ट्रकमा राहतका सामानसहित ‘३५ जना एउटै गाडीमा पुरिए’
![]() |

भुकम्पले भत्काएको घरमा थिचिएका व्यक्ति निकाल्ने प्रयास गर्दै अमेरिकी उद्धार टोली । टोलीले यो घरबाट घाइतेलाई जीवितै निकालेको थियो । तस्बिर सौजन्य : अरुण खड्का
म चरिकोटमा बसोबास गर्छु । मंगलबार चिलंखास्थित पुख्र्याैली घर जाँदै थिएँ । चरिकोटबाट सिंगटीसम्म बसमा गएँ । बाटो बिग्रएको भन्दै गाडी नचल्ने भएपछि हिँड्नुपर्ने भयो । स्काभेटरले भत्किएको बाटो बनाइरहेको थियो । झोरङ भन्ने ठाउँ पुग्दा जमिन हल्लिन थाल्यो । भीरबाट ढुंगा खस्यो । भूकम्प आएको जस्तो लागेर खोला किनारको खाली ठाउँमा उभिए । घर जान नसक्ने भएपछि म सिंगटीतिरै फर्कन थालें । पहिरोले बाटो भत्किसकेको रहेछ । बाटो बनाउँदै गरेको दुइटा डोजर पुरिइसकेको रहेछ । स्काभेटर चलाउनेमध्ये एक जनाचाहिँ हराएको भन्ने थाहा भयो । यही बाटो हुँदै चिलंखातर्फ राहत लिएर गएको बा२ख ८२६२ नम्बरको ट्रक पहिरोले पुरिएको देखें । ट्रकमा राहतका सामानसहित करिब ३५ जना पनि रहेछन् । यसमध्ये सबैजसो पुरिएका थिए । पुरिएका व्यक्तिको हात, खुट्टा देखिन्थ्यो । केही त चिच्याइरहेका थिए । पानी भन्दै कराइरहेको पनि सुनिन्थ्यो । केही बेरमा नेपाली सेनाको टोली आइपुग्यो । त्यसपछि पहिरो छल्दै खोलाको तिरैतिर फर्कंदै थिएँ । बाटोभर डोका, जुत्ता यत्रतत्र छरिएका थिए । सिंगटी आएर बुझ्दा लादुक ६ बोलबोलेमा बलेरो गाडी पुरिएको भन्ने सुनें । छल्दैछल्दै सिंगटी आइपुगें । यहाँ त झन् सबै घर ढलेको देखें । बजारभन्दा माथिको भीर नै खसेको रहेछ । पुरिएका व्यक्तिको खोजी भइरहेको थियो । आफन्त पुरिएपछि कोही चिच्याइरहेका थिए । यहाँ पनि कतै बस्ने ठाउँ नपाएपछि चरिकोटबाट मोटरसाइकल मगाएर फर्किएँ । चरिकोट आउने बाटो पनि धेरै ठाउँमा बिग्रिएको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments