'पहाडलाई दुख्दा मधेस रुन्छ'
![]() |
जनकपुरधाम : 'पहाडलाई दुख्दा मधेस रुन्छ।' यो भनाइ अहिले जनकपुरमा निकै प्रचलित भएको छ। शनिबार आएको महाभूकम्पमा परी पहाडी जिल्लामा हजारौंले ज्यान गुमाएको र लाखौं घरबारविहीन अवस्थामा पुगेको बेला मधेसबाट यही नाराका साथ सहयोगी हातहरू पहाडी जिल्लामा पुग्न थालेका छन्।
राजनीतिक रूपमा संघीयताको सवाललाई लिएर पहाड र मधेसबीच केही खाडल देखिए पनि विपत्को बेला हामी नेपाली एक छौं भन्ने भावनाका साथ मधेसीहरू जिल्लाजिल्लामा राहत संकलन अभियानमा जुटेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साहले बताए।
मधेसलाई राज्य पक्षबाट उपेक्षाको सिकार बनाइएको हुनाले आफ्नो पहिचान र अधिकारका लागि केही मनमुटाव देखिए पनि ती सबै कुरा बिर्सेर दाजुभाइ र दिदीबहिनीलाई सक्दो सहयोग गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।
जउवा संघका महासचिव जितेन्द्र साहको नेतृत्वमा १५ जनाको टोली नौ लाखबराबरको राहत सामग्री लिएर बिहीबार नै भूकम्प प्रभावित जिल्ला दोलखा पुगेको र यो टोली फर्केपछि थप राहत सामग्री लिएर अर्को टोली भूकम्प प्रभावित जिल्लातर्फ जाने तयारीमा रहेको साहले बताए।
त्यसैगरी भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुग्न नसकेको अवस्थामा तराईका जिल्लाबाट राहत सामग्री सोझै प्रभावित जिल्लामा वितरण गर्ने योजनाका साथ भूकम्पको केन्द्रबिन्दु मानिएको गोरखा जिल्लाको ताप्ले गाविसमा जनकपुर डेभलपमेन्ट युथ फोर्सले एक ट्रक राहत सामग्री सोझै पीडीतलाई वितरण गरेको छ।
फोर्सका संयोजक सरोज मिश्रको नेतृत्वमा ताप्ले पुगेको टोलीमा रहेका ज्ञानेन्द्र झाले टेलिफोन सम्पर्कमा भने, 'यहाँको दु:ख देख्दा आफ्नो परिवारको सदस्य नै विपत्तिमा परेको अनुभव भइराखेको छ।'
भूकम्पपीडितलाई सहयोग गर्न पतञ्जली योग शिविर जानकीनगरले पनि गोरखा जिल्लामा छुट्टै राहत सामग्री बाँडेको छ। मारबाडी सेवा समिति जनकपुरले दोलखाको चरीकोटमा सोझै राहत वितरण गर्ने जनाएको छ।
प्रशासनमार्फत राहत सामग्री वितरण गर्दा पीडितसम्म नपुगेको गुनासो आइरहेको हुनाले सोझै सामग्री वितरण गरेको पतञ्जली योग शिविरका वैद्यनाथ साहले बताए।
मधेस र पहाडलाई एक अर्काको शत्रुका रूपमा उभ्याउने प्रयास केही राजनीतिक दलबाट भए पनि समस्या पर्दा पहाडीको सक्दो सहयोग गर्न मधेसी तत्पर भएको कुरा अहिलेको अवस्थामा प्रमाणित भएको महिला अधिकारकर्मी प्रमिला साहले बताइन्।
आफ्ना पति प्रदीप सिंहको अगुवाइमा धनुषाको ढल्केबरमा करिब दुई लाखको राहत सामग्री संकलन गरी गोरखा पठाएकी प्रमिलाले भनिन्, 'आफ्नो अधिकारका लागि मधेसीहरूले आवाज उठाउँदा उनीहरूलाई पहाडीको दुस्मनझैं प्रतिबिम्बित गर्नु राजनीतिक खेलबाहेक अरू केही होइन।'
धनुषा जिल्लाबाट हालसम्म पाँच ट्रक राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाइएको र केही सामग्री नेपाली सेनालाई जिम्मा लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले बताए।
राहत सामग्रीमा त्रिपाल, औषधि, खाद्यसामग्री, प्लेट, ग्लास, चिनी, नुन, साबुन, टर्च, पानीलगायत सामान रहेको जनाइएको छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments