Hindi Films

बोडे टु बाल्टिमोर नो इङ्लिस........

Unknown | 06:27 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
भक्तपुर बोडेका सुरेन्द्र प्रजापती र दिललक्ष्मी प्रजापती दोस्रोपटक अमेरिका जाने तयारीमा छन्। बोडेचोकमा मिठाई पसल चलाउँदै आएका यी दम्पती अध्ययनको सिलसिलामा अमेरिकामा रहेका जेठो छोरो र कान्छी छोरी तथा क्यानाडामा रहेका कान्छो छोरालाई भेट्न आतुर छन्। उनीहरूको सबै तयारी लगभग पूरा भइसक्यो। तर, अंग्रेजी सिक्ने उनीहरूको योजना भने विगतमा जस्तै यसपटक पनि पूरा हुन सकेन। चार वर्षअघि बाल्टिमोरमा अध्ययन गर्दै गरेका जेठो छोरो सुमनलाई भेट्न उनीहरूले बोडेबाट अमेरिकासम्मको यात्रा तय गरेका थिए। अंग्रेजी भाषाको जानकारीविनै यात्रामा हिँडेका यी दम्पतीले पूरै अमेरिकामा एउटै अंग्रेजी वाक्य दोहोर्या इरहे। त्यो थियो– नो इङ्लिस। छोरालाई भेट्न अमेरिका हिँडेका यी दम्पतीलाई काठमाडौं–दिल्ली उडानमा भाषाको खासै समस्या आएन। दिल्ली विमानस्थलमा त हिन्दी बोलेरै काम चलाए। 'अमेरिकाको विमानस्थलमा भने हामीलाई भाषाको साँच्चिकै समस्या पर्यो्,' सुरेन्द्रले भने। विमानस्थल ओर्लिएलगत्तै कागजपत्र देखाउन लाइनमा बसेका सुरेन्द्र त्यति बेला अकमक्क परे, जब आफूभन्दा अगाडिका व्यक्तिसँग अध्यागमनका कर्मचारीले निकै बेर अंग्रेजीमा सोधपुछ गरे। पछाडि बसेर उनीहरूको कुराकानी सुनिरहेका सुरेन्द्रले जुक्ति निकाले– राजधानीमा सिकेको टुटेफुटे कामचलाउ अंग्रेजीमा जवाफ फर्काउने। जब सुरेन्द्रको पालो आयो, अध्यागमनका कर्मचारीले अंग्रेजीमै प्रश्न गर्न थालिहाले। 'म एक छिन चुप लागेको देखेर उनीहरूले मेरो मुखमा हेरे। के जवाफ दिने भन्ने पत्तै पाइनँ,' उनले त्यो घटना सम्भि्कए र बेस्मारी हाँसे, 'फ्याट्टै 'नो इङ्लिस' भनिदिएँ। त्यसपछि त उनीहरूले दोस्रो प्रश्नै गरेनन्।' त्यही एउटा वाक्यले लाइनमा लागुन्जेल भोगेको तनावको व्यवस्थापन गरेको उनी बताउँछन्। मानौं उनका लागि त्यही दुई शब्द ब्रह्मज्ञानजस्तै भइदियो। कसैले जिज्ञासा राख्यो कि त्यही ब्रह्मज्ञान छोड्थे, हिँड्थे। उनीहरूको अनौठो गतिविधिलाई नियाल्दै गरेका भारतीय मूलका एक प्रहरीले उनीहरूसँग हिन्दीमा कुरा गरेछन्। उनीहरूको समस्याबारे बुझेछन्। 'ती प्रहरीसँग छोरालाई भेट्न बाल्टिमोर जान लागेको बताएपछि उनैले सहयोग गरे,' सुरेन्द्र भन्छन्। प्रहरीले उतै जान लागेका अर्का एक यात्रुलाई भेट गराई पठाइदिएपछि उनी निर्धक्क बाल्टिमोर पुगे। 'जब बाल्टिमोरमा पुग्यौं, छोरो भेटेपछि कुनै 'टेन्सन' भएन,' उनी भन्छन्, 'हामी चुप रहन्थ्यौं, छोरो बोल्थ्यो।' नेपालबाट विदेश गएका छोराछोरीको दीक्षान्त समारोह तथा त्यहाँ जन्मेका नातिनातिना स्याहार्न बर्सेनि सयौंको संख्यामा अभिभावक पुग्ने गर्छन्। प्रजापती दम्पती पनि तिनैमध्येका हुन्। यी दम्पतीले ४५ दिन उतै बिताए। न्युयोर्क, वासिङ्टनलगायत विभिन्न अमेरिकी सहर चहारे। 'छोराले महŒवपूर्ण पर्यटकीय ठाउँ पनि घुमायोे,' सुरेन्द्र भन्छन्, 'नयाँ ठाउँको घर, भवन र परिवेशले डेढ महिना बितेको पत्तै भएन।' सुरेन्द्र अमेरिकी यात्रामा रमाउँदै गर्दा उनकी पत्नी दिललक्ष्मी भने उति खुसी हुन सकिनन्। 'छोराको अनुहार हेर्ने न्यास्रोले अमेरिकासम्म डोर्याकएको,' उनले भनिन्, 'त्यसपछि त आफ्नै देश, आफ्नै घर कहिले फर्कूंजस्तो लाग्थ्यो।' बोडेको डिलमा रहेको पसलमा आएका आफन्त तथा ग्राहकसँग भलाकुसारी गरेर दिन बिताउँदै आएकी दिललक्ष्मी अमेरिकामा पुगेपछि 'बोल्न नजान्ने मान्छे' जस्तो महसुस भएको सुनाउँछिन्। 'मलाई त कोही विदेशी आफूतिर आउँदै गरेको देख्दा पनि डर लाग्थ्यो,' उनले भनिन्, 'उसले अंग्रेजीमा केही सोध्ला भन्ने डरले सधंै सताउँथ्यो।' बोडेदेखि बाल्टिमोरसम्म पहिलो अमेरिकी यात्रामा 'नो इङ्लिस'मात्र बोलेका यी दम्पती दोस्रो अमेरिकी यात्राका लागि पनि अंग्रेजीमा केही सुधार हुन नसकेको बताउँछन्। 'भाषा सिक्ने कोसिस त गरँे,' सुरेन्द्र खिन्न हुँदै भन्छन्, 'तर खासै पारा ल्याउनै सकिएन।' तर पनि उनी आत्तिएका छैनन्, 'ब्रह्मज्ञान' जो उनीसँग छँदै छ। घरमा भएका दुई छोरा–छोरी बाहिरै छन्। उनीहरूको न्यास्रोले फेरि विदेश उड्दै छन् उनीहरू। यसपटकको उनीहरूको यात्रा पहिलेभन्दा लम्बिनेछ। किनकि अमेरिकामा रहेका छोराछोरीलाई भेटेर क्यानाडा रहेको अर्को छोरालाई पनि भेट्ने उनीहरूको योजना छ। छोराछोरी आमाबुवालाई उतै बस्न बोलाइरहेका छन्, तर दिललक्ष्मी मान्न सकिरहेकी छैनन्। 'अब यतै आएर बस्नू भन्छन्, तर बिरानो ठाउँमा टिकिन्छ जस्तो लाग्दैन,' उनी भन्छिन्। सन्तानको न्यास्रो मेट्नकै लागि विदेश जानुपर्ने बाध्यता भए पनि उतै बस्ने रहर नभएको उनी बताउँछिन्। 'घरभरि सन्तान भएर पनि नेपालमा एक्लैजस्तै बस्नुपरेको छ,' उनी बाध्यता सुनाउँछिन्, 'उनीहरू यता नआएपछि हामी नै जानुपर्ने अवस्था छ।' सुरेन्द्रको अनुभवमा अमेरिकाको सडक र यातायात व्यवस्थामा निकै अनुशासन छ। न त यहाँजस्तो बेपरबाह गाडी हुइँक्याउने चालक छन्, न त फितलो ट्राफिक व्यवस्थापन। नेपालमा जेब्रा क्रसिङमा समेत बाटो काट्न धौधो पर्ने गरेको अनुभव बोकेका उनका लागि त्यहाँको सडक पैदल यात्रुमैत्री लागे। 'जतिसुकै स्पिडमा आएको गाडी पनि मान्छेले क्रस गर्न थालेपछि घ्याच्चै रोकिँदो रहेछ,' उनी सुनाउँछन्, 'अमेरिका यात्रामा केही असहजता भए पनि त्यहाँका सफा सहर देख्दा आनन्द आउँथ्यो।' एक महिनासम्म सेतो लुगा लगाउँदा पनि नमैलिएको रोचक अनुभव पनि उनी सुनाउँछन्। रुक्मणिको बोस्टन यात्रा बोडेकी दिललक्ष्मीलाई अमेरिकाले उति तानेन। उनी त्यहाँ रमाउनै सकिनन्। मूलपानी– ५ की ६३ वर्षीया रुक्मणि फुयालको अनुभवमा भने अमेरिका 'स्वर्ग'जत्तिकै हो। दुई वर्षअगाडि छोरा–बुहारीसँग ११ महिना बोस्टन बसेर आएकी आएकी फुयालले सन्तानसँग जहाँँ बसे पनि घरजस्तै रमाइलो हुने सुनाइन्। अमेरिकामा छोराछोरी भेट्न पुगेका धेरै बा–आमा धेरै दिन टिक्न सक्दैनन्। 'मलाई त अमेरिकै रमाइलो लाग्यो,' उनी भन्छिन्, 'सन्तानले दिने समयमा पनि फरक पर्दो रहेछ।' अमेरिकी यात्राको क्रममा जिन्दगीमा पहिलोपटक ठूलो जहाज चढेकी रुक्मणिले दिल्लीबाट न्युयोर्कसम्मको यात्रामा आँखा झिमिक्कै नपारेको सुनाइन्। 'समुद्रै–समुद्रको माथिबाट निक्कै समय उडियो,' उनको जहाज अनुभव छ, 'भ्यालबाट बाहिरको दृश्य हेर्दाहेर्दै निदाउनै पाइनँ।' घरबाटै अचार र चिउरा बोकेर लगेकी उनलाई जहाजमै खानेकुरा खासै मन परेन। 'मलाई त जहाजका अन्य खान्कीभन्दा यही अचार–चिउरा नै मिठो लाग्यो,' उनी भन्छिन्। ट्रान्जिटको लागि बहराइन रोकिएपछि जहाज फेरि अमेरिकाका लागि उडेको थियो। उनले त्यहाँबाट उड्दा आकाशमै अमेरिका जाने बाटो कोरिएको जस्तो महसुस भएको बताइन्। 'मैले त आकाशमा घिरांैलाको तानजस्तो बाटो देख्न थालँे,' उनले हाँस्दै भनिन्, 'त्यही बाटो हँुदै जहाज मेरो छोरो बस्ने अमेरिकातिर लाग्यो।' वासिङ्टन, न्युयोर्क, बोस्टन राज्य भ्रमण गर्दा उनले आफ्नो स्वास्थ्य उपचार पनि गराइन्। बोस्टन र वासिङ्टनको तुलनामा न्युयोर्क अलि फोहोर रहेको उनको अनुभव छ। 'छोरा बस्ने सहर भएर हो कि मलाई त सबैभन्दा राम्रो बोस्टन नै लाग्यो,' उनले भनिन् । मूलपानी छँदा उनी पारिको हिमालमा मात्रै हिउँ परेको देख्थिन्। अमेरिका ओर्लेलगत्तै उनले हिउँकै थुप्रोमा टेक्न पाइन्। 'सुरुमा त मलाई नुनको थुप्रो जस्तो लागेको थियो,' ठट्यौलो पारामा उनी खिलखिलाइन्, 'छोराले भनेपछि पो हिउँको थुप्रो भन्ने थाहा पाएँ।' बोस्टनमा दिवंगत राजा वीरेन्द्र पढेको इटन कलेज हेर्दा उनले राजालाई सम्झन भ्याइछन्। विदेशीसँग उनले त्यहीँ 'हाई, हेलो' पनि भनिन्। 'अरूले हाई भन्दा म हेलो भनिदिन्थेँ,' उनले सुनाइन्, 'यति बोल्दा पनि मान्छेहरू खुसी हुन्थे।' झन्डै एक वर्ष अमेरिकामा बिताउँदा पनि उनलाई अमेरिकी मोहले तानिरहेको छ। 'मौका मिले फेरि जानेछु,' अमेरिकाको बसाइ निकै रमाइलो र यादगार रहेको उनले सुनाइन्। सरस्वतीको सिड्नी सम्झना मूलपानी– ४ की सरस्वती कार्कीलाई ५० वर्षसम्म आफू निरक्षर भएको महसुस भएको थिएन। दुई वर्षअघि अस्ट्रेलियाको सिड्नीमा रहेका छोरा–बुहारीलाई भेट्न जाँदा भने बल्ल उनलाई आफू नपढेको महसुस भयो। 'भाषा नजान्दा लाटो जस्तो हुइँदो रहेछ,' सिड्नीको क्याम्सी पुगेकी उनलेे भनिन्, 'नेपाली बोलेकै भरमा यात्रा गरेर आइयो।' उनलाई विदेशको रमझमले धेरै दिन राखिरहन सकेन। घरको न्यास्रोले सताउन थाल्यो। ८० दिन अस्ट्रेलियामा बिताएकी सरस्वती भन्छिन्, 'यता घरमा रहेका नातिनातिनाको पनि न्यास्रो लाग्यो। त्यही भएर नेपाल फर्किएँ।' उनले सोचेजस्तो विदेशीमात्रै थिएनन्, सिड्नीमा। धेरै नेपाली देखेपछि उनलाई कुरा गर्न पनि सजिलो भयो। 'उता पनि नेपालकै जस्तो दालभात खाएको थिएँ,' कुर्ता सुरुवालमै सिड्नी चहारेकी उनी भन्छिन्, 'नातिनातिनाको मुख हेर्न त कोही छोराछोरीको रिजल्ट सुन्न आउने धेरै नेपाली त्यहाँ भेटिएका थिए।' नातिनी हेर्न सम्धिनीसँग सिड्नी पुगेकी उनलाई जहाज चढेदेखि नै सबै कुरा नौला थिए। 'खाने कुरा छान्न पनि जानिएन,' जहाजमा पाएको सकस सुनाउँछिन्, 'बाथरुमको ढोका खोल्न पनि सकिएन।' महिला–पुरुषबीचको भेद र स्वतन्त्रबारे उनले सिड्नी पुगेर धेरै बुझिन्। पुरुषजत्तिकै महिलाहरू स्वतन्त्र भएर हिँडेकोमा उनी खुसी पनि भएकी थिइन्। 'नेपालमा मात्र महिला भनेर हेपिँदो रहेछ,' उनले भनिन्, 'उता त महिला–पुरुष कुम मिलाएर हिँड्दा रहेछन्।' त्यहाँको सफा सहरमा थुक्नका लागि समेत भेउ नपाउँदा उनी समस्यामा परेकी रहिछन्। 'जता हेर्योू, उतै सफा। हिँड्दा पनि दाग लाग्दाजस्तो,' उनले भनिन्, 'थुक्न पनि मनले नमान्ने खालको।' काठमाडौंमा छँदा उनी सिड्नीमा रहेका छोरासँग नियमित भिडियो च्याटमै कुरा गर्थिन्। उता गएपछि पनि उनले सासूआमासँग अनलाइनबाटै कुरा गरेको सुनाइन्। ८० दिनपछि नेपाल फर्कने बेलामा उनको मन अमिलो भएको थियो। किनकि त्यत्रो दिन सँगै बसेको छोरालाई उतै छोडेर उनी आउँदै थिइन्। 'विदेशमा जति रमाए पनि घर फर्कंदा भने खल्लो लाग्दो रहेछ,' छुटिनुपर्दाको पीडा उनले सुनाइन्, 'छोरालाई पनि यतै लिएर आऊँ जस्तो भएको थियो तर उसको कामले कहाँ मिल्थ्यो र!' source:nagariknews
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments