वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुल्ला
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७२ बैशाख ११ शुक्रबार
काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला गरेको छ। मन्त्रिपरिषद्को सामाजिक समितिले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका-२०७२ गत मंगलबार स्वीकृत गरेपछि सरकारलाई आफ्ना नागरिक विदेशमा घरेलु कामदारका रूपमा पठाउने बाटो खुला भएको हो। यसअघि गएकाहरू समस्यामा परेपछि दुई वर्षअघि सरकारले घरेलु कामदार पठाउन रोक्का गरेको थियो।
विगतमा व्यक्तिगत तबरबाटमात्र घरेलु कामदार पठाउने गरिएकामा अब व्यक्तिले पठाउन पाउने छैनन्। अबदेखि म्यानपावर कम्पनीले मात्र घरेलु कामदार पठाउन पाउनेछन्।
व्यक्तिगतरूपमा पठाउँदा समस्यामा परेमा जिम्मेवारी लिने कोही नहुने भएकाले त्यसरी पठाउन रोकिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ।
घरेलु कामदार पठाउने म्यानपावरलाई वैदेशिक रोजगार विभागमार्फत छुट्टै सूचीकृत गरिनेछ। हाल सञ्चालनमा रहेका म्यानपावर कम्पनीले नै तोकिएका मापदण्ड पूरा गरी घरेलु कामदार पठाउन पुन: सूचीकृत हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ।
गएका एकजनामात्र कामदार समस्यामा परेमा त्यस्ता म्यानपावरलाई कारबाहीको व्यवस्था गरिएको छ। उद्धार गर्न नसक्ने कम्पनी खारेजीमा पर्नेछन्। नियमित रूपमा म्यानपावर कम्पनीको कामकारबाही अनुगमन गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङका कानुनी सल्लाहकार केशवराज जोशीले जाने कामदारलाई कानुनी रूपमा पूर्ण सुरक्षित बनाएर घरेलु कामदार पठाउन खुला गरिएको जानकारी दिए।
'संस्थाले मात्र पठाउन पाउने र एक जनामात्र कामदार समस्यामा परेमा पनि पठाउने म्यानपावरमाथि कडा कारबाही हुने व्यवस्था गरिएको छ', उनले भने। कामदार समस्यामा परेमा पठाउने कम्पनी खारेज गर्ने व्यवस्था भएको उनले जानकारी दिए।
नेपाली कामदार लिने रोजगारदाताले घरेलु कामदारको तलब अनिवार्य रूपमा बैंक खातामा जम्मा गरिदिनुपर्नेछ।
यसका लागि नेपाली बैंकको शाखा रहेको ठाउँमा खाता खोलिदिनुपर्नेछ। तलब जम्मा गरेको भौचरको प्रतिलिपि नेपाली नियोगमा पेस गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ।
विगतमा घरेलु कामदारले समयमा तोकिएको तलबसुविधा नपाएको गुनासो आएकाले बैंकिङ प्रणाली अनिवार्य गरिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ।
रोजगारदाताले चार महिनामा एकपटक घरेलु कामदारलाई नेपाली नियोगमा अनिवार्य रूपमा उपस्थित गराउनुपर्ने व्यवस्थासमेत निर्देशिकामा छ।
घरेलु कामदारलाई कुटपिट गर्ने, मोटो रकम लिएर अर्को ठाउँमा पठाउने गरिएका गुनासो आउन थालेपछि रोजगारदातालाई जिम्मेवार र जबाफदेही बनाउन मालिक आफैंले कामदार लिएर नेपाली दूतावासमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको हो।
घरेलु कामदारको सुरक्षाका लागि करार अवधिभर चौबीसै घन्टा लागू हुने गरी रोजगारदाताले बिमा गरिदिनुपर्ने व्यवस्था पनि छ। कतिपय रोजगारदाताले निश्चित घन्टा तोकेर सो अवधिको मात्र बिमा गराउने गरेकाले करार अवधिभर बिमाको व्यवस्था गरिएको हो।
घरेलु कामदारसँग कुनै पनि शुल्क लिन पाइनेछैन। जुनसुकै देशमा पठाए पनि नि:शुल्क हुनेछ। टिकट, भिसालगायत कुनै पनि शीर्षकमा खर्च उठाउन पाइनेछैन। घरेलु कामदारका रूपमा महिला तथा पुरु ष दुवैलाई पठाउन दिइनेछ।
जाने कामदारलाई अनिवार्य तालिम दिनुपर्नेछ। घर तथा बगैंचाको काम गर्ने, खाना बनाउने, सरसफाइ गर्ने, ड्राइभिङलगायतका घरायसी काम गर्न जानेलाई घरेलु कामदारको परिभाषाभित्र पारिएको छ।
कुबेत, कतार, साउदी अरब र मलेसियामा यसअघि गएका कामदारलाई चर्को यातना दिइएको, एजेन्टले कामदारको किनबेचसमेत गर्ने गरेका, समयमा तलब नदिने, बिरामी हुँदा औषधिउपचारसमेत नगरिएका कारण घरेलु कामदार पठाउन खुला गर्न नहुने भन्दै विभिन्न संघसंस्थाले विरोध गर्दै आएका छन्।
कुबेतमा गएका सयौं घरेलु कामदारले अहिले नेपाली सेल्टरमा आश्रय लिइरहेका छन्। रोजगारदाताले घर फिर्ता हुन अनुमति नदिएसम्म नेपाल आउन नपाउनेलगायतका समस्या त्यहाँ गएका घरेलु कामदारले भोग्नुपरेको छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments