडा श्रम सजायँसहित ३ वर्षको जेल सजायँ तोक्यो । अन्ततः चर्को अन्तराष्ट्रिय दबाबपछि जुन्ता सरकारले सन् २०१० को नोभेम्बर १३ मा सू कीलाई मुक्त गर्यो । यद्यपि उनलाई चुनावमा भाग लिनबाट बञ्चित गरियो ।
सन् २०१२ को उपनिर्वाचनमा भने उनी संसदीय सीटका लागि निर्वाचित भइन् । साथै उनको पार्टीले उपनिर्वाचनका ४५ सिटमध्ये ४३ मा जीत हात पार्यो । तर सू कीलगायत उनको दलका निर्वाचित सांसदले सपथमा भएको भाषाप्रति विरोध जनाउँदै सपथ लिन मानेनन् । अन्ततः २ मे २०१२ मा सू की ले संासदको सपथ लिएर जुलाई ९ मा संसद बैठकमा सहभागी भइन् ।
सू कीलाई अन्तराष्ट्रिय मिडियाहरुले बर्माको आगामी राष्ट्रपतिको रुपमा उभ्याएका भए पनि त्यहाँको संविधानले उनलाई राष्ट्रप्रमुख हुनबाट बञ्चित गरेको छ । परिवारका कुनै पनि सदस्य विदेशी नागरिक भएमा त्यो व्यक्ति बर्माको राष्ट्रपति हुन पाउँदैन । सूकीका छोरा तथा श्रीमान विदेशी नागरिक हुन् ।
सन् १९९१ की नोबेल पुरस्कार विजेता सू कीले सन् १९९२ मा जवाहरलाल नेहरु पुरस्कार, राफ्टो पुरस्कार, साकारोभ स्वतन्त्रता पुरस्कार, भेनेजुयलाको सिमोन बोलिभर पुरस्कार, अमेरिकाको कंग्रेसको स्वर्ण पदकका साथै राष्ट्रपति स्वतन्त्रता पदक समेत प्राप्त गरेकी छिन् । उनी क्यानडाको सम्मानार्थ नागरिकता पाउने विश्वका ४ जना व्यक्तिमध्ये एक हुन् ।
अन्त्यमा, सु कीले भनेकी छन्- मानिसलाई शक्ति होइन, डरले भ्रष्ट बनाउँछ । शक्ति गुमाउने डरका कारण त्यो मानिस भ्रष्ट बन्छ, जसले शक्तिको प्रयोग गरिरहेको हुन्छ । शक्तिको दुरुपयोग हुने डरका कारण त्यो मानिस भ्रष्ट बन्छ जसका प्रति शक्ति प्रयोग हुनेवाला छ ।’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments