Hindi Films

बालिकाको चित्कार : बाबा म बाच्न चाहन्छु, मलाई बचाइदिनुहोस्

Unknown | 14:32 | 0 comments

असोज-३१, उर्लाबारी । बिहीबार खाटमा सुतिरहेकी बालिका एलिसा धिमालको रोदनले उनको परिवारमा सन्नाटा छाएको थियो । दलिनमा बसेका उनका बाबुआमासँग पुर्पुरोमा हात राख्नु सिवाय कुनै विकल्प थिएन । छोरीको विलौना सुन्न सक्ने एकातिर अवस्था छैन भने अर्कातर्फ उपचार खर्च कसरी जुटाउने दोहोरो चिन्तामा डुबेका थिए, धिमाल परिवार । गत साउनदेखि खुट्टाको जटिल समस्याबाट ग्रसित उर्लाबारी–४ स्कुलडाँडाकी ११ वर्षीय एलिसा धिमालको उपचारका लागि उनका बुबा तोरबहादुर धिमालले स्थानीयसँग सहयोगको हात फैलाएका छन् । राजघाट–१स्थित लक्ष्मी माविमा कक्षा ४ मा अध्ययनरत बालिका एलिसाको साथीहरूसँग खेल्ने क्रममा अकस्मात खुट्टामा ‘इन्फेक्सन’ भएको थियो । अत्यन्तै विपन्न अवस्थाका तोरबहादुर धिमालले शुरूमा छोरीको चोटलाई सामान्य रूपमा लिएपनि हाल बालिका एलिसाको अवस्था गम्भीर बनेको छ । रिक्सा चलाएर दैनिक जीविकोपार्जन गर्दै आएका तोरबहादुर छोरीको उपचार खर्चको अभावमा यतिबेला भौतारिइरहेका छन् । अर्काको घरमा जनमन गर्ने धिमालले सम्पत्तिका नाममा आफूसँग भएको एक हल गोरू चालीस हजारमा बिक्री गरी छोरीको उपचार गरेपनि स्वास्थ्यमा सुधार नआएको उहाँले बताउनुभयो । स्कुलडाँडा चौंकस्थित स्व. भीमबहादुर काफ्लेको ‘टहरो’मा डेरा लिई बसेका धिमाल परिवार ओछ्यान परेकी छोरीको उपचारमा सबैसँग गुहार मागिरहेका छन् । ‘रिक्सा नचलाए, गर्जा टार्ने अवस्था छैन, कसरी छोरीको उपचार गर्नु’ अत्यन्तै चिन्तित हुँदै तोरबहादुरले गुनासो गर्नुभयो । एलिसाको प्रारम्भिक उपचार कोशी अञ्चल अस्पतालमा भएपनि उनको अवस्थामा सुधार आउन सकेको छैन । तोरबहादुरका अनुसार छोरीलाई चिकित्सकहरूले चितवनको भरतपूरस्थित क्यान्सर अस्पतालमा उपचारार्थ लान सुझाएका छन् । ‘भरतपूर त जाने तर कसरी ?’ तोरबहादुरले गहभरी आँशु पार्दै भन्नुभयो, ‘रकमको अभावले मेरो छोरीको उपचार हुन सकेको छैन ।’ बालिका एलिसाको घुँडाभन्दा माथिको भागमा गहिरो संक्रमण भएको छ । चिकित्सकहरूले बालिकालाई क्यान्सर भएको आशंका गरेका छन् । ढिलो उपचार हुँदा संक्रमण भएर ज्यानै जाने अवस्था हुने पनि चिकित्सकहरूले औल्याएको तोरबहादुर बताउनुहुन्छ । तत्काल उपचार भए आफ्नी छोरीको जीवन फर्किने उहाँको भनाइ छ । एलिसा धिमाल तोरबहादुरकी एक्ली छोरी हुन् । बालिकाको चित्कार : बाबा म बाच्न चाहन्छु, मलाई बचाइदिनुहोस् एलिसाको अप्रेसनका लागि एक/डेढ लाख लाग्ने भएपछि उनका बुबा तोरबहादुर र आमा विष्णुमाया धिमालले हारगुहार गरेका हुन् । आर्थिक अवस्था जुटाउन नसक्दा एलिसाको उपचार गर्न नसकिएको हो । ‘म एकजनाको कमाइले घरपरिवार चलाउने कि छोरीको उपचारमा खर्च गर्ने’ मलिन अनुहारमा तोरबहादुर सुनाउँदै हुनुहुन्थ्यो । ‘अहिले पनि छोरीकै उपचार गर्नको लागि भनेर बुढेसकालमा घोटिँदै छु तर पनि खर्च जुटाउन सकेको छैन, त्यसैले उर्लाबारीवासीले सहयोग गरिदिए मेरो छोरीको उपचार हुने थियो ।’ तोरबहादुर भन्नुहुन्छ । संघसंस्थाले केही सहयोग गरिदिए भने समयमा छोरीको उपचार गर्न सक्थे भनेर सबैसँग सहयोगको पहल गरिदिन तोरबहादुरले आग्रह गर्नुभएको हो ।

Category:

0 comments