हिउँमा फसेका इन्जिनियरहरुको सेनाद्वारा उद्धार
|
नुवाकोट : टेलिकमको टावर बनाउन रसुवाको यार्सा गाविसमा पुगेका इन्जिनियरको टोली हिउँमा फसेपछि उनीहरुलाई शनिवार नेपाली सेनाले उद्धार गरेको छ ।
रसुवाको उच्च हिमालीक्षेत्रमा विहीबारदेखि हिमपात भएपछि यार्सा र धुन्चेको सिमानामा रहेको फूलमान डाडाँमा नेपाल टेलिकमको रेडियो लिङ्क टावर जडान गर्न गएका नेपाल टेलिकमका ६ जना इन्जिनियर फसेका थिए ।
उक्त क्षेत्रमा तीनफिट बाक्लो हिउँ जमेपछि इन्जिनियरको टोली अलपत्र परेको थियो । सेनाको टोली विहानै पठाएर उनीहरुको उद्दार गरिएको रसुवाका प्रहरी नायव उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए । रसुवागढी नाकामा टेलिकमको सेवा सुरु गर्न यार्साको फूलमान डाँडामा टावर निर्माण कार्य भइरहेको छ । नेपाल टेलिकम रसुवा शाखाका तोयानाथ रिजालका अनुसार उनीहरु शुक्रवार विहानदेखि अलपत्र थिए ।सदरमुकाम धुन्चेदेखि १६ किलोमिटर उत्तरमा रहेको सो स्थानमा धुन्चेबाट नेपाली सेनाको टोली पठाएर उद्धार गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईले बताए ।
यसैवीच, तीन दिनदेखि हिउँदे वर्षात जारी रहेकाले नुवाकोट र रसुवाका उच्च भेगमा हिमपात भएको छ । हिमपातले सर्वसाधारण घर बाहिर निस्केका छैनन् । विहानैदेखि चोक तथा घरमै आगो तापेर बसिरहेका छन् ।
|
Category: News
0 comments