''सफल भएर मात्र पुग्दैन, असल डाक्टर बन्न सक'' बहालवाला एसएसपीको डाक्टर छोरीलाई जन्मदिनको शुभकामना
|
बहालवाला एसएसपीको डाक्टर छोरीलाई जन्मदिनको शुभकामना
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
प्यारी छोरी श्रद्धा,
तिमी काठमाडौं मेडिकल कलेजबाट एमबबिबिएस पढाइ सेकेर डाक्टरी अभ्यासको तयारिमा छौं। यो क्षण मेरो मन आनन्दित छ। विरामीको सेवालाई पेशाको रूपमा स्वीकारी कर्म क्षेत्रमा जाने तरखरमा रहेकी तिमीलाई केही भन्नु मैले आफ्नो कर्तव्य सम्झेको छु।
छोरी, २०३० साल साउनको कुरा हो। म जम्मा दश वर्षको थिएँ। हाम्रो परिवारले अकल्पनीय दुखद् घटना बेहोर्नु परेको थियो। त्यसको कारण अरू केहि होइन, अस्पताल र डाक्टर थिए। घटना यस्तो थियो। तिम्रो हजुरबुवा साविक झैं अफिसबाट साँझ घर फर्कनुभयो। उहाँलाई पेट दुख्न सुरु भइसकेको थियो। दुखाइ असैह्य भएपछि उहाँलाई कुदाएर वीर अस्पताल लगियो। बुवा हवाइ विभागबाट हाम्रो घर ललितपुरको इमाडोल फर्किरहँदा नै उहाँलाई दुखाई सुरु भइसकेको रहेछ। उहाँ जानेबुझेको मानिस। एपेन्डिक्सको दुखाईबाट उहाँलाई मुक्ती दिलाउन वीर अस्पताल पुर्याइयो।
उहाँले पटक पटक डाक्टर र नर्सहरुलाई चाँडोभन्दा चाँडो अप्रेसन गरिदिन भन्नुभयो। बिन्ती
गर्नुभयो। त्यो दिन सम्भव भएन। भोलिपल्ट अप्रेशन गरिदिने आश्वासन पाइयो। हामी
आत्तिरेहका थियौं। अस्पताल व्यवस्थापन तथा सम्बन्धित सर्जनको लापरबाहीका कारण
दोस्रो दिन पनि अप्रेसन हुन सकेन।
'डाक्टरको बिशेष काम पर्यो,' हामीलाई साँझपख खबर गरियो, 'अप्रेसन नहुने भयो।' बुवा पढेलेखेको मानिस। यो अप्रेसन ढिला गर्दा अनिष्ट हुन सक्छ भन्ने भय उहाँलाई थियो। 'मेरा छोरा साना छन्। मैले बाँच्नुपर्छ। मेरो अप्रेसन छिटो गर्देऊ,' असैह्य पीडामा छटपटाइरहनुभएको बुवाले धेरैपटक अनुरोध गर्नुभयो।
अस्पताल व्यवस्थापनका कसैले वास्ता गरेनन्। दोस्रो दिन राति बुवा हामी सबैलाई सधैको निम्ति छोडेर जानुभयो। एपेन्डीक्सको पीडामा छटपटाउँदै देह त्याग्नुभएको उहाँले बेहोरेको सकस शव्दमा वर्णन गर्न सकिने खालको थिएन। बुवाको असैह्य छटपटी थामिएर उहाँ मूढो जस्तो हुनुभयो।
डाक्टरको 'बरदान'ले उहाँलाई सकसबाट छुटकारा मिल्यो। हाम्रो जीवनमा सकस सुरू भयो। साउनको कालो आकाश चुक घोप्टाएभन्दा अन्धकार भयो। आफन्तजनले बिधिको बिडम्वना भनि हामीलाई सान्तवना दिन्थे। हामीले पिताको न्यानो वात्सल्य र शितल छहारी सधैंको निम्ति गुमायौं। आज ४१ बर्ष भयो। तर, हामी विधातालाई दोष थुपार्ने पक्षमा छैनौं। जिम्मेवारी अस्पताल व्यबस्थापन र सम्बन्धित डाक्टरको थियो । तत्काल प्रतिरोध गर्न सक्ने सामर्थ पनि हामीसँग थिएन। डाक्टरको गल्ती हामीले चुपचाप सह्यौं।
समयमै अस्पताल आएका बिरामी स्वास्थ्यसंस्था र डाक्टरको गैरजिम्मेवारीको कारण मृत्युवरण गर्न बाध्य पार्ने हाम्रो स्वास्थ्य सेवाको स्तर अहिले कस्तो छ? तिमी जस्ता हजारौं स्वास्थ्यकर्मी, व्यवस्थापक र सरोकारवाला निकायले गम्भीर रूपमा बुझ्नुपर्दछ- विरामी नै ईश्वर हुन्। सेवा नै तिमीहरुको आराधना।
छोरी तिमीले विरामीको सेवा गरेर मात्र पुग्दैन। स्वास्थ्य संस्था सुधार्ने प्रतिबद्धता पनि गर्नुपर्दछ। अनि मात्र तिम्रो हजुरबुवा जस्ता अरू कसैले अकालमा मर्नुपर्दैन। हाम्रो परिवारले जस्तो पीडा अरु विरामीको परिवारले भोग्नुपर्दैन।
छोरी, डाक्टर गोविन्द केसीबारे तिमीले प्रशस्त जानकारी लिएकै हुनुपर्छ। केसीको सेवा भावबारे बुझेकै हुनुपर्छ। स्वास्थ्य क्षेत्र सुधार सम्बन्धी उहाँले उठाएका सवालले आम नेपालीबीच चासो र चर्चा चुलिएको छ । देशको स्वास्थ्य क्षेत्रका विकृती, विसंगती र बेथितीको पोष्टमार्टम गर्ने काम सुरू भएको छ। स्वास्थ्य सेवामा आम नागरिकको पहुँच विस्तार र चिकित्सा सेवामा भएको व्यापारीकरणका बिषयमा आज देशभित्र र बाहिर व्यापक बहस शुरू भएको छ । यिनै बिषयलाई लिएर हामीजस्ता आम नागरिकले अस्पताल र चिकित्सकको कारण आफन्तजन गुमाउनु परेको दुखद् पीडा अबका दिनमा कसैलाई नपरोस् भन्ने संकल्प नै डाक्टर केसीको महाअभियान हो भन्ने बुझ्नू।
छोरी पेशा सम्मानित भएर मात्र पुग्दैन, सम्मानित पेशाको आडमा हुन सक्ने अनैतिक र अमर्यादित एंव गैर व्यवसायिक हर्कतको अन्त्य पनि उत्तिकै जरुरी छ। तिमीले यस्ता कुरा बुझ हैं। डाक्टर केसी जस्तो ऋषिमन कुन कलेजलाई सम्बन्धन दिने र कुनलाई नदिने भन्ने सीमित घेरामा मात्र पर्न हुन्न भन्ने कुरा पनि असत्य चाँही होईन। यति महत्वपूर्ण र संवेदनशील बिषयको सम्बोधन विवेकसम्मत र दीर्घकालीन दृष्टिकोणका साथ यथासक्य छिटो गर्नुपर्छ, विलम्व गर्नु हुँदैन। अन्त्यमा, छोरी बिरामी र आफन्तका लागि डाक्टर देवतातुल्य हुन्छन्। यो भावनाको सधै ख्याल गर्नू । भोलि तिम्रो कारणले हामी झैं बिरामीको स्वजनले वात्सल्य र छहारी गुमाउन नपरोस्। पैसाको अभावले कुनै पनि बिरामीले तिमीले दिने सेवाबाट बन्चित हुन नपरोस्। ‘सफल भएर मात्र पुग्दैन, असल डाक्टर बन्न सक श्रद्धा,’ जन्म दिनको मंगलमय शुभकामना।
तिम्रो बाबा
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
0 comments