Hindi Films

पर्दाबाहिर पनि एक्टिङ गर्नुपर्ने रैछ : शिल्पा

Unknown | 04:22 | 0 comments

शिल्पा पोखरेल सानो पर्दाका दर्शकमाझ उहिल्यै परिचित अनुहार हो। एक समय आधुनिक गीतका म्युजिक भिडियोमा उनले एकछत्र राज गरेकी थिइन्। एक वर्षदेखि सानो पर्दाबाट टाढिएकी छिन्। केही समयअघि मात्रै फिल्म 'लज्जा'मार्फत ठूलो पर्दामा देखिइन्। उनीसँग धनबहादुर खड्काको अन्तरंग कुराकानीः पहिलो फिल्मले नै व्यावसायिक सफलता हासिल गर्दा कस्तो महसुस भइरहेको छ? मलाई निकै डर लागेको थियो। रिस्क मोलेर फिल्ममा आएकी थिएँ। फुर्सदै नपाउने गरी म्युजिक भिडियोमा व्यस्त भइरहेकी मैले सबै छाडेर फिल्ममा अभिनय गरेकी थिएँ। धेरैले 'म्युजिक भिडियोलाई हेलाँ गरेर छोडी, यसको पनि करिअर सकियो' भनेका थिए। फिल्म रिलिज हुनुभन्दा तीन दिनअघि त कोही मसँग बोल्दा पनि रिस उठ्थ्यो। दिमागमा नानाथरी कुरा खेलाएर बसेकी हुन्थेँ। फिल्म हलमा चलेको पहिलो दिन म हलतिर गइनँ। दोस्रो दिनदेखि दर्शक ओइरिएको खबर पाएर हलमा जाँदा भीड देखेँ। त्यसपछि बल्ल सामान्य अवस्थामा आएँ। मेरो काम दर्शकले रुचाएका छन्। एकदमै खुशी छु। आफ्ना केही कमजोरी 'नोटिस' गर्नुभयो त? ज्यानलाई केयरलेस गरेँ। मेन्टेन गरिनँ, चलिहाल्छ भनेर गर्दा मोटी देखिएछु। अहिले मेन्टेन गरिरहनुभएको छ? 'लज्जा' हेरेपछि मैले 'हवल्दार सुन्तली'का लागि पूरै मेन्टेन गरेँ। फाइट क्लास लिएँ, जिम गएँ। अहिले काम छैन, फेरि मोटाएकी छु। केही दिनदेखि फेरि फाइट क्लास सुरु गरेकी छु। नयाँ फिल्मका लागि कि फिट रहनका लागि? सेल्फ डिफेन्सका लागि भन्नुपर्ला! त्यस्तो दिनका लागि पनि तयार भएर बस्नुपर्‍यो नि। र, एक्सन मुभीको अफर आयो भने 'गर्न सक्छु' भन्ने भइरहनुपर्‍यो भनेर। धेरै म्युजिक भिडियो गरेको अनुभव थियो। फिल्ममा चाहिँ के–के फरक अनुभव गर्नुभयो? फिल्ममा कलाकारलाई असाध्यै केयरिङ हुने र प्रायोरिटी दिने गरिँदो छ। यसले काम गर्दा कन्फिडेन्स आउने रहेछ। खासमा लामो समयसम्म सुटिङ हुने भएकाले बीचमा बिरामी परेर अप्ठ्यारो नपरोस् भनेर गरिएको हो। तर, त्यसले पनि राम्रो प्रभाव छाड्ने रहेछ। तपाईंले फिल्ममा अभिनय गर्नुभन्दा केही महिनाअघि मात्रै फिल्म क्षेत्रमा कुनै हालतमा नआउने बताउनुभएको थियो। सम्झना छ? हो, अझै पनि सम्भि्करहेकी छु। तपाईंसँग कुराकानी हुनुभन्दा केही समयअघि मात्रै मैले एउटा फिल्मका लागि अडिसन दिएकी थिएँ। छानिएँ पनि। त्यसपछि उक्त फिल्मका निर्देशकले भने, 'नयाँ मान्छेलाई चान्स दिएबापत हामीले के पाउँछौँ?' मैले फिल्म छाडिदिएँ, सर्वस्व गुमाएर फिल्म खेल्नुपर्ने रहेछ जस्तो लागेर कहिल्यै फिल्म खेल्दिनँ भन्या' थेँ। ती निर्देशकलाई त्यहीँ भन्या' थेँ, 'तपाईंजस्ता मान्छेका कारण नयाँ र राम्रा प्रतिभा फिल्म क्षेत्रमा आउँदैनन्।' तर, अभिनेत्री भइसकेपछि ठूलो पर्दामा देखिने सपना सबैलाई हुन्छ। पहिलोपल्ट नै मेरो त्यो सपनाको हत्या भयो। फेरि कसरी आइयो त फिल्ममा? अञ्जु पन्तले गाउनुभएको गीतमा अभिनय गर्नुपर्ने थियो। त्यो गीतको भावमा यति डुबेछु कि आँशु नै रोकिएन। त्यसपछि शंकर बीसी सरले छवि बा (निर्माता छवि ओझा) लाई भेट्दा मेराबारे भन्नुभएछ, 'यस्तो एक्टिङ गरिन् कि सबैलाई रुवाइन्।' उहाँले भेट्ने रुचि देखाउनुभएछ। उहाँलाई भेट्न जानुभन्दा एकदिन अघि शुक्रवारमै मेरोबारे छापिएको थियो। त्यो हेरेर उहाँले मेरो फोटोजेनिक लुक्स हेरिसक्नुभएको थियो। त्यसैले कुराकानी सकारात्मक भयो। अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भनेझैँ छविजीले पनि उस्तै प्रस्ताव गर्नुहोला भन्ने डर लागेन? एकचोटि त गलत सोच पनि आयो। उहाँले त्यतिबेला 'लोफर' फिल्म बनाउने तयारी गरिरहनुभएको थियो। मलाई उक्त फिल्ममा केटीको भूमिका कमजोर रहेको भन्दै 'लज्जा'का लागि एक वर्ष कुर्न भन्नुभयो। मलाई उहाँले पनि झुलाउन खोज्नुभयो कि जस्तो लाग्या'थ्यो। तर, जब उहाँले सही सल्लाह दिन थाल्नुभयो, त्यसपछि पूरै विश्वास जाग्यो। निर्देशक नवल नेपाल दाइले अडिसनमा स्त्रि्कप्ट र मेरो अभिनयमा मात्रै ध्यान दिएको देख्दा फिल्म क्षेत्रमा यस्ता राम्रा मान्छे पनि हुँदा रहेछन् भन्ने लागेर भावुक भएकी थिएँ। फिल्म क्षेत्रलाई हेर्ने दृष्टिकोण अहिले पूरै बदलियो? आफू नमरी स्वर्ग देखिँदैन भनिन्छ नि। त्यस्तै फिल्म क्षेत्रमा नआउञ्जेल सोचेका धेरै कुरा गलत भए। यो क्षेत्रका सबै मान्छेले शोषण गर्छन् भन्ने लाग्थ्यो तर केही गलत मान्छे हेरेर धेरैमाथि अन्यायी दृष्टिले हेरेकी रहिछु। यहाँका मान्छे मात्रै होइन, हामी आफैँ पनि खराब व्यवहारका लागि दोषी छौँ कि? धेरै फिल्म खेल्न चाहने केटीहरूले 'राम्रो ब्यानरको फिल्म खेल्न जे पनि गर्ने' भनिदिँदा पनि यो अवस्था आएको हुनसक्छ। धेरै केटीले यस्तो भनेको मैले पनि सुनेकी छु। तर, त्यसरी फिल्म खेल्न पाइने रहेनछ, निरन्तर लागिरह्यो भने समय आउने रहेछ। केही समय त छविजीको कडा निगरानीमा रहनुपर्‍यो रे नि! छवि बाले कडा निगारानीमा राखेको होइन। मैले म्युजिक भिडियोमा लगातार काम गरिरहँदा फिल्म 'लज्जा'का गीत पनि भिडियोजस्तै देखिएलान् भनेर म्युजिक भिडियो नखेल्ने बताएकी थिएँ। छवि बाले कडा निगरानीमा राखेको कुरा आयो। त्यस्तो काँ' हुन्छ हौ अनि? अहिले चाहिँ भिडियोमा चुजी भएको हो? त्यस्तै भन्नुर्‍यो। अर्काे फिल्म 'हवल्दार सुन्तली' आउँदैछ। फिल्म 'लज्जा' दर्शकले रुचाएपछि जिम्मेवारी बढेको महसुस भइरा'छ । त्यसैले राम्रो काम देखाउन सकिने म्युजिक भिडियोमात्रै गरिरहेकी छु। हिरोइन हुने सपना कहिलेदेखि देख्न थालियो? यही क्षेत्रमा प्रवेश गरेपछि त्यो सपना जोडिएको हो। म त कोरियोग्राफर बन्न चाहन्थेँ। टेलिसिरियल 'घरभेटी बा'मा काम गर्ने अफर ल्याउनुभयो मामाले। त्यसपछि म्युजिक भिडियो गर्न थालेपछि त व्यस्त भइहालेँ। छविजीको ब्यानर बाहेकका फिल्म खेल्न छुट छ? राम्रो स्क्रिप्ट आयो भने जसको फिल्म पनि गर्छु। स्क्रिप्ट छान्ने जिम्मेवारी छविजीसँगै छ कि? फिल्म क्षेत्रका लागि उहाँ मेरो अभिभावक हो। उहाँले यही क्षेत्रमा २५ वर्ष बिताइसक्नुभएको छ। उहाँले मान्छे र स्क्रिप्ट दुवै चिन्नुहुन्छ। त्यसैले सल्लाह उहाँसँगै लिन्छु। उहाँ 'निर्णय चाहिँ आफैँ गर' भन्नुहुन्छ। तपाईंलाई छविजीले अर्की रेखा बनाउने रे! रेखा दिदी सगरमाथा चढिसक्नुभयो। म त्यो बाटोमा छु भन्नुभएको हो। त्यसकारण पनि उहाँले रेखा दिदीलाई मसँग तुलना गर्नुभएन, माथि नै राख्नुभएको छ। अर्काे कुरा रेखा दिदी रेखा दिदी नै हो। शिल्पा पनि शिल्पा नै बन्न चाहन्छु। भन्नुको अर्थ म आफ्नै एउटा स्पेस बनाउन चाहन्छु। अहिले त तपाईंका हातमा फिल्म छैनन् नि? दुइटा मुभीको प्रस्ताव आएको थियो। स्क्रिप्ट राम्रो लागेन। अब लेभल पनि मेन्टेन गर्नुपर्‍यो। वर्षको एउटा फिल्ममात्रै गर्दा आर्थिक हिसाबले लेभल मेन्टेन गर्न गाह्रो पर्ला नि! अहिले म ममीड्याडीसँग छु। त्यसैले धेरै आर्थिक भार खेप्नुपरेको छैन। आफ्नो खर्चका लागि म्युजिक भिडियो पनि गरिरहेकै छु। गसिप मेकिङमा त पहिलो फिल्मबाटै अभ्यस्त भइयो है! मलाई सुरु–सुरुमा त अप्ठ्यारो भयो। 'रेखालाई रिप्लेस गर्ने रे, 'हवल्दार सुन्तली'मा छवि बाले दोहोर्‍याउँदा बिहे गर्ने रे' भन्ने हल्ला चले। केही नहुँदा बच्नुपर्ने कस्तो अचम्म भन्ने लाग्याथ्यो। मलाई पछि महसुस भयो। दर्शकले पोजेटिभभन्दा नेगेटिभ कुरामा चासो दिने रहेछन्। यही बीचमा फिल्मका पब्लिसिटीका लागि फाइदा उठाइयो। 'शिल्पा बिहे गर्न राजी हुन्छे भने हाम फाल्छु' भनेर छवि बाले भन्नुभयो। मैले १० वर्ष कुर्नुहोस् भनेर चर्चा गर्ने मेलो बनाइदिएँ। कलाकार भएपछि पर्दाबाहिर पनि एक्टिङ गरेर हिँड्नुपर्ने रैछ। घरबाट निस्केदेखि एक्टिङ गरिरहेकी हुन्छु र घर नपुगुञ्जेल म शिल्पा हुन्नँ। फिल्म हिट भएपछि तारिफ गर्ने र पछि लाग्ने बढेका होलान्? फ्यान फलोअर निकै बढेको छ। दिमाग खराब गर्ने म्यासेज आएर हैरान छु। चिन्नु न जान्नु एकैचोटि 'आई लभ यू' रे! एउटा न एउटालाई त 'सेम टू यू' पनि भन्नुपर्ला! मलाई त ब्वाइफ्रेन्ड बनाए करिअर टाढा हुन्छ जस्तो लाग्छ। त्यसैले अहिले त्यता सोच्दिनँ। सानै उमेरमा भएको प्रेम अनुभवले यस्तै सिकायो? उसलाई पनि 'थ्यांक यू' भन्छु। त्यो सम्बन्धले समयमै धेरै कुरा सिकायो। अहिले कसैले प्रेम प्रस्ताव राख्दा पनि पहिलाको सम्झेर रिस उठ्ने रहेछ। त्यसैले त्यस्तो अफर गर्नेलाई साथी भएर बस्दा राम्रो हुन्छ भन्छु। स्रोत:नागरिक न्युज

Category:

0 comments