Hindi Films

पूरा भयो राम दमाईको मेसिन किन्ने सपना

Unknown | 14:27 | 0 comments



२०७१ मङ्शिर २ मंगलवार
फोटो : जगदीश रोकाया (सहयोगमा प्राप्त मेसिनका साथ राम दमाई)
बझाङ : जीवनभर सिलाइकटाइ मेसिन जुटाउन नसकेका बझाङ भातेखोलाका राम दमाईको मेसिन किन्ने इच्छा पूरा भएको छ। मेसिन पाएपछि हर्षका आँसु झार्दै उनले भने, 'म दमाईको छोरा हुँ।

एउटा सिलाइ मेसिन जुटाउने धोको थियो। गरिबीका कारण किन्न सकेको थिइनँ। अहिले कुन भगवान्ले सहयोग गरेछ। उनको जय होस्।' 
 
जिल्ला विकास समितिको गोलघरमा मेसिन हस्तान्तरण कार्यक्रममा भावविह्वल हुँदै उनले भने, 'ममाथि यस्तो कुन भगवान्ले दया राख्यो?' ३० वर्षअगाडि भाइहरू अलग हुँदा बुबाको हातको मेसिन जेठो दाइको अंशमा परेको स्मरण गराउँदै उनले भने, 'त्यो समयदेखि मेसिन जुटाउने इच्छा मनमै रहेको थियो।' 
 
कार्यक्रममा नागरिक समाज बझाडका अध्यक्ष धर्मजंगबहादुर सिंहले राम दमाईलाई काठमाडौं सामाखुसी बस्ने उद्धवबहादुर भारतीले सहयोग गरेको मेसिन हस्तान्तरण गरेका थिए।

अन्नपूर्ण पोस्ट्मा कात्तिक २४ गते 'पूरा भएन मेसिन किन्ने धोको' शीर्षकमा राम दमाईको गरिबीसम्बन्धी समाचार प्रकाशित भएपछि मेसिन सहयोगका रूपमा आएको हो। रामलाई उद्धव भारतीजस्तै अपांग पुनस्र्थापना तथा असहाय केन्द्र धरानका निर्देशक सुनिल खड्काले पनि मेसिनसहित दुई हजार नगद सहयोग गरेका छन्। 

 
काठमाडौंबाट सिलाइ मेसिन बझाङ आएपछि उनलाई सदरमुकाम चैनपुरमा आउन स्थानीय रेडियोबाट खबर गरिएको थियो। मेसिन हस्तान्तरण कार्यक्रममा रामबहादुरले आफ्नो गरिबी सार्वजनिक गर्दा समारोहमा सहभागी होटेल व्यवसायी संघ बझाडका अध्यक्ष ढेब भण्डारीले एउटा त्रिपाल र दलित सहयोग समाज संस्थाका अध्यक्ष सुनिल दमाईले एक हजार रुपैयाँ सहयोग गरे।
 
अहिले राम उनका दाजु गुलाब दमाईको गोठमा बस्दै आएका छन्। पाँच वर्षदेखि दाजुको गोठमा बस्दै आएका उनलाई त्यहाँबाट हट्न भनिएपछि ओत लाग्ने ठाउँको समस्या पनि थपिएको छ। अहिलेसम्मको उनको मागेर खाने भाँडो स्थानीय बाजा र सनै पनि भाइ गुलाबले माग्न थालेको रामका छोरा नारायणले बताए। 
 
धामीगाउँबाट चार घन्टा हिँडेर राम मेसिन लिन शनिबार साँझ कान्छो छोरा नरायणका साथ चैनपुर आएका थिए। ९ वर्षीय छोरा नारायणले पनि बाबुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए। मेसिन बुझेपछि रामले छोरा गणेश र नारायणलाई सीप सिकाएर आत्मनिर्भर बनाउने बताए। 
 
कार्यक्रममा साइपाल एफएमका अध्यक्ष मीनबहादुर सिंह, दलित अधिवक्ता गजेन्द्र सार्की र गैसस अध्यक्ष वीरेन्द्र खड्काले अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारले यसअघि पनि बझाङका गरिबदु:खीहरूको जीवनमा ठूलो सहयोग गर्दै आएको भन्दै पत्रिकालाई धन्यवाद दिए। 

Category:

0 comments