लायक केटा भेटेकी छैन : नायिका प्रियंका
![]() |
सुरेश भुसाल
२९ असोज, काठमाडौं । प्रियंका कार्की पछिल्लो समय चल्तीकी नायिका हुन् । कहिले उत्तेजक अन्तरवार्ता त कहिले भित्री बस्त्रका कारण उनी बेलाबेला विवादमा आउँछिन् ।
सय बढी म्युजिक भिडियो र दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी नायिका प्रियंका फिल्म मार्केटकी आशलाग्दी नायिका हुन् । नेपाली चलचित्र क्षेत्र र आफ्नो व्यक्तिगत जीवनबारे अनलाइनखबरसँग लामो कुरा गर्ने क्रममा नायिका प्रियंकाले नेपाली चलचित्रको भविश्य राम्रो रहेको बताइन् । तर, जसले पनि चलचित्र बनाउने गरेकाले राम्रा चलचित्र छायाँमा परेको उनको गुनासो छ ।
‘डाक्टर बन्न, पाइलट बन्न या अन्य कुनै पनि पेशामा सहभागी हुन निश्चित क्राइटेरिया पूरा गर्नुपर्छ भने फिल्ममा किन मापदण्ड नबनाउने ?’ प्रियंका भन्छिन्, ‘फिल्म बनाउनका लागि पनि निश्चित योग्यता तोक्नुपर्छ ।’
पहिले डबल, अहिले सिंगल
प्रियंका अहिले सिंगल छिन् । थुप्रै केटा साथी छन् उनका । तर, आफ्नो मनले खाएको तन्नेरी अहिलेसम्म भेटेकी छैनन् । थुप्रै प्रेम प्रताव आउने गरे पनि मन नपरेका कारण पन्छाउँदै आएकी छिन् ।
खासमा उनको पहिलो घरबार बिग्रेको हो । तर, पनि गुनासो छैन । प्रियंका भन्छिन् ‘एक अर्कालाई मन पराएर बिहे गर्यौं, एक अर्काको कुरा चित्त नबुझेपछि छुटियौं ।’
बैबाहिक सम्बन्धलाई विच्छेद गरे पनि बेला बेलामा पूर्व श्रीमानसँग कुरा हुने गरेको उनले बताइन् । उनी भन्छिन्-‘हाम्रो अहिले पनि बेला बेलामा कुरा हुन्छ ।’
उनको सम्बन्ध बिच्छेद भएको कुरा प्रियंका अभिनयमा सक्रिय भएपछि मात्रै सार्वजनिक भएको थियो । सम्बन्ध बिच्छेदकै कुराले केही बिबाद समेत झेलेकी प्रियंका बिबाह र सम्बन्ध बिच्छेदका कुरा लुकाएर नलुक्ने धारणा राख्छिन् । ‘सम्बन्ध विच्छेद कुनै गर्वको विषय होइन, त्यसकारण मैले मेरो सम्बन्ध बिच्छेद भयो भनेर हल्ला गर्दै हिँडिन । पछि थाहा भयो । यसमाप्रियंकाले बेलैमा भनिन् भन्नुको तुक छैन ।’
नेपाली समाजमा कतिले बिबाहलाई खुसी र सन्तुष्टिका माध्यम बनाएका छन् । यसमा प्रियंकाको विमति छैन । तर, सुख पाइन्छ भनेर बिबाह गर्नु गलत हो भन्ने लाग्छ उनलाई । भन्छिन्-‘खुसी भएर बिबाह गर्ने हो, खुसी पाइन्छ भनेर होइन ।’
साथीका छोराछोरी देख्दा औडाहा हुन्छ
आफ्नै उमेरका कति साथीहरु काखमा घोर्ले छोराछोरी लिएर हिंडेको देख्दा प्रियंकालाई भित्रभित्रै डाहा लागेर आउँदोरहेछ । उनी भन्छिन्-‘मेरो पनि यस्तै भैदिए कति रमाइलो हुन्थ्यो होला भन्ने मनमा आउँछ ।’ अहिलेसम्म हितैषीका छोराछोरी सुम्सुम्याएरै चित्त बुझाएकी छिन् ।
बिबाह र सम्बन्ध भन्ने कुरा देखेरमात्रै सम्भव नहुने रहेछ भन्ने प्रियंकालाई लागेको छ-‘कुनै दिन मेरो जीवनमा पनि कुनै पुरुष ठोकिन त आउँछ होला नि ।’ खाइलाग्दो ज्यान र दुईचार दिनको नम्र व्यवहार देखाएकै भरमा कुनै तन्नेरीलाई ‘आइ लभ यु’ भन्ने पक्षमा छैनन् उनी ।
केटा साथीहरुलाई पहिल्यै भन्ने गरेकी रहिछन् ‘मसँग लभसभ गर्ने फुर्सद छैन है ।’ यसो भन्नुको अर्थ फुसर्द नै नभएर होइन, मन पर्ने केटा नभेटेर हो रे ।
प्रियंकालाई बिबाहविना पनि जीवन चलाउन सकिन्छ भन्ने लागेको छ । तर, यसको अर्थ बिबाहप्रति पूरै ‘नेगेटिभ’ होइन । बिबाहका लागि आफुले भनेजस्तै पुरुष भेटिनै पर्छ भन्ने उनको अनुभव छ । त्यस्तो पुरुषले हरेक कुरामा साथ देओस् भन्ने उनको चाहना छ ।
कतिपय हिरोइनहरु बिबाहपछि अभिनयमा निस्क्रिय रहेकाले नेपाली समाजमा एउटा मान्यता स्थापित छ ‘बिबाहले कलाकारको क्रेज घटाउँछ । तर, पि्रयंका यो मान्यताँंग सहमत छैनन् । उनको बुझाइमा कुनै पनि दर्शक फिल्म हेर्न जानु अगाडि त्यो कलाकारले बिबाह गरेको छ कि छैन, उसको बच्चा छ कि छैन भनेर बुझ्दैन । कलाकारको उमेर र अवस्थाले होइन कि अभिनयले दर्शक आकषिर्त हुन्छन् भन्ने उनको बुझाइ छ ।
पपुलर हुन पेन्टी देखाएकी होइन

‘त्यो फोटो सार्वजनिक भएपछि सार्वजनिक कार्यक्रममा जाँदा ड्रेसअपमा सचेत हुन थालेकी छु’- उनले भनिन् ।
कतिपय मिडियामा पपुलर बन्न प्रियंकाले पेन्टी हतियार अपनाएको भन्दै समाचार छापेकोमा उनलाई चित्त दुखेको छ । उनले भनिन्-‘त्यस्तो होला भन्ने मैले सोचेकै थिइँन । खुट्टा दुखेर बसाइ परिवर्तन गरिरहेका बेलामा फोटो क्लिक भएछ । स्कर्टभित्रको बस्त्र देखिनु त्यो मेरो गल्ती थियो, अबदेखि सजग भएकी छु ।’
कतिपय मिडियाले पेन्टीको मात्रै फोटोलाई जुम गरेर राखिदिँदा उनलाई रिस उठेको रहेछ । उनले भनिन्- हामी प्रायः कामको तनावमै हुन्छौं । यस्ता कुराको याद गरिँदैन, पछिमात्रै थाहा हुन्छ । हाम्रो पेसामा मन रोएको भए पनि क्यामेरामा हाँस्न सक्नुपर्छ ।’
प्रियंकालाई स्कर्ट लगाउँदा अनुशासित भइन्छजस्तो लाग्छ । उनी प्राय कार्यक्रममा स्कर्टमै पुग्छिन् । तर, केटी मान्छेलाई सारीमा स्मार्ट देखिने उनको बुझाइ छ ।
ग्ल्यामर भूमिकाका लागि आपत्ति छैन
स्क्रिप्टले पुष्टि गरेको छ भने कुनै भूमिका सहजै निर्वाह गरिदिन्छिन् उनी । ‘सिन जतिसुकै ग्ल्यामरस होस्, मलाई कुनै आपत्ति छैन । तर, स्त्रिmप्टले जस्टिफाइड गरेको हुनुपर्छ’ उनले भनिन् । तर, प्रतिस्पर्धा वा चर्चामा आउनकै लागि भद्दा अभिनय नगर्ने दाबी गरिन् ।
मलाई मिडियाले बहिस्कार गरे
पब्लिक फिगर भएपछि ‘गसिप’को सामना गर्नुपर्छ भन्नेमा उनी सचेत छिन् । तर, कतिपय मिडियाले गसिपको बहानामा कलाकारको ब्यक्तित्वमै असर पारेको आरोप लगाउनसमेत पछि परिनन् उनी ।
पेन्टी देखिएको तस्बिर प्रकाशित भएकै विषयमा फेसबुकमा चर्को स्टाटस लेखेकी प्रियंकाले केही मिडियाले आफुलाई बहिस्कार गरेको बताइन् । यस्ता घटना हुनुमा कलाकर्मीवीच समन्वयको अभाव हो भन्छिन् उनी ।
बलिउड अभिनेत्री दीपिका पादुकोणको टाइम्स अफ इण्डियाले ट्वीट गरेको विषयमा आम चलचित्रकर्मीले दीपिकाको पक्षमा दबाव दिएको सुनाउँदै प्रियंका भन्छिन्-‘हाम्रो अलिकति नयाँ केही गर्न खोज्यो भने पनि प्रोत्साहन गर्ने कोही छैन ।’ फेसबुकमा उनले लेखेको स्टाटस लाइक गरेका कारण केकी अधिकारीलाई समेत केही मिडियाले छेउ लगाएकामा उनलाई दुःख लागेको छ ।
एकबारको जुनी रमाएरै बिताउनुपर्छ
जो मान्छे खुसी हुन्छ । उही नै सबैभन्दा सुखी हो भन्ने लाग्छ उनलाई । ‘एकबारको जुनी हो, सक्दो धेरै रमाउन सक्नुपर्छ, कहिल्यै पनि मनमा कुरा खेलाएर भित्रभित्र गुम्सिएर बस्न हुँदैन ।’
उनले कहिल्यै कुनै कुराको तनाब लिइनन् रे । बैबाहिक सम्बन्ध बिच्छेदको एउटा कारण त्यही हो रे । ‘बिबाह गरेपछि अलि बढी तनाब भयो । बिबाह र अभिनयलाई सँगै लैजान सक्ने स्थिति नभएपछि बिबाह त्यागें’-उनले सम्बन्ध बिच्छेदको खास कारण खोलिन् ।
अहिले निकै हाइसन्चो भएको छ उनलाई । सुटिङमा जानु अगाडि बाबा मम्मीलाई भन्ने गरेकी छिन् ‘म यो फिल्मका लागि यो ठाउँमा सुटिङमा जाँदै छुु, यति घण्टापछि मात्रै आउँछु ।’ बाबा मम्मीले सधैं भन्ने गर्नु हुँदो रहेछ ‘हुन्छ राम्रोसँग जाउ, आफ्नो केयर गर ।’
हिरोइन नै बन्ने रहर थियो
आफूलाई नक्कली केटी भन्न चाहन्छिन् उनी । सानो असाध्यै नक्कली थिइन् रे । ‘धेरै सिंगारपटार गरिरहन पर्ने, कपाल बनाउन पर्ने, ऐना हेरिरहने, म निकै उत्ताउली थिएँ सानोमा ।’ उनले हाँस्दै भनिन् ।
प्रियंकाको मनमा हर समय हिरोइन बन्छु भन्ने रहेछ । हिरोइन नबनेको भए डान्सर हुन्थें होला भन्ने उनी नेपालमा डान्सरको भविश्य देख्दिनन् । उनका एकजना भाइ अमेरिकामा पढ्दैछन् । घरमा बाबुआमाको साथी उनी मात्रै हुन् । त्यसकारण पुल्पुलिएकी छिन् रे । ‘एक्ली छोरी भएकीले पनि होला, म अलि बढी पुल्पुलिएकी छु ।’ एक्लो हुँदाको फाइदाको कुरा गरिन् ।
फिल्म नियन्त्रण गर्नुपर्छ
नेपाली फिल्मको ब्यापार चौपट भयो भन्दै टाउकामा हात राख्नेहरु बढ्दै गएका छन् हरेक वर्ष । यो स्थितिबारे जानकार प्रियंकालाई लाग्छ, ‘साँच्चै राम्रो गर्ने हो भने जसले पनि फिल्म बनाउने चलन रोक्नुपर्छ ।
डाक्टर बन्न, पाइलट बन्न या अन्य कुनै पनि पेशामा सहभागी हुन निश्चित क्राइटेरिया पूरा गर्नुपर्छ भने फिल्ममा किन मापदण्ड नबनाउने ? फिल्म बनाउनका लागि पनि निश्चित योग्यता तोक्नुपर्ने उनको तर्क छ ।
कमजोर फिल्मको बाढीले केही राम्रा फिल्मलाई समेत बगाएको धारणा राख्ने प्रियंका पछिल्लो समयका निर्देशकलाई बुझिने फिल्म बनाउन सुझाव दिन्छिन् । कतिपय निर्देशकले आफैले नबुझ्ने फिल्म बनाएको उनलाई चित्त बुझेको रहेनछ । त्यस्ता फिल्मको ट्रेलर राम्रो भए पनि फिल्म कमजोर भएकाले दर्शक बिच्किएको बुझेकी छिन् उनले ।
नेपाली फिल्मको भविष्य उज्जवल छ
एउटा सामान्य हिन्दी फिल्मले करोड बढी कमाइ गरेको घटनाबाट नेपाली निर्देशकले पाठ सिक्नुपर्ने बताइन् । नेपालमा सिनेमाको बजार छैन भन्ने कुरामा उनि कहिल्यै सहमत हुन सक्दिनन् । उनको बुझाइमा नेपालमा मनोरञ्जनको माध्यम असाध्यै कम छ । फनपार्क, वाटरपार्क लगायत मनोरञ्जनका अरु धेरै विकल्पको अभाव छ हामी कहाँ ।
तर, सिनेमा हल प्रसस्त छ र मनोरञ्जन लिन चाहनेहरु पनि प्रसस्तै छन् । ती दर्शकलाई ध्यान दिएर फिल्म बनाउने हो भने प्रशस्त कमाइ हुन्छ भन्ने लाग्छ उनलाई ।
![]() |
Category: News
0 comments