Hindi Films

धर्म निरपेक्ष संविधान आए मै पहिले जलाउँछु : खुमबहादुर खड्का

Unknown | 01:01 | 0 comments

काठमाडौं : नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले दोस्रो संविधान सभाले बनाउने नयाँ संविधानमा 'धर्म निरपेक्ष राष्ट्र नेपाल' लेखिए संविधान जलाउने व्यक्ति आफू पहिलो हुने बताएका छन्। सनातन हिन्दु राष्ट्र नेपाल नागरिक संघर्ष समिति ओमकार परिवार नेपालले मंगलबार राजधानीमा आयोजना गरेको 'सनातन हिन्दु राष्ट्र नेपाल कायम गरौं' विषयक अन्तक्र्रियामा पूर्वमन्त्री खड्काले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले भने, 'पूर्वप्रधानमन्त्री एवं पूर्वकांग्रेससभापति गिरिजाप्रसाद कोइरालाले पुल्पुल्याएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको इशारामा र पैसाको प्रलोभनमा परी नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेका हुन्। न १२ बुँदे सहमतिमा धर्म निरपेक्ष र धर्मको कुरो कतै उल्लेख छ।' कांग्रेसका पूर्वनेता कृष्णप्रसाद भट्टराईले पनि धर्म निरपेक्षका बारेमा असहमति जनाएको स्मरण गर्दै भने, 'कांग्रेसले बेलैमा हिन्दू राष्ट्रलाई स्वीकार गरोस् नत्र पछुताउनु पर्नेछ, जनमत संग्रहका लागि पनि तयार होस्।' पूर्वप्रधानसेनापति रूक्मांगत कट्वालले राजनीतिक दलहरूले नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनेर घोषणा गर्दैमा त्यो नहुने दाबी गरे। उनले भने, '९५ प्रतिशत ओमकार परिवारले हिन्दु धर्मलाई सम्मान गरेका छन् र यसभित्र अन्य धर्म पनि रमाएकै अवस्था थियो। दलहरूले जनताको विचार नबुझी घोषणा गरेर राष्ट्रघाती काम गरेका हुन्।' अनादिकालदेखि हिन्दू धर्म मानिँदै आएकोले क्षणिक निर्णय कसैलाई मान्य नहुने भन्दै उनले थपे, 'दुर्गम गाउँहरूमा क्रिश्चियनले गरिब र अबोध मानिसलाई पैसाको प्रलोभनमा पारी धर्म परिवर्तन गराउने काम गरिरहेका छन्।' पूर्वमन्त्री एवं एमालेनेता मोदनाथ प्रश्रितले नेपाललाई जनताको इच्छाविपरित धर्म निरपेक्ष घोषणा गरेर आफ्नो खाल्डो आफैंले खनेको बताए। उनले भने, 'रूढीवादी संस्कृति जोगाएरचाँही हामी हिन्दु पनि अब अघि बढ्न सक्दैनौं तर नेताहरूको अवसरवादी चरित्रबाट पनि हाम्रो धर्म, संस्कार र संस्कृति जोगिँदैन।' बुबा नारायणलाई मार्ने र छोरा दिनबन्धु पोखरेललाई भागवत पढ्न लगाएर अस्पताल बनाउने प्रचण्डको दोधारे चरित्र भन्दै उनले भने, 'पश्चिमको पैसा खाएर इसाई धर्मको प्रचारप्रसारका लागि प्रचण्ड नायक बनेर मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा भएको हो।' कार्यक्रममा नेपाल धर्म निरपेक्ष राज्य हुनु संभव छ? शीर्षकमा प्रश्रितले कार्यपत्र प्रस्तुत गरेका थिए। अर्का वक्ता कुमार रेग्मीले हिन्दु र बौद्ध धर्मको अस्तित्व निस्तेज पार्न नेताहरूले षडयन्त्रमूलक ढंगबाट नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको दाबी गरे।

Category: ,

0 comments