मन्त्री बन्न रोकेको झोंकमा न्यायाधीश बमको हत्या भएको खुलासा
|
January 03, 2015
काठमाडौं, तीन बर्ष अघि न्यायाधीश रणबहादुर बमको गोली प्रहार गरी हत्या भएको घटना चुरेभावर राष्ट्रिय एकता पार्टीको आधिकारिकता विवादसँग सम्बन्धित मुद्दामा गरेको फैसलाका कारण भएको कुरा प्रहरीले जनाएको छ।
न्यायाधीश बमको हत्यामा संलग्न रहेका ५ जना मध्ये ४ जनालाइ प्रहरीले शनिबार सार्वजनिक गरेको छ । यस घटनामा बाबु थापा भनिने चुरेभावर पार्टीका तत्कालीन उपाध्यक्ष मेघ बहादुर थापालाई प्रहरीले सार्वजनिक गरेको हो । उनीसँगै यस हत्यामा संलग्न रहेका पाँच जना व्यक्तिहरू मध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले थापाका साथमा शिव भन्ने जनकपुरका करण चौधरी, नवीन भन्ने प्रेमराज खड्का, जनकपुरकै दीपक कर्ण पक्राउ गरेको जनाएको छ । अर्का भगवान भन्ने सञ्जय ईस्माइली भने अहिले फरार रहेको बताइएको छ । शुरुमा करण चौधरीले न्यायाधीश बमका पिएसओलाई गोली प्रहार गरेका थिए, त्यस लगत्तै भगवान र करणले न्यायधीश बमलाई गोली हानेका थिए । उक्त घटनास्थलबाट चारवटा हतियारहरू फेला परेको थियो । जसमध्ये दुईवटा मात्र प्रयोग भएका थिए।
प्रहरीका अनुसार वि.सं. २०६४ सालमा पार्टी अध्यक्ष केशव मैनालीसँग चर्केको विवादमा निर्वाचन आयोगले आफू नेतृत्वको पार्टीलाई मान्यता दिएको तर मैनाली अदालत गएपछि बमको एकल इजलासले मैनालीलाई जिताएको बदलास्वरूप यो हत्या भएको प्रहरीले जनाएको छ ।
वि.सं. २०६४ सालमा चुरे भावरको पार्टीको पार्टी उपाध्यक्ष समेत रहेका बाबु थापा भनिने मेघबहादुर थापाको तत्कालिन पार्टी अध्यक्ष केशव मैनालीसँग विवाद भएको थियो । यस विवादपछि पार्टी नेतृत्व कसको रहने भन्ने विषयमा बाबु थापाले निर्वाचन आयोगमा उजुरी गरेका थिए । निर्वाचन आयोगले सोही साल दुवै पक्षलाई बोलाएर मिलापत्र गराएर केशव मैनालीलाई अध्यक्ष सदर गराएको थियो।
त्यसपछि दुबै पक्षले गरेका फरक फरक अधिवेशनपछि कुन पार्टी आधिकारिक भन्ने बिषयमा विवाद पुनः चर्कियो र यसको मुद्दा निर्वाचन आयोगमा पुग्यो । निर्वाचन आयोगले बाबु थापाको पार्टीलाई मान्यता दिएको थियो।
त्यसपछि निर्वाचन आयोगको निर्णय विरुद्धमा तत्कालिन अध्यक्ष केशव मैनाली सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चका तत्कालिन न्यायधीश रणबहादुर बमको एकल इजलासले निर्वाचन आयोगको निर्णय बदर गर्दै पुरानै नेतृत्व (केशव मैनाली)लाई निरन्तरता दिने अन्तरिम आदेश सुनाएको थियो।
प्रहरीका अनुसार बाबु थापाले आफ्नो पार्टीको नेतृत्वमा पार्टी रहेको खण्डमा आफू गृहराज्य मन्त्री समेत हुने माहोल बनिसकेको अबस्थामा सर्वोच्चले पार्टीका पूर्व अध्यक्ष केशव मैनालीलाईनै अर्को आदेश नभए सम्म जारी राख्ने अन्तरिम आदेश दिएको कारणले यसको बदला स्वरूप यो हत्या योजना बुनिएको कुरा अनुसन्धानबाट खुलासा भएको छ ।
उक्त हत्यामा संलग्न बाबु थापा र प्रेम थापालाई प्रहरीले शुक्रबार सर्लाही क्षेत्रबाट पक्राउ गरेको थियो ।
|
Category: News
0 comments