तिम्रो नर्स बन्ने सपना पुरा हुन्छ,! (धरहरासँगै लडेकी प्रसंशा)
![]() |

काठमाडौं : ' मेरो भन्दा पनि बिरामीको सेवा गर्ने रहर कतै कुण्ठित हुन्छ की भन्ने डरले धेरै सताउन थालेको छ मलाई, नर्स बन्ने चाहनाले बाँच्ने रहर पलाइरहेको छ, साहस बटुल्न थालेको छु अचेल,' बैशाख १२ गते गएको बिनासकारी भूकम्पले धरहरा पल्टिएपछि गंभिर घाइते हुँदा महिनौ दिनदेखि अस्पतालको शैयामा दिन बिताउन बाध्य स्याङजाकी १७ वर्षिया प्रशंसा श्रेष्ठ सुरुमै यति भन्दै भक्कानिन्।
आडैमा रहेकी उनकी आम पशुपतीले पनि मन थाम्न सकिन । प्रशंसालाई अंगालो मार्दै तिम्रो सपना म जसरी पनि पुरा गर्छु चिन्ता नगर भन्दै सम्झाउन थालिन। थापाथलीस्थित नर्भिक अस्पतालको दोस्रो तलाको दुई सय ३० नम्बरको बेडमा रहेकी प्रसंशाको बाँचिएको दायाँ खुटको घुँडासम्मको भाग ठूलो बेन्डेजले भरिएको छ, सिधा बनाउन तलबाट अर्को फलामको डण्डी टेकाइएको छ ।
माथि निस्किएका छन चम्किला फलामकै डन्डीहरु । जसलाई धेरैबेर हेर्न आँट जो कसैले गर्न सक्दैनन । दाँया आँखामूनी निको हुँदै गरेको घाउ प्रष्ट देखिन्छ।
आकासी रङको छिर्केमिर्के गाउनमा रहेकी प्रशंसाले एकैछिनमा आफुलाई सम्हाल्दै भनिन,' म यो देशको असल नर्स बन्न चाहन्छु त्यसका लागि जस्तोसुकै कठिनाई बेहोर्न पनि तयार छु ।'
त्यति भन्दै गर्दा क्यारेवियन कलेजकी विज्ञानकी अव्वल विद्यार्थी प्रसंशाका फेरी आँखा रसाए। सानै उमेरमा बुवा गुमाएकी प्रसंशा नर्स बन्ने रहरकै कारण एसएलसी पास गर्नासाथ काठमाडौंको यात्रा तय गरिन।
आर्थिक क्षमता कमजोर भएकाले चुनौति थियो उनको विज्ञान पढेर नर्स बन्ने उद्देश्य पुरा गर्न । तर पनि पछाडी सरिनन उनकी आमा ।
छोरीको पढाइ बिग्रने डरले उनी आमा पनि गाउँ छोडेर ललितपुरको धोवीघाटमा कोठा लिएर संगै बस्न थालिकी थिइन । भूकम्प जाने दिन उनी स्याङजाबाट आएकी दिदीलाई घुमाउन धरहरा गएकी थिइन । धरहराको नौ तलामा पुगेर फोटो खिरहेका बेला भूकम्पले हल्लाएको मात्रै याद छ उनलाई ।
आमा पशुपतिका अनुसार शल्यक्रिया भएपछि अस्पतालको सिसियुमा राखिएको केहीबेरमै उनको होस आयो । प्रशंसालाई थाहा पाउँदा सबै सपना जस्तो लाग्यो। वास्तविकता महसुस भएपछि एक टक्क उनले आफ्नो खुटमा हेर्न थालिन।
' सारै दु:ख लाग्यो, एकछिन त आफैलाई हेर्न सकिन,' उनले भनिन,'तर सोचे म त बाँच्नु छ, बिरामीको सेवा गर्नु छ, त्यही भएर पनि ठिक हुनुपर्छ भन्ने लाग्यो ।'
प्रशंसाको उपचार पनि राम्रै र नि:शुल्क भइरहेको छ। अस्पतालका डा. प्रविण नेपाल, सिंगापुरदेखि आएका डा.सुहिल खान लगायतको टोलीले उनको खुटको शल्यक्रिया गरिसकेका छन। चिकित्सको उपचारप्रति उनलाई विश्वास छ त्यहीभएर पनि उनी आफुलाई निको हुन्छ भन्ने ठानिरहेकी छिन ।
तर उनलाई ११ को अन्तिम परीक्षा आउन अव एक महिना पनि बाँकी रहेकोले चिन्ता थपिएको छ । 'म त ह्विल चियरमा गएर भए पनि म परीक्षा दिन चाहन्छु,एक वर्ष लस भयो भने मेरो सपनामा ठेष लाग्न सक्छ,' उनले भनिन,' एक हप्ता पढे भने पनि पास हुन्छु जस्तै लाग्छ, छिटो निको होस भन्ने चाहना मात्र छ यतिबेला मेरो।'
आफ्नो शरीरको भन्दा पनि उनको परीक्षाको डर र चिन्ता दुवै छ उनलाई छ । किनकी उनलाई बिएससी नर्सिङगर्ने ठूलो रहर छ उनलाई ।'
मलाई अरुलाई सहयोग गर्दा खुसी मिल्छ,अहिले पनि आफुलाई यस्तो भइरहेको छ,मलाई सहयोग गर्न नर्सहरु आएको देख्दा झन मनोबल उच्च हुन्छ उनले भनिन,' अनि सोच्छु म पनि यस्तै सेवा गर्छु पछि बिरामीको ।'
उनलाई नर्स बनेपछि विकट गाउँमा पुगेर दु:खीको सेवा गर्ने ठूलो रहर छ । 'सुगममा त सबैले सेवा दिन्छन, बिरामी आफै पनि अस्पताल आउन सक्छन,' उनले भनिन, 'दुर्गममा त कोही पुग्दैनन त्यसैले पनि म त्यहाँ जान चाहन्छु तर निको भइन भने गाहे हुने छ मलाई यतिकै बस्न।'
नर्सिङलाई अरुले दु:खी पेसा भने पनि आफुलाई रमाइलो र सेवामुलक भएको उनले बताइन । अस्पतालमा उपचार गरिरहेका बेला बसन्त चौधरी पाउण्डेशनका अध्यक्ष बसन्त चौधरी आफै गएर उनलाई हौसाला बढाएको सम्झिरहेकी छिन उनले।
'म पीडाले छट्पटाइरहेको थिए, त्यही बेला बसन्त सर आएर मलाई सान्तोना दिनु भयो, तिमी नर्स बन्ने चाहना हो भने हामी पुरा गरिदिने छौ,यही कलेजमा तिमीलाई अध्ययन गर्ने व्यवस्था मिलाइदिन्छौं, पीर नगर भन्नु भयो,' उनले भनिन,' उहाँले त्यस्तो भन्दा ममा झन सहास भरिएको छ, अहिले छिट्टै निको भएर पढाइ पुरा गर्ने धोको बढेको छ ।'
चौधरीले भेटेरै त्यस्तो सान्तोना दिएपछि प्रसंशाकी आमा पनि दङ छिन । 'छोरीलाई चोटले पीडा त दिइरहेको छ तर यो पीडा कम गर्न यो अस्पतालले सहयोग गर्दा अलिकती भए पनि राम्रो आशा पलाएको छ मेरो भरोसा भन्नु नै यही छोरी हो, उसको सपना पुरा गर्नु मेरो पनि दायित्व हो।' प्रसंशालाई भेट्न आउने सबैले हौसाला दिइरहेका छन ।
विशेषगरी कलेजका साथीहरु आएर हौसला दिदा प्रशंसा खुसी हुन्छिन। उनको कलेजमा सबैलाई थाहा छ उनी राम्रो मात्र होइन असल नर्स बन्न चाहन्छिन् भन्ने ।
'उपचार राम्रो भइरहेको छ, छिट्टै निको भएर मैले छोरीलाई घर लग्न पाउँ त्यही छ मेरो कामना,' पशुपतीले भनिन,'मलाई त मेरो भन्दा छोरीको पीर छ त्यसमाथि पनि उसको नर्स बन्ने गहिरो सपना पुरा हुन्न की भन्ने डर समेत छ ।'
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments