Unknown |
10:05 |
0
comments
२०७१ मङ्शिर २ मंगलवार

काठमाडौं : सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको आगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर ९ गते सात घन्टा अन्य विमान अवतरण गर्न नपाउने भएका छन्। विशिष्ट अतिथि आगमन हुने आधा घन्टाअघि र आधा घन्टापछिको समयमा अन्य जहाज विमानस्थलमा अवतरण गर्न नपाउने व्यवस्था गरिएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सतीशचन्द्रलाल सुमनले जानकारी दिए।
मंसिर १० र ११ गते काठमाडौंमा हुने सार्क शिखर सम्मेलनका लागि भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, माल्दिभ्स, श्रीलंक र बंगलादेशका राष्ट्र तथा सरकार प्रमुख ९ गते काठमाडौं आउने कार्यक्रम छ।
'सातजना विशिष्ट पाहुनाका लागि सातघन्टा अन्य अन्तर्राष्ट्रिय जहाज विमानस्थलमा अवतरण हुँदैन', संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा सुमनले भने, 'सार्कको २४ घन्टामा हामीले अन्य जहाजलाई रातको समय छुट्ट्याएका छौं।' उडान नरोकेको तर वैकल्पिक व्यवस्था मिलाएको उनले प्रस्ट पारे।
सार्क सम्मेलनका कारण सार्वजनिक यातायातको व्यवस्था सहज नहुने भएकाले पर्यटकका लागि नेपाल पर्यटन बोर्डमार्फत चारवटा सवारीसाधन विमानस्थल जाने आउने व्यवस्था मिलाएको पनि सुमनले जानकारी दिए। उनका अनुसार नेपालगन्ज, विराटनगर, भैरहवा, पोखराका लागि हुने आन्तरिक उडान पनि रातको समयमा गराउने व्यवस्था मिलाइएको छ। उनले भने, 'आन्तरिक विमानलाई हेलिकोप्टर उडान क्षेत्रबाट उडाउने प्रयास हुँदैछ।'
विमानस्थलदेखि सोल्टी होटेलसम्म पुग्ने विभिन्न चोकमा १० देखि १५ जनाको समूहमा विविध सांस्कृतिक झाँकीले विशिष्ट पाहुनाको स्वागत गर्ने व्यवस्था मिलाइएको जानकारी मन्त्रालयका सचिव सूर्यकुमार श्रेष्ठले दिए। तीन दिनभित्र यो मार्गका १३ स्थानमा स्वागतद्वार निर्माण हुनेछन्। विश्व सम्पदा सूचीमा रहेका भक्तपुर, पाटन, पशुपतिनाथ, जनकपुर, चाँगुनारायण, बौद्धनाथ, स्वयम्भू, मुक्तिनाथ, लुम्बिनीलगायतको सरसफाइ, पथप्रदर्शकको व्यवस्था मिलाइएको सचिव श्रेष्ठले बताए। भुटानका प्रधानमन्त्रीले स्वयंम्भूनाथ जाने रुचि देखाएका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर र लुम्बनी जाने कार्यक्रम छ। उनका अनुसार लुम्बिनीमा मोदीले पाँच हजारजनालाई सम्बोधन गर्ने कार्यक्रम तय भएपछि त्यसको व्यवस्थापन भइरहेको छ।
विशिष्ट पाहुनाका लागि प्रधानमन्त्री सुशील कोइरालाले सार्क शिखर सम्मेलनको उद्घाटनका दिन सोल्टी होटलमा दिने रात्रिभोजमा २० मिनेटमा हिमाल, पहाड र तराईको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने, आठवटै राष्ट्रका भाषाको गीत हुने र एक सय ३५ जना पाहुनालाई कोसेली दिइने जानकारी सचिव श्रेष्ठले दिए। प्रधानमन्त्री कोइरालाले रात्रिभोजका लागि पत्राचार गरिसकेका छन्।
विपद् व्यवस्थापनका लागि एक लाख २० हजार लिटर पानी राखिने व्यवस्था मिलाइएको छ। 'तीन सय १५ केभीएको जेनेरेटरको व्यवस्था छ। तीन सेकेन्डमा जेनेरेटर सञ्चालन हुन्छ र १० सेकेन्डमा बत्ती बल्छ', उनले भने। सार्कका लागि विशिष्ट अतिथि आगमन र बहिर्गमन हुने प्रवेशद्वार रङरोगन तथा भवनका संरचना पुननिर्माण गरिएको सुमनले बताए। उनका अनुसार सार्क अवधिका लागि गोल्डेनगेटको दायाँतिर रहेको बहुउद्देश्यीय पार्किङमा सोमबारदेखि नै पार्किङ गर्न थालिएको छ। यहाँ पाँच सय ६० वटा कार पार्किङ गर्न सकिन्छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार विशिष्ट अतिथिलाई विमानस्थलमा आगमनमा स्वागत गर्न नमस्कार गरिएको गरुडको शालिक राखिएको, टर्मिनलमा बत्ती फेरिएको, एनसेल र स्यामसुङको प्रायोजनमा राखिएका स्वागतम होर्डिङ बोर्ड हटाएर नेपाल सरकारको राखिने, गुणस्तरीय कपडाको राष्ट्रिय झन्डा राखिनेछ।
स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेका अनुसार रिट्रिटका लागि धुलिखेलमा २४ लाख रुपैयाँ खर्च गरेर दुईवटा हेलिप्याड आरसीसी ढलान भइसकेको छ भने होटलमा पुग्ने बाटो पनि बनिसकेको छ। रानीपोखरीको सरसफाइ, लैनचौर-शीतलनिवास मार्गमा सडकबत्ती, झन्डा राख्ने खम्बा बिहीबारसम्म तयार हुने पनि उनले जानकारी दिए।
सम्मेलनको तयारीका कमजोरी हटाउन शुक्रबार प्रधानमन्त्री कोइरालाको नेतृत्वमा पूर्वाभ्यास गर्ने कार्यक्रम तय गरिएको छ। सार्कको सम्पूर्ण तयारी शुक्रबारसम्म पूरा गराउन सम्बन्धित सरोकारवालालाई मुख्य सचिव लीलामणि पौड्यालले सोमबार निर्देशन दिएका थिए। सम्मेलनस्थल सभागृहमा ३ बजे अवलोकन भ्रमणमा आउन सहरी विकास मन्त्रालयले सभासद्लाई अनुरोध गरेको छ। परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले सम्मेलनलाई विगतमा व्यक्त गरिएका प्रतिबद्धता कार्यान्वयन गर्ने थलोका रूपमा विकास गर्न खोजिएको बताए।
|
 |
Category:
News
0 comments