Hindi Films

कात्तिक लागेपछि सुन घट्याघट्यै

Unknown | 15:01 | 0 comments

सबै सूचांकहरू अहिलेकै जस्तो भए सुन निकट भविष्यमै तीन वर्ष अगाडिको भाउमै झर्नेछ । विज्ञहरू विश्वस्त छन्, 'सुन ४५ हजारसम्म र्झछ ।' कात्तिक लागेपछि सुन घटेको घट्यै छ । १९ दिनमा ३ हजार ६ सयले घटिसकेको छ । जबकि यो सिजनमा दसैं र धनतेरस पर्ने तिहार जस्तो महान् पर्व पर्छ । यो महिनामा पनि निरन्तर ओरालो लागेकाले व्यवसायीसमेत सुन घट्नेमा आशा र निराशामा छन् । 'अहिले बजार विश्लेषण गर्दा थप घटने सम्भावना छ,' सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरात्न शाक्यले भने, 'अन्तर्राष्ट्रिय बजार सुन छाडेर सेयरतिर मोडिएको छ ।' विश्व बजारमा सुन र सेयरको अन्योन्याश्रति सम्बन्ध छ । सेयर बजारमा जोखिम बढे व्यवसायीहरू सुनतर्फ आकषिर्त हुन्छन् । त्यसपछि सुनको पारो बढ्छ । सेयरमा सुरक्षा देखे सुनको पारो घट्न थाल्छ । यति बेला यस्तै भएको छ । सेयरतिर व्यवसायी तानिएका छन् । त्यसैले सुनको भाउ घटेको घट्यै छ । नेपाली बजारमा करिब तीन साताअघि प्रतितोला सुन ५२ हजार ६ सय रुपैयाँ थियो । शुक्रबारको भाउ ४९ हजारमा झरेको छ । बजारमा तीन वर्षअघि २०६८ साउनमा सुन प्रतितोला ४४ हजार ७ सयमा कारोबार भएको थियो । सुन मात्र हैन, यो चहलपहलले तेलको भाउसमेत घटाइरहेको छ । डेढ वर्षअघि तेल पनि प्रतिब्यारेल १ सय ८ डलर थियो । 'अहिले ७७ डलरमा झरेको छ,' शाक्यले भने, 'सुन पनि त्यस्तै घटिरहेको छ ।' अघिल्लो दिन प्रतिऔंस १ हजार १ सय ४४ डलर रहेको सुन शुक्रबार १ हजार १ सय ३८ डलरमा झरेको थियो । अन्तर्राष्ट्रिय बजारमा औंसको १ हजार ५० डलरमा झरे नेपालमा तोलाको ४५ हजार रुपैयाँ कायम हुनेछ । 'त्यतिसम्म नझर्ला भन्न सक्ने अवस्था छैन,' शाक्यको अनुमान छ । सुनको भाउ घट्नुको मुख्य कारण डलर मजबुत हुँदै गएकाले हो । यसले सुनको मागमा कमी ल्याएको छ । अर्कोतर्फ अमेरिकी संघीय बैंकले ऋण्ापत्र खरिद कार्यक्रम कटौती गरेपछि डलर मजबुत हुँदै गएको छ । भारतीय पत्रिका भास्कर दैनिकले पनि भाउ थप घट्ने अनुमानसहितको समाचार सम्प्रेषण गरेको छ । दैनिकले भारतीय बजारमै सुनको भाउ ३० हजार भारुभन्दा तल झर्ने अनुमानको समाचार सम्प्रेषण गरेको छ । सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन पनि सेयरकै कारण सुनको भाउ घटिरहेको तर्क दिन्छन् । 'सेयर बजार बलियो भएकाले लगानीकर्ताहरू सेयर बजारमा आकषिर्त भएका छन्,' महर्जनले भने, 'यसले गर्दा सुनको भाउ घटेको हो ।' भाउ घट्दा केही व्यापारीलाई मार्का पर्नेछ, जसले स्टक राखेका छन् । त्यस्ता व्यापारीले हतपत बिक्री नगर्ने हुनाले उपभोक्ताले सुन पाइहाल्ने अवस्थामा पनि छैन । तर उपभोक्ताले भने ठूलो राहत पाउनेछन् । मंसिरमा बिहेको सिजन नजिकिँदै गएकाले सबैभन्दा ठूलो राहत उनीहरूलाई हुनेछ । व्यवसायी भने सुन जति नै घटे पनि माग बढ्नेमा विश्वस्त छैनन् । केही समययता सुनमा देखिएको सुस्तताले व्यवसायीलाई यस्तो निराशा जगाएको हो । 'जति नै घटे पनि माग छैन,' शाक्यले भने, 'मंसिरमा केही बढ्यो भने मात्र ।' सुनको भाउ दैनिक घट्दै गएकाले उपभोक्ताहरू 'पर्खर् र हेर' को अवस्थामा छन् । त्यसैले भाउ घटेर नोक्सानी बढाए पनि कारोबार नबढेको व्यवसायी बताउँछन् । यस अवधिमा चाँदीको भाउ पनि प्रतितोला ८० रुपैयाँले घटेको छ । कात्तिक २ गते प्रतितोला ७ सय ४५ रुपैयामा कारोबार भएको चाँदी २१ गते ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ । व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय बजारमा सेयर बजारमा सुधार भएकाले पनि भाउ घट्दै गएको हो ।

Category:

0 comments