यी कारण ले माघ ८ मा संबिधान आउदैन!
|
- See more at: http://www.ratopati.com/2015/01/02/195122.html#sthash.29aViGQQ.mcMx56hG.dpuf
काठमाडौं,पुस १८ – बाहिर–बाहिर प्रमुख दलका प्रमुख नेताहरुले माघ ८ गते संविधान आउँछ भन्न अझै छाडेका छैनन् । तर, पार्टीका आन्तरिक बैठक र आफू नजिकका पत्रकारहरुसँग नेताहरुले भन्न थालेका छन्– यो माघ त गैगयो । नेताहरुलाई एउटा भय के छ भने माघ ८ मा संविधान आउँदैन भनेर बाहिर भन्दा आलोचना हुन्छ भन्नेछ । सभामुख सुवास नेम्वाङले ७ गते पनि माघ ८ मा संविधान आउन सक्छ भन्दै हिंड्छन्, अहिले नेताहरु पनि उनकै बाटोमा लागेका छन् । कसैले पहिला मुख खोल्ने भन्ने मात्र हो, तर नेताहरुले माघ ८ मा आउँदैन भनेर आन्तरिक रुपमा भने सबै तहमा आफ्ना कुरा पु¥याएका छन् । यो त समयको मात्र कुरा भयो । माघ ८ मा संविधान नआउने प्राविधिक विषय मात्र होइन । यसका पछाडि प्रमुख दलका आ–आफ्ना गम्भीर चासोहरु छन् । ती चासो सम्बोधन नहुँदासम्म यो माघ त के अर्को वर्षको माघमा पनि संविधान नआउने निश्चित छ । अहिले प्रक्रियाबाट भए पनि संविधान बनाउँछौं भनेर कांग्रेस एमालेका नेताहरुले भनिरहनुको पछाडि त विपक्षीहरुका कारण संविधान बनेको होइन भनेर सन्देश दिनु मात्र हो । खासमा कांग्रेस–एमालेकै शीर्ष नेताहरु पनि माघ ८ मा संविधान चाहँदैनन् । विपक्षी एमाओवादी र मधेशी दलका लागि पनि ८ माघमा संविधान चाहिएको छैन । संविधान निर्माणको प्रक्रिया कम्तीमा तीन महिनाको हुन्छ अब तीन साता मात्र बाँकी छ समय । तर, पनि नेताहरुले झूट बोल्न छाडेका छैनन् । नेताहरुका आ–आफ्नो चासोमा अन्तर्राष्ट्रिय समुदायको पनि भूमिका रहेको देखिन्छ । त्यसो भए नेताहरुका चासो के हुन् त ? यो पनि रोचक नै छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई ८ माघमा संविधान जारी गर्नु छैन । पहिलो कुरा उनी एमाले अध्यक्ष ओलीले भने जस्तो सबैको विरोध रहँदारहँदै पनि संविधान बनाउने पक्षमा छैनन् । सकेसम्म सहमति गर्ने उनको दाउ छ । त्यसबाहेक उनी माघ ८ मा संविधान बनाउन किन हतारमा छैनन् भने संविधान बनाएपछि आफ्नो पद गुम्छ भन्ने उनलाई राम्रेसँग थाहा छ । जानी जानी आफ्नो पद हतारमा किन धरापमा पार्ने भन्ने कुरा उनका निकटकाहरुले पटक पटक सम्झाइरहेका छन् । पार्टीका नेता, सभासद्देखि कार्यकर्तासम्मले सत्ताको लाभ लिइरहेको बेला किन सरकार छाड्न हतार गर्ने भनेर कांग्रेसभित्रै यो विषय छलफलमा रहने गरेको कांग्रेसका एक सभासद्ले बताए । कांग्रेस सभापति एवं प्रधानमन्त्री कोइराला अर्को राणनीतिक कदममा पनि छन् । सकेसम्म उनी महाधिवेशनसम्म आफ्नो पद छाड्न चाहँदैनन् । सरकारमा रहेकै बेला महाधिवेशन भए सभापति बन्न कसैले नरोक्ने उनको बुझाइ छ । पार्टी सभापति भएपछि कार्यवाहक कोइराला परिवारकै सदस्यलाई दिने र त्यसपछि मात्र राष्ट्रपति बन्ने उनको योजना छ । उनी त्यही योजनामा लागेका कारण संविधान बनाउन उनको हतार छैन । यदि सरकारमा नभएको बेला महाधिवेशन भए सभापति शेरबहादुर देउवा हुने ब्रिफिङ संस्थापन पक्षका नेताहरुले कोइरालासामु राखेका छन् । यसमा कोइराला कन्भिन्स छन्, स्रोतले भन्यो । कांग्रेस सभापति कोइरालाको जस्तै एमाले अध्यक्ष पनि माघ ८ मा संविधान ल्याउन नचाहने नेतामा छन् । उनले बाहिर जतिसुकै हल्ला गरे पनि भित्रै देखि उनी ८ माघमा संविधान आउनुपर्छ भन्नेमा छैनन् । ओली पहिलो मिसन भारत र चीनलाई खुसी पारेर संविधान बनाउन पहल गरेका छन् । संघीयता लगायतका विषयमा उनको अडान त्यसैको उपज हो । भारत र चीनलाई खुसी बनाएर संविधान बनाउन सके भावी प्रधानमन्त्रीको लागि सहज हुने ओलीको बुझाइ छ । स्रोतका अनुसार आजको दिनसम्म ओलीले आफ्नो च्यानल ठीक पार्न सकेका छैनन् । उनी ८ माघ संविधान आए पनि प्रधानमन्त्री बन्ने अवस्थामा छैनन् । आफ्नो प्रधानमन्त्री पद सुनिश्चित नभएसम्म ओली संविधान जारी गर्न दिने पक्षमा छैनन् । संविधान पनि बन्ने र प्रधानमन्त्री पनि अरु कोही हुने भयो भने विरामी ओलीका लागि त्यो ठुलो झट्का हुने एमालेका नेताहरुको बुझाइ छ । ‘अनिश्चित प्रधानमन्त्रीको दौडले ओलीलाई अप्ठ्यारोमा पारेको छ । यसैको कारण उनी ८ माघमा संविधान बनाउन चाहँदैनन्’ एमाले स्रोतको भनाइ छ । सत्तारुढ दलहरुका जस्तै विपक्षीहरुका पनि आफ्ना चासो छन् । आफूले उठाएका मुद्दा सम्बोधन नहुने संविधानको औचित्य नभएपछि ८ मा संविधान आउनुपर्ने कारण विपक्षीहरुका लागि आवश्यक भएको छैन । सत्तारुढ दलहरु संघीयता, शासकीय स्वरुपदेखि निर्वाचन प्रणालीसम्ममा पछाडि हटेका छन् । यो बेला एकीकृत माअोवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेशी नेताहरु विजय गच्छदार, महन्थ ठाकुर र उपेन्द्र यादव पनि ८ माघ टा¥यो भने राजनीतिक पहलकदमी आफ्नो नजिक आउने बुझाइमा छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
|
Category: News
0 comments