Hindi Films

‘मलाई धरहराले निलेन’,धरहरा ढल्दा बाँचेका कृष्ण

Unknown | 15:29 | 0 comments

 

dharahara_surviver
काठमाडौ, वैशाख १७ - बाग्लुङ गलकोटका ४८ वर्षीय कृष्णप्रसाद शर्मा काठमाडौं आएको केही वर्ष भइसक्यो । नयाँ बानेश्वर कान्तिपुर क्याफेका कुक उनले राजधानीका धेरै ठाउँ घुमिसकेका थिए । तर, धरहरा चढ्ने साइत भने जुरेको थिएन । शनिबार बिहान एक्कासी उनमा धरहराको टुप्पोबाट काठमाडौं नियाल्ने रहर जाग्यो ।
उनको साढूदाई बाग्लुङबाट आमालाई जचाउन काठमाडौं आएका थिए । अस्पताल भर्ना भएकी आमालाई कुर्न बाबुलाई राखेर दुई दाजुभाई खाना खाने बहानामा बाहिरिए । ठिंग उभिएको धरहराले उनीहरु ध्यान खिच्यो । दुवैले खाना खानु अघि एकपटक धरहरा चढ्ने निधो गरे । साढू दाइले गएर टिकट लिए ।
शनिबार भएकोले धरहरामा बाक्लो चहलपहल थियो । उनीहरु पनि भीड छिचोल्दै धरहराको टुप्पैसम्म पुगे । सबैभन्दा माथी रहेको महादेवलाई ढोग गरे र दक्षिणा चढाए ।
‘उक्लदै गर्दा दाइसँग खासै कुरा भएन । भीड थियो । धेरै सिंडी उक्लनुपर्ने भएकोले हामी दुवै हाप्दै पनि थियौ,’ कृष्ण सम्झन्छन्, ‘हामीले माथि पुगेर शिवलिंगको दर्शन गर्‍यौं । तल ओर्लंदा कौसीबाट एकछिन काठमाडौंलाई नियाल्यौं । काठमाडौं फुङ उडेको जस्तो देखियो । खासै मन परेन । हामी तल झर्न थाल्यौं ।’
शनिबार काठमाडौंको मौसम सफा थिएन । त्यसैले पनि उनहरुलाई त्यहाँबाट देखिएको राजधानीले लोभ्याउन नसकेको हुनपर्छ ।
तल झर्दै गर्दा कृष्णलाई धरहरा हल्लिएको भान भयो । धरहरामात्र होइन पुरै नेपाल ७.६ रेक्टर स्केलको महाभूकम्पले हल्लाएको छ भन्ने त्यहाँ भएका कसलाई के थाह ? धेरैलाई त के भयो भनेर थाह नपाउँदै धरहराले निल्यो ।
‘भित्र एकैछिनमा कोलाहल मच्चियो । सबैजना ठेलमठेल गर्दै भर्‍याङबाट ओर्लन थाले,’ उनले भने, ‘कोही रुँदै थिए । कोही चिच्याउँदै थिए ।’
कृष्णका अनुसार उनको साडुदाइ अलि माथि नै थिए । उनी भने ठेलठाल गर्दै केही तल आउन भ्याए । केही तल पुगेपछि उनी अगाडी बढ्नै सकेनन् । उनी त्यही भर्‍याङमा थुचुक्क बसे । उनीभन्दा माथिको तल्ला भाँचिएर उछिट्टियो । अब धरहरा भित्रैबाट बादल लागेको कालो आकाश छर्लङ देखिन्थ्यो । ‘म सायद चौथो तल्लासम्म ओर्लिसकेको थिएँ । भर्‍याङमा धेरैजना बेहोस भएर लडेका थिए,’ उनले भने, ‘माथि भत्किसकेकोले मैले पनि आशा मारिसकेको थिएँ । त्यसैले मलाई कोसिस गर्न पनि मन लागेन । दिमागले केही सोच्नै सकेन । मनमा के थियो, अहिले याद पनि छैन ।’
त्यसपछि के भयो उनलाई केही पत्तो छैन । उनी ब्यूँझिदा अस्पतालको बेडमा थिए । ‘मलाई भर्‍याङमा बसेकोमात्र याद छ । त्यसपछि के भयो मलाई थाह छैन,’ उनले भने, ‘मलाई धरहराबाट उछिटिएको भागबाट उद्दार गरेर यहाँ ल्याएको रे ।’
कृष्णलाई भने भाग्यले जोगायो । तर, उनको साडुदाइको ललाटमा भने दैवले जीवनरेखा त्यति नै कोरिदिएको रहेछ । उनी महाभूकम्पको शिकार भए । घरको एक्लो छोरो, बिरामी आमा, बूढा बाबु, स–साना छोराछोरी । कृष्णलाई त्यो सोचले आफ्नो आलो घाउले भन्दा बढी पीडा दिइरहेको छ । निधारमा गहिरो चोट लागेको छ । दाहिने हात भाँच्चिएको छ । शरीरभर कोतरिएको र काटेको घाउको हिसाब गरेर पनि साध्य छैन । ट्रमा सेन्टरको रेड जोनमा लडिरहेका उनलाई के गरुँ के गरुँ भइरहन्छ ।
‘जापानको लागि अप्लाई गरेको छु,’ उनले भने, ‘अब उताबाट होटलमा सोधपुछ गर्ने बेला भएको छ । म यहाँ लडेको छु । के हुने हो थाह छैन ।’
अनिश्चितताबीच अस्पतालमा लडिरहेका कृष्णको मनमा एउटा आशा भने छ । उनी भन्छन्, ‘म यो घटना त कहिल्यै बिर्सन सक्दिनँ । तर, चाँडै निको हुन्छु र नयाँ जीवन नयाँ तरिकाले जिउँछु ।’

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments