कमल थापालाई रथयात्रा गर्न कहाँबाट आयो चार करोड ?
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं,पुस २० – जतिबेला भारतमा चलचित्र पिकेले धर्मप्रति अपमान गरेको अभियोगमा हलहरु तोडीदै थियो ठिक त्यसैबेला कमल थापा पिकेकै टिकट बापतको १४ लाख रुपैंया बोकेर रथ यात्रामा हानिए ।
डिसेम्बर १९ मा गोपीकृष्ण हलका मालिक तथा राप्रपा नेपालका कोषाध्यक्ष उद्धव पौडेलको सहयोगमा च्यारीटी सो गरि उठाइएको रकमबाट रथयात्रा गरिएको प्रचार गरियो । तर सो अभियानमा भारतीय हिन्दुवादी संगठनको लगानी भएको पाइएको छ ।
हिन्दु राष्ट्र पुनस्थापनाको लागि भन्दै ९ पुसदेखि झापाबाट सो रथयात्रा गरिएको रथयात्रामा भारतीय हिन्दु अतिवादी संगठनको चार करोड लगानी भएको रहस्य रातोपाटीले पत्ता लगाएको हो । ‘घोषित लक्ष भन्दा पैसा कमाउनको लागि रथयात्रा गरिएको देखियो ।’ थापा निकट स्रोत भन्छ ‘रथयात्रा गर्नको लागि भन्दै करोडौं रकम अन्तर्राष्ट्रिय संगठनले लगानी ग¥यो । राष्ट्रवादी आन्दोलनमा विदेशी लगानी कसरी स्वीकार गर्नु ।’
यस्तो छ लगानीको नालीबेली
नेपाललाई धर्म निरपेक्ष बनाउन विदेशी लगानी रहेको कमल थापाले पटक–पटक भन्दै आएका छन् । तर उनकै धार्मिक अभियानमा भने भारतीय लगानी रहेको पाइएको हो । उनको रथयात्रालाई विश्व हिन्दु महासंघ भारत, र भारतीय जनता पार्टी संवद्ध हिन्दुवादी संगठनको सदभाव् रहदै आएको थियो । अभियानको क्रममा विभिन्न भारतीय नम्बर प्लेटको गाडी समेत छुटेको थिएन । स्रोतका अनुसार सो गाडीमा भारतीय हिन्दुवादी नेताहरु सहित राप्रपा नेपालका केन्द्रिय स्तरका नेताहरु सवार थिए ।
रथ यात्रामा प्रयोग भएका भारतीय नम्बर प्लेटको गाडी
थापाको फोटो र राप्रपाको झण्डा राखिएको सो गाडिमा भारतीय हिन्दु अतिवादी शिवसेनाका मानिसहरु सवार थिए । ८ दिने रथयात्राको लागि सो गाडी प्रयोग गरिएको थियो ।
सेतो रंगका आधा दर्जन महिन्द्रा स्क्यारोपियो गाडि भारतबाट पठाइएको स्रोतको दाबी छ । स्मरण रहोस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग थापाले राजतन्त्र फर्काउन भन्दै सहयोगको याचना गरेका थिए । भारतीय जनता पार्टीले समेत राप्रपा नेपालले जस्तै रथयात्रा गर्दै आएको छ । मोदीले भारतीय प्रधानमन्त्री बन्नु अघि नै थापासँगको भेटको क्रममा आर्थिक भौतिक लगायत सहयोग गर्ने बचन समेत दिएका थिए ।
विश्वस्त स्रोतका अनुसार उनको अभियानलाई शिव सेनाले ३ करोड लगानी गरेको थियो । भने भारतीय हिन्दुवादी अन्यसंगठन र नेपालबाट १ एक करोड उठाइएको थियो ।
त्यस्तै राप्रपा नेपाल सुत्रका अनुसार अभियानको लागि २४ जना सभासद्बाट २० हजारको दरले चन्दा उठाइएको थियो । अभियानको क्रममा प्रयोग गरिएको रथमात्रै ७ लाख ५३ हजार खर्च गरि बनाइएको थियो । सो रथ संसदीय दलका उपनेता रामकुमार सुब्बाको डिजाइनमा तयार पारिएको खुल्लामञ्चमा भएको सभामा थापाले बताएका थिए ।
आफ्नै पार्टीका असन्तुष्ट समूहले कमल थापामाथि लगाएको आरोप
५० वटा विभिन्न गाडी प्रयोग गरिएको थियो । मेची महाकाली रथयात्रा नाम दिएको सो अभियानमा ७०० जना नेता कार्यकर्ता सवार थिए । एक जनाको लागि ५० हजार खर्च गर्ने छुट भएको समेत थापा निकट एक कार्यकर्ता बताउछन् । ‘यो रथयात्रा होइन मोज गर्नको लागि संभ्रान्तहरुले गर्ने रमाईलो मात्रै हो ।’ स्रोत भन्छ ‘ हिन्दु राष्ट्रको नाममा पैसा कमाउने उद्देश्यले यसो गरियो । खुल्लामञ्चमा सभा गर्दा मात्रै मिडियालाई लाखौं रकम बाँडेको बताइएको छ । प्रत्यक्ष प्रसारणको लागि भन्दै चार वटा टेलिभिजनलाई लाखौं रकम बाडिएको थियो ।
सोही कार्यक्रम स्थलमा उनकै कार्यकर्ता कमल थापा ‘भ्रष्ट’ भन्दै आन्दोलीत बन्दा झडप समेत भएको थियो ।
विदेशी लगानी छैन : श्रेष्ठ
रथ यात्रामा विदेशी लगानीको विषयमा राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठलाई सम्पर्क गर्दा उनले भने ‘हामी राष्ट्रवादी आन्दोलनमा विदेशी लगानी स्वीकार गर्दैनौं ।’
भारतीय नम्बर प्लेटको गाडी चाहिँ के हो नी भनेर रातोपाटीले प्रश्न गर्दा गाडि प्रयोग भएको बारे समेत आफूलाई थाहा नभएको बताए । ‘हाम्रो अभियानमा खासै खर्च भएन स्वविवेकले चन्दा उठेको थियो ।’ उनले भने ‘आगामी २५ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवरण तयार पार्नेछ ।’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments