Hindi Films

जेलनेल भोगे, मृत्यु भोग्न बाँकी छ, कसैको डर छैन: गोपाल बुढाथोकी

Unknown | 01:47 | 0 comments

(गोपाल बुढाथोकी नेपाली पत्रकारिता क्षेत्रको सुपरिचित नाम हो । उनी साप्ताहिक पत्रिकाका थालनीकर्ता हुन् । उनी साप्ताहिक पत्रिकालाई नेपाली पत्रकारिताको विश्वविद्यालय भन्छन् । यस अर्थमा उनी नेपाली पत्रकारिता क्षेत्रका सिनियर प्राफेसर हुन् । नेपाली पत्रकारिताका चालीसवर्षे अवधिमा उनले र समकालीन पत्रकारिता क्षेत्रले झेल्नुपरेका समस्याहरुमा केन्द्रीत रहेर गरिएको कुराकानीमा आधारित रहेर तयार पारिएको महत्वपूर्ण सामग्री यहाँ प्रस्तुत गरिएको छ )
खुकुरीको धारमा पत्रकारिता २०३३ सालबाट म नेपाली पत्रकारिता क्षेत्रमा आएँ । त्यसबेला दुई चारवटा साप्ताहिक पत्रिका र बहुदलीय व्यवस्थाको पक्षमा देखिने पत्रिकाहरु थिए । प्रजातान्त्रिक विचारधारा र प्रगतिशील विचारधारमा त्यस्ता पत्रिकाहरुको पक्षपोषण देखिन्थ्यो । यी दुवै धारका पत्रिकाहरुको उद्देश्य के थियो भने देशमा प्रजातन्त्रको बहाली गर्ने र व्यक्तिको वाक स्वतन्त्रताको ग्यारेन्टी गर्ने । निकै डराई–डराई काँपेर त्यस्तो पत्रकारिता गरिन्थ्यो । निरंकुश पञ्चायती शासनकालमा खुकुरीको धारमा रहेर पत्रकारिता गर्नुपर्दथ्यो । सपनाले भोक मेटिन्थो मेरो त्यसबेला २२ वर्षको उमेर थियो । मैले पत्रकारिता जनजागृति साप्ताहिक र तर्क साप्ताहिकबाट सुरु गरेँ । त्यतिबेला तलब भन्ने हुँदैनथ्यो । खान र बस्नको लागि मालिकहरु वा सम्पादकहरुले सय पचास दिए भने पनि धेरै खुशी हुने स्थिति रहन्थ्यो । भोकभोकै पनि हिंडिन्थ्यो । मनमा जोश हुन्थ्यो कि देशमा प्रजातन्त्र कसो नआउला त भन्ने ? त्यतिखेर भोक नै सपनाले मेट्ने गर्दथ्यो । प्रजातन्त्रको सपना । पञ्चायतका विरुद्ध आगो बालियो ०३५ सालमा दुई तीन जना साथीहरु मिलेर आफैले अर्धभूमिगत रुपमा प्रजातन्त्र स्थापनाका लागि भूमिका खेल्ने सोचका साथ मेरो नाममा साँघु पत्रिका दर्ता गरियो । त्यतिखेर समाचार वा विचारमूलक पत्रिकालाई दर्ताको छुट थिएन । साहित्यिक पत्रिकालाई मात्र प्रकाशनका लागि छुट दिइन्थ्यो । हामीले साँघु मासिक भनेर दर्ता ग¥यौं । तर चलाखीपूर्वक र सावधानीपूर्वक पत्रिका साप्ताहिक रुपमा निकाल्न थाल्यौं । त्रिशुली छापाखानामा छापिन्थ्यो । पत्रिकाको कार्यालय हाम्रो खल्तीमा हुन्थ्यो । वरिष्ठ पत्रकार प्रेम कैदी, तारा न्यौपाने, गोपाल शिवाकोटी, शंकर कार्की र मसहितको एउटा राम्रो भूमिगत टिम बनाइयो । जसले पञ्चायतका विरुद्ध आगो बालेर पत्रिका निकाल्ने काम ग¥यो । हामीले पत्रिका सुरु गर्दा मान्छेहरुले पत्याएका थिएनन् । ‘कस्ता कस्ता आए, गुलेली खेलाए, गए’ भन्थे । तर हामी पञ्चायतका विरुद्ध प्रजातन्त्र स्थापनाका लागि प्रगतिशील विचार बोकेर हामी पत्रकारिता क्षेत्रमा अहोरात्र डटिरह्यौं । हाम्रो कार्यशैली यति भूमिगत थियो कि हामी को कहाँ सुत्छौं, कहाँ खान्छौं र के गर्छौैं भन्ने नै कसैलाई थाहा हुँदैनथ्यो । ७५ पैसाले दालभात खान पुग्थ्यो त्यसबेला सबै हातले कम्पोज गर्नुपथ्र्यो । सात घुम्तीमा राजेन्द्र मैनालीको लक्ष्मी प्रिन्टिङ प्रेस थियो । उहाँले पत्रिका छाप्ने हिम्मत गरेर हामीलाई ठूलो सहयोग पु¥याउनु भयो । रातभरि पत्रिका छाप्ने, ठेलागाडामा विहानै पत्रिका न्यूरोडमा पठाइदिने र ढुक्क भएर बस्ने गथ्र्यौं । पत्रिकाको मूल्य ७५ पैसा मात्र थियो । तर पनि हामीलाई दालभात खान, कागज किन्न र पत्रिका निकाल्नलाई खर्च पुग्थ्यो । हामीलाई कसैले विज्ञापन दिने कुरै थिएन । कसैसँग गएर परिचय गर्ने, चिनजान गर्ने स्थिति नै थिएन । २०३९ सालमा जनमत संग्रह पश्चात सुधारिएको पञ्चायती व्यवस्था आएपछि सूर्यबहादुर थापा प्रधानमन्त्री भए । त्यसपछि समाचारमूलक साप्ताहिक पत्रिका दर्ता खुल्यो । ०३९ सालमा हामीले औपचारिक रुपमा साँघुलाई साप्ताहिक पत्रिकाको रुपमा दर्ता ग¥यौं । धम्की र जेलनेलबाट अविचलित पोखरामा घटेको नमिता–सुनिता हत्याकाण्डको निरन्तर हामीले भण्डाफोर ग¥यौं । स्थलगत रिपोर्टहरु छाप्यौं । अहिले पनि रेकर्ड हेर्न सकिन्छ । राज दरबारका गुण्डाहरुका विरुद्ध हामीले जेहाद् छेड्यों । मान्छेहरुले भने, ‘तिमीहरुलाई पनि गोली ठोकेर मान्र्छन् ।’ तर हामी त्यसबाट रत्तिभर पनि विचलित भएनौं । त्यही समाचारका कारण दुईतीन पटक अञ्चलाधिशले मलाई पक्राउ गरेर थुन्यो पनि । जतिपटक पक्रे पनि हुनमान ढोकामै आमरण अनसन बस्ने, थुनाबाट निस्कने । यस्तै क्रम चलिरह्यो । त्यतिखेर मानवअधिकारवादी भन्नेहरुको नाम पनि सुनिदैनथ्यो । विविसी, आइएफजे भन्ने कुनै समाचार एजेन्सीको पनि पहुँच थिएन । नेपालमा के भइरहेको छ भन्ने बाँकी विश्वलाई केही थाहा हुँदैनथ्यो । त्यतिखेर हाम्रो पक्षमा बोल्ने कोही हुँदैनथ्यो । उल्टै अराष्ट्रिय तत्व, राजद्रोहीको आरोप लगाउँदै यसलाई त थुनेकै ठीक छ भनेर लेख्थे बाँकी पत्रपत्रिकाहरुले पनि । यसरी जीवनमरणको ख्याल नगरीकन हामी पत्रकारितामा आएका थियौं । उनीहरु प्रधामन्त्री/उपप्रधानमन्त्री भए हामी सडकमै छौं २०४१ सालमा साँघुको १०÷१२ हजार प्रति काठमाडौंमा मात्र हारालुछ हुन्थ्यो । ठेलागाडामा कागज ल्याएर ठेलागाडामै पत्रिका पठाउनु पथ्र्यो । त्यसबेला शिक्षक आन्दोलन भएको थियो । अहिलेका राजेन्द्र पाण्डेहरु शिक्षक थिए, प्रकाशमान सिंहहरु विध्यार्थी नेता थिए । अहिले उनीहरु त कोही प्रधानमन्त्री, कोही उपप्रधानमन्त्रीको हैसियतमा पुगे । हामी त अहिले पनि सडकमै छौं, जनताकै लागि पत्रकारिता गरिराखेका छौं । जब जेलसजायसँगै साँघुको दर्ता खारेजी भयो ०४१ सालमा पक्राउ पर्दा १ वर्ष कैद, ३ हजार जरिवाना र पत्रिकाको दर्ता खोरजी भयो । पञ्चायती तानाशाही कानूनले पनि के भनेको थियो भने ‘एउटै अपराधमा दुईवटा ऐन प्रयोग गर्न पाइदैन’ भनेको थ्यो । तर त्यसको उलंघन गर्दै मलाई राजकाज ऐन २०१९ को दफा १ र छापाखाना तथा प्रकाशन ऐन २०३९ लगाएर मेरो पत्रिकाको दर्ता खारेज पनि गरियो र जेल चलान पनि गरियो । त्यतिखेर तेजबहादुर प्रसाईं भन्ने अञ्चलाधिश थिए । एक वर्षको जेल सजाय काटेर निस्केपछि के गर्ने ? नशा लागेको छ अखबारको । पत्रिकको दर्ता खारेजी भइगयो । इन्द्रधनुष साप्ताहिक निकालेर पञ्चायतलाई ठोकेर लेखेँ । पछि अर्को रक्षक साप्ताहिक निकाले पनि पञ्चायतको धुलो काँडियो । कसैले केही गर्न सकेनन् । त्यसबेला कांग्रेसको राष्ट्रिय सम्मेलन हुँदा रक्षक पत्रिका विशेषांक निकालेको थिएँ । राष्ट्र पुकार साप्ताहिकले पनि सकेन विशेषांक निकाल्न । मलाई भिआइपी भनेर परिचय पत्र दिएको थियो । होटल सेराटनमा चन्द्रशेखरसँग मैले अन्तर्वार्ता लिएर छापेको थिएँ । बाहिर अर्जुन नरसिंह केसीहरु चन्द्रशेखरका विरुद्ध जुलुस निकाली रहेका थिए । केसी त्यसबेला नुवाकोटका जिल्ला पञ्चायतका सभापति थिए । चन्द्रशेखरले पञ्चायतका विरुद्ध बोल्यो भनेर उनीहरु नाराबाजी गरिरहेका थिए । हाम्रापछि सिआइडी त हो कति कति पञ्चायती कालरात्रीमा एउटा हंकङे कान्छा भन्ने तस्कर, गुण्डा थियो । उसले त मैले जति पत्रिका छाप्थे, त्यति नै पत्रिका उसले उठाएर लान्थ्यो । पुलिस प्रशासनका लागि हामी त ठूलो आतंककारी थियौं । पत्रिकामा हाम्रो कुनै ठेगाना हुँदैनथ्यो । ठेगाना राखेको भए कति धम्की आउँथे, छापाखाना कति चोटी जलाइसेकका हुन्थे । तुरुन्तै हत्कडी लगाएर पत्रकारितै गर्न दिने थिएन । त्रिशुली छापाखाना खोज्दै पञ्चायती पुलिसका सिआइडीहरु त्रिशुलीतिर जाँदा रहेछन् । पञ्चायत कालमै एउटा पुलिस नमस्कार गर्दै भेट्न आइरथ्योे, भन्दै थियो, दाइको पछि लाग्दा लाग्दा म त असइ भइरछु । म कृष्ण प्रणामी हो भन्थ्यो । ऊ समाचार दिने बहानामा मलाई भेट्ने गथ्र्यो । पाठकले माया गर्दाको आनन्दै छुट्टै पञ्चायतकालमा सबैभन्दा बढी प्रात्साहन हामीले पाठकहरुबाट पायौं । त्यतिखेर कतिबेला जेल परिने, हत्कडी लाग्ने, गोदाइ खाने हो भन्ने त्रास चौबिसै घण्टा भएपनि पाठकहरुको मायाले त्यसबेलाका पत्रकारितामा बडो आनन्द आउँथ्यो । त्यसबेला प्रिन्ट मिडियाको विकल्प नभएर पनि होला । पाठकहरुले साँघु पत्रिका धेरै नै पढ्थे । त्यसबेला दैनिक पत्रिकाको मूल्य २५ पैसा थियो । त्यसमा सम्पादकीय मात्रै खेलेको हुन्थ्यो, अरु सबै राससको समाचार राखिएको हुन्थ्यो । नवीन खबर, मदर ल्याण्ड, समाज, नयाँ समाज, नेपाल टाइम्सलगायतका दैनिक पत्रिका थिए । ०४६ सालसम्म साप्ताहिक पत्रिकाले नेपालको पत्रकारिताको क्षेत्रमा एउटा स्कूलको काम ग¥यो । पत्रकारिता सिक्नका लागि ०४६ सालपूर्वको पत्रकारिताले ठूलो मद्दत पु¥यायो । काला व्यापारीहरुले पत्रकारितामा हाम्फालेपछि २०४६ सालको परिवर्तनपछि हामीलाई लागेको थियो अब हामी सम्मानित पनि हुन्छौं, राज्यले अब पत्रकारिता गर्ने वातावरण पनि बनाइदिन्छ, हाम्रो जीवनमा अब दालभात तरकारी खान रोएर हिंड्नु पर्दैन र विहे गर्नका निम्ति पत्रकारका छोराछोरीले पनि पाउँछन् । तर यसको ठ्याक्कै उल्टो भयो । ०४६ सालको परिवर्तनसँगै नेपालको पत्रकारितामा राष्ट्रीय र अन्तर्राष्ट्रिय पुँजीपतिहरु हाम्फाले । तिनीहरुले कालो धनलाई सेतो पनि बनाए । कालो व्यापार गर्नेहरु पत्रकारितामा हाम्फालेर आए । साप्ताहिक पत्रिका नेपाली पत्रकारिताको विश्वविध्यालय अहिले पनि यहाँका मै हुँ भन्ने मिडियाहरुमा साप्ताहिक पत्रिकामा वर्षौ काम गरेकाहरु सम्पादक भएर चलाइरहेका छन् । खोई यिनीहरुले पत्रकार उत्पादन गरेको ? ०३३ सालतिरैबाट पत्रकारिता पढाइ सुरु भएपनि जतिपनि ठूला भनिएका प्रिन्ट तथा इलेक्ट्रोनिक मिडियाहरु छन्, सबैमा साप्ताहिक पत्रिकाहरुले उत्पादन गरेका पत्रकारहरुको बलियो उपस्थिति छ । सुधीर शर्मा, गुणराज लुइटेल, तिर्थ कोइराला, युवराज घिमिरे सबै साप्ताहिक पत्रिकाका उत्पादन हुन् । त्यस अर्थमा साप्ताहिक पत्रिका पत्रकारिताको विश्वविध्यालय हो । तर राज्यले हामीलाई तुच्छो मान्छ । हामीले प्रजातन्त्रका लागि नलडेका भए आज कान्तिपुर र नागरिक निस्किन्थ्यो ? आन्दोलनमा सँधै अगाडि तर हातल उस्तै ०६१ सालमा राजा ज्ञानेन्द्रले कू गर्दा कुन चाहिं पत्रिका लोकतन्त्रको पक्षमा आयो ? सबै जी हजुर गर्न थाले । तर हामीले पत्रिकामा सम्पादकीय नै नराखी विरोध जनाएर पत्रिका छाप्यौं । त्यसबेला पत्रकार महासंघको म उपसभापति थिएँ । हामीले शाही कदमका विरुद्ध जलुस निकाल्यौं । राजनीतिक पार्टीहरु भक्तपुरभन्दा उता जुलुस निकाल्न गए, हामीले रत्नपार्कमा जुलुस निकाल्यौं । मान्छेहरुले भने पनि ‘वास्तविक जनताका प्रतिनिधिहरु भनेका चाहिं पत्रकारहरु रहेछन् ।’ भन्नेहरुले पनि अहिले त विर्सिसके होलान् । साप्ताहिक पत्रिकाहरु एकजुट हुनुपर्छ, राज्यले हामीलाई थुन्छ, मुद्दा लगाउँछ, ५ लाख जरिवना गर्छ, भनेर हामीले साप्ताहिक पत्रिकाको सञ्जाल पनि खडा ग¥यौं । १३÷१४ वटा लोकतन्त्रका पक्षधरहरु साप्ताहिक पत्रिका मिलेर आन्दोलनमा एकपछि अर्को लाग्ने भनेर पनि अठोट ग¥यौं । र, आन्दोलन पनि गरियो । लोकतन्त्र पुनर्बहाली पनि गरियो तर हाम्रो बाँच्ने वातावरणको न बहाली भयो न पुनर्बहाली भयो । माओवादी जनयुद्धका बेला भोग्नुपरेको सास्ती माओवादीलाई राज्यले आतंककारी भनेर घोषणा ग¥यो । तर साँघु साप्ताहिकले कहिल्यै पनि माओवादीलाई आतंककारी भनेन । माओवादीले राजनीतिक विचार बोकेको छ । यसले जनताको जन, धन र सम्पत्तिको नष्ट गर्नु हुँदैन । त्यसो गर्छ भने यो आततायी संगठन हो भनेरसम्म त भन्यौं तर आतंककारी भनेनौं । उसले सामरिक युद्ध लडोस् हामी त्यसमा केही बोल्दैनौं । तर बस जलाउने, टेलिफोन टावर, विद्युत गृह, गाविस भवनमा पु¥याउने गरेको क्षतिका विरुद्ध सँधै साँघुले आवाज उठाइरह्यो । जनयुद्धको पक्षमा वकालत गर्ने र जनयुद्धसँगै भूमिगत रुपमा पत्रकारिता गरिरहेकाहरुको नवीकरण गर्ने कि नगर्ने भन्ने विषय पत्रकार महासंघमा उठ्यो । पिएलएको ड्रेस लगाएर हिंड्ने पत्रकारको नवीकरण गर्ने ? भनेर केही साथीहरु जंगिए । तर म एक्लैले त्यसको प्रतिरक्षा गरेँ । मैले भने, ‘पत्रकार हुन्, उसले के लुगा लगाउँछ भन्ने मुख्य कुरा होइन, उसले बन्दुक बोकेर हिंडेको छ कि पत्रकारिता गरेको छ ? त्यो मुख्य कुरा हो । उनीहरुले पत्रकारिता गरिरहेका छन् । त्यसैले नवीकरण गर्नुपर्छ ।’ र, नवीकरण गरियो । जनयुद्धकालमा पत्रिकामार्फत् दिएको सूचनाबाट धेरै बौद्धिक सर्कलका मान्छेहरुले पनि भन्थे, तपाईंहरुले दिएको सूचनाले धेरै ठूलो मद्दत पु¥याएको छ, जनयुद्धलाई बुझ्न, विश्लेषण गर्न । त्यसमा हामी कहिल्यै पनि पछि परेनौं । जब फिल्मी शैलीमा सेनाले गिरफ्तार ग¥यो … तत्कालीन सरकारले मलाई राती १० बजे बागबजारबाट अपहरण गर्यो, फिल्मी शैलीमा । यो ०५८ साल फाल्गुन १९ गतेको कुरा हो । पत्रिकाको काम सकेर घर जान लागेको थिएँ । भोक प्यासले भुतुक्कै भएको थिएँ । एउटा गाडी आएर मेरो अगाडि रोकियो । घड्याक घुडुक आर्लेर, घ्याम्म घेरा हालेर बन्दुक तेस्र्याए । ‘तपाईं गोपाल बुढाथोकी हो ?’ सोधे, ‘तपाईंहरु को हो ?’ मैले सोधेँ । उनीहरुले आर्मी हो भनेँ । आर्मी हो कि, माओवादी हो कि तस्कर हो, कसरी चिन्ने भनेपछि परिचय पत्र देखाउँदै ‘यी हामी आर्मी हो’ भने । मलाई आर्मीले समातेको छ भनेर कसैलाई देखेँ भने भन्छु भनेर उनीहरुलाई अल्मल्याउन खोजे तर सबैतिर बत्ति निभेको छ । कोही कतै भेटिएन । घरमा फोन गर्न पनि दिएनन् । उनीहरुले लगेर हरेक दिन मलाई माओवादीको बारेमा साध्यो । सुतेको ठाउँमा पनि कत्रो माओवादी ल्याएर ढालेको रहेछ सालेलाई बन्दुक ठोक्न पाए पनि हुन्थ्यो भनेर पनि भने । आँखामा पट्टि लगाएको थियो । हात डोरीले बाँधेको थियो । खानेबेलामा केही खुकुलो पारिदिन्थे । ट्वाइलेट जाँदा पनि आँखाको पट्टि खोलीदिंदैनथ्यो । खानेकुरा आधा काँचो आधा पाकेको हुन्थ्यो । उसले बयान लिंदा साध्थ्यो, महेश्वर दाहाल कहाँ छ ? ओम शर्मा के गर्दैछ ? गोविन्द आचार्य कहाँ छ ? ती सबै तेरा साथीभाइ हुन् । भट्टेडाँडाँमा माओवादीले आक्रमण गरेपछि प्रशासनले लगाएको जनादेशको कार्यालयको ताला तोड्ने तँ होस्, तँ माओवादी होस्, तेरो नेता प्रचण्ड कहाँ छ ? हरेक दिन मलाई यी बयान लिइन्थ्यो । कुट्न चाहिं नकुटे पनि आँखामा पट्टि बाँधेर मलाई जहाँ बयान दिइरहेका हुन्थे, त्यहाँ नजिकै मारे, मरेँ भनेको आवाज चाहिं सुनिन्थ्यो । चौविसौं दिन स्वयम्भूको हल चोक रहेको सशस्त्र प्रहरीको कार्यालयमा आँखाको आधा पट्टि खोलिदिएको थियो । अन्तिममा उनीहरुले भने, तपाईंले जुन खालको पत्रकारिता गरिरहनु भएको छ, यसबाट तपाईंले फेरि दुःख पाउनु हुन्छ, यस्तो पत्रकारिता नगर्नुस् । अहिले माओवादीलाई सहयोग पु¥याउने काम गरिराख्नु भएको छ । आर्मीको विरोधमा लेख्ने ? यस्तो काम बन्द गर्नुस् भनेर आतंकित पार्ने काम गरेका थिए । पछि २२/२३ जनाको एसएलआर हतियारधारी प्रहरीको घेरामा हालेर घरमा लगेर छाडिदिए । भ्रष्टचारीको जरोकिलो उखेल्छु, धम्कीदेखि डराउँदिन अहिले म भ्रष्टाचारीहरुको जरोकिलो उखल्ने भनेर लागिरहेको छु । मेरा विरुद्ध माइतीघरदेखि एअरपोर्टसम्म पाँचसातसयको जुलुस नै निस्क्यो । हत्या गर्ने, जिउँदै जलाउनुपर्छ भन्ने धम्कीहरु आइरहन्छन् । तस्कर, माफिया, एम वे प्रोजेक्ट चलाउनेहरु, गोल्ड क्वेस्ट चलाउनेहरु, विभिन्न निकायमा रहेर भ्रष्टाचारी गर्नेहरुबाट धम्की आइरहन्छन् । मैले धम्कीदेखि जेलनेल सबै भोगीसके, अब मृत्यु भोग्न बाँकी छ । जसले जे गरेपनि मैले मेरो जीवन पत्रकारितामा समर्पण गरिसकेको छु । मलाई केहीको डर छैन ।

Category:

0 comments