सलाई किन्न गएकी आमा नफर्किदा छोराछोरीको विचल्ली
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पर्वत, मंसिर २९ - गत बिहीबार साँझ १२ वर्षीया छोरी मालती र सात वर्षीय अरुणलाई कोठामा एक्लै छोडेर 'सलाई किन्न जान्छु' भन्दै बाहिर निस्किएकी विष्णु परियार कहिल्यै नफर्किने गरी बिदा भइन् । उनको मृत्युले उनीसँगै आश्रय लिइरहेका दुई छोराछोरीको बिचल्ली भएको छ । बाग्लुङको तित्याङ घर भई दुई वर्षदेखि पर्वत सदरमुकाममा डेरा गरी मजदुरी गर्दै आइरहेकी परियारको शनिबार दिउँसो कालीगण्डकी किनारमा शव भेटिएको थियो ।
परियारको मृत्युको कारण खुलेको छैन । प्रहरीले उनको मृत्युको कारणबारे खोजी भइरहेको जनाएको छ । कामबाट डेरा फर्किएपछि विष्णु विद्यालयबाट फर्किएका छोराछोरीलाई खुवाउने काममा व्यस्त हुन्थिन् । त्यो दिन पनि कामबाट फर्किएर खाना बनाउने तयारी गर्दै थिइन् । 'बोडी र पिँडालुको तरकारी पकाउन ठिक्क पार्नुभएको थियो,' '१२ वर्षीया छोरीले भनिन्, 'भाइ र म 'होमवर्क गर्दै थियौं । सलाई किनेर आउँछु भनेर जानुभएको हो ।'
भात पकाएर तरकारी पकाउने तर्खर गर्दै गरेकी आमा सलाई किनेर कतिबेला फर्किन्छिन् र खाना खाउँला भनेर बसेका दिदीभाइ त्यो रात भोकै भए । 'ममी आउनुहोला भनेर कुर्दाकुर्दै हामी अगेनाको डिलमै निदाएछौं, 'मालतीले रुँदै भनिन्, 'राति ब्युँझिँदासम्म ढोका खुलै थियो, ममी आउनुभएन । हामी भोकै सुतेको निद्रा लागेन ।'
सदरमुकामकै एक विद्यालयमा कक्षा ७ मा पढ्ने मालती र कक्षा ३ मा पढ्ने अरुण त्यो दिनदेखि विद्यालय गएका छैनन् । 'ममी कतिबेला आउनुहुन्छ अङ्कल ? हाम्रो ममी मर्नुभएको छ रे हो ? कहिले आउनुहुन्छ भन्नुस् न अङ्कल', संवाददातासँग यस्ता प्रश्न गरेर हैरान पारेका ८ वषर्ीय अरुण आमा सम्भ“mदै छटपटिएका छन् । 'भाइले जतिबेला पनि ममीलाई बोलाइदे भन्छ । मलाई पनि जतिबेलासुकै ममीकै याद आउँछ । अनि केको स्कुल जानु ?', मालतीले भनिन् ।
दुई वर्षअघि श्रीमान् (अर्जुन) सँगै विष्णु कुस्मा आएकी हुन् । विदेशमा कमाइ राम्रो हुने भनेर श्रीमान् १७ महिनाअघि दुबई गएपछि विष्णुले सदरमुकाममै घर ढलान गर्ने काम गर्दै आइरहेको उनकी दिदी सुकमायाले बताइन् । 'राम्रैसँग केटाकेटी पालेकी थिई,' 'दिदीले भनिन्, 'मलाई आफ्ना केटाकेटी पाल्नै समस्या छ, अब यिनीहरूको बिचल्ली हुनेभयो ।'
विष्णुको मृत्युबारे उनका श्रीमान्लाई खबर गरिएको भए पनि विदेश गएको ऋण चुक्ता नभएका कारण तत्काल आउन नसक्ने बताएको सुकमायाले बताइन् । दुबई जाँदा डेढ लाख ऋण खोजेर गएका अर्जुन त्यहाँ राम्रो कमाइ नहुँदा अझै ५० हजार ऋण तिर्न बाँकी रहेकाले आउन नसकेको उनको भनाइ छ ।
सदरमुकामदेखि उत्तरतिर जंगलको छेउमा आमासँगै डेरामा बस्दै आइरहेका दुई बालबालिका आमाको मृत्यु भएको दिनदेखि ठुलीआमा -सुकमाया) को छाप्रोमा बस्दै आइरहेका छन् । उनीहरूको पढाइ र भविष्यबारे चिन्ता लागे पनि आफ्नो आम्दानी केही नभएका कारण पालनपोषण गर्न नसक्ने उनले बताइन् ।
यता शनिबार कालीगण्डकी किनारमा मृत भेटिएकी विष्णुको आइतबार जिल्ला अस्पतालमा पोस्टमार्टम भएको छ । आफ्नो कामबाहेक अरू मानिससँग नचाहिने कुरामा नबोल्ने परियार निकै मिजासिलो स्वभावकी भएको उनका सहकर्मी बताउँछन् । 'ऊ (विष्णु) अरूसँग धेरै बोल्दिनथी, काममा जहिले पनि अरू साथीभन्दा समयमै आउँथी,' एक वर्षदेखि सँगै काम गर्दै आइरहेकी रुपा परियारले भनिन्, 'उसलाई काममा लगाउने ठेकेदार भागेको भन्ने सुनेकी छु ।' विष्णुलाई काममा लगाउने ठेकेदार (रामबाबु शाह) केही दिनदेखि सम्पर्कविहीन भएपछि स्थानीयले हत्याको आशंका गरेका छन् ।
छोरी मालतीले समेत त्यो दिन (बिहीबार) ठेकेदारसँग मोबाइलमा नराम्रो कुराकानी भएको बताएकी छन् । 'त्यो दिन त्यो ठेकेदार अंकलसँग मोबाइलमै ममी कराउनुभएको थियो,' मालतीले भनिन्, 'अघि पनि कहिलेकाहीं फोनमा झगडा हुन्थ्यो ।' फोनमा झगडा भएको केही समयपछि ममी बाहिर निस्किएको उनले बताइन् ।
आइतबार जिल्ला अस्पताल परिसरमा जम्मा भएका विष्णुका आफन्तले उनको मृत्यु नभई हत्या भएको हुनाले घटनाको यथार्थ पत्ता लगाई दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:




0 comments