Hindi Films

कांग्रेस संस्थापनको नेता रामचन्द्र, कृष्ण सिटौलाले चुनौती दिने

Unknown | 13:31 | 0 comments


 

कोइराला परिवारबाट महामन्त्रीमा मात्रै दाबी

ramchandra paudel
६ फागुन, काठमाडौं । सुशील कोइरालाको निधनपछि नेपाली कांग्रेस संस्थापनको नेता बन्ने प्रयासमा रहेका रामचन्द्र पौडेलले कोइराला परिवारका दुई सदस्यको समर्थन पाएका छन् । यससँगै उनी अब संस्थापनको सभापति उम्मेदवार बन्ने पक्का जस्तै भएको छ ।
सुशीलको निधनपछि कांग्रेसमा कोइराला परिवारका तीन सदस्य सुजता कोइराला, शशांक कोइराला र शेखर कोइराला छन् । तर, तीनैजना तत्काल सभापति बन्ने सम्भावना छैन ।
कोइराला परिवारका दुई सदस्य शशांक कोइराला र शेखर कोइराला पौडेललाई नै सभापतिको उम्मेदवार बनाउन सहमत भएका छन्
अर्को समूहबाट वरिष्ठ नेता शेरबहादुर देउवा निर्विकल्प उम्मेदवारका रुपमा आइसकेका छन् ।
तर, संस्थापन पक्षले नेता छान्न सकेको छैन । सुशील आफैं उम्मेदवार बन्ने तयारीमा रहेका बेला माघ २५ गते उनको असामयिक निधन भयो । तत्कालीन सभापतिसमेत रहेका कोइरालाको निधनपछि कांग्रेसको संस्थापन गुटमा नेता छान्न निकै सकस भइरहेको छ ।
संस्थापन पक्षको नेतामा कार्यवाहक सभापति पौडेलसँगै महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाले दाबी छ ।
कोइरालाको निधनपछि संस्थापनका नेता कार्यकर्ताले पौडेलको दाबीलाई स्वभाविक मानेका छन् । कोइराला जीवित रहादासम्म संस्थापनका झण्डै ९० प्रतिशत नेता कार्यकर्ताको उनीसागै झोझै पहुाच रहन्थ्यो । उनीहरु कोइरालाको बेडसम्म पुग्न सक्थे ।
तर, उनको पछि धेरै पौडेलतिर ढल्किएका छन् । कोइराला परिवारका दुई सदस्य शशांक कोइराला र शेखर कोइराला पौडेललाई नै सभापतिको उम्मेदवार बनाउन सहमत भएका छन् ।
दुई कोइरालाको समर्थन पाएपछि पौडेल अन्य नेताहरुलाई मिलाउने र देशभर समर्थन जुटाउने अभियानमा जुटेका छन् । पौडेलले सभापतिको उम्मेदवारका दुई आकांक्षी प्रकाशमान सिंह र कृष्ण सिटौलासँग आफ्ना सहयोगीहरुमार्फत सम्वाद गरिरहेका छन् । यसबाहेक सुशील कोइरालाका विश्वास पात्र मानिएका दिलेन्द्र बडू, फर्मुल्लाह मन्सुर, आनन्दप्रसाद डुंगानाहरुले कसलाई समर्थन गर्छन् भन्नेले पनि अर्थ राख्छ ।
कार्यबाहक सभापति रामचन्द्र पौडेलको पक्षमा समर्थन जुटाउन जिल्ला सभापतिहरुसँग लबिङ गर्ने जिम्मा काभ्रेका सभापति मधु आचार्यले लिएका छन् । केन्द्रीय सदस्यहरुसँग सम्वाद गर्ने टोलीको नेतृत्व भने नविन्द्रराज जोशीले गरिहेका छन् ।
हालै मात्र जोशी आफ्नो टीम लिएर प्रकाशमानसिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए । उनले महामन्त्री प्रकाशमान सिंहसँग रामचन्द्र पौडेललाई नै सभापति बनाएर अघि जाने प्रस्ताव राखेका छन् ।
तर, गणेशमान सिंहका छोरा प्रकाशमानले भने पौडेललाई समर्थन गर्ने गि्रन सिग्नल दिइसकेका छैनन् । उनी पौडेलभन्दा आफू लोकपि्रय भएको मान्छन् । पौडेलका दूत बनेर पुगेका जोशीलाई सिंहले सोधेका थिए- ‘मैले जत्ति भोट ल्याउँछ त रामचन्द्रले ?’
पौडेल निकटवर्तीहरुका अनुसार संस्थापन पक्षबाट सिंहलाई वरिष्ठ उपसभापति बनाउने योजना बनाइएको छ । र, उपसभापति सुनिश्चित हुन्छ भने सिंह पौडेललाई समर्थन गर्न सकारात्मक देखिएका छन् ।
कांग्रेसमा अहिलेको विधान अनुसार एकजना मनोनित उपसभापति मात्रै रहने प्रावधान छ । तर, संस्थापन पक्षले विधान संशोधन गरेर तीनजना उपसभापति राख्ने र एकजना वरिष्ठ उपसभापतिको चुनाव गर्ने प्रस्ताव गरेको छ ।
विधान संशोधन गर्न सके प्रकाशमान सिंहलाई वरिष्ठ उपसभापतिमा चुनाव लडाउने उनीहरुको तयारी छ । तर, विधान संशोधन गर्न सजिलो छैन । वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष विधान संशोधनको विपक्षमा छ ।
पौडेललाई सिटौलाको चुनौती
Krishna Sitaula
जोशीले चाक्सीबारीबाटै अर्का महामन्त्री कृष्ण सिटौलालाई पनि फोन गरेर भेट्न आउन लागेको बताएका थिए । तर, काठमाडौंको चुनावलाई लिएर सिटौला रिसाए ।
भीमसेनदासलाई हराउन महामन्त्री प्रकाशमानले अघि सारेका सबुज बानियाँलाई सघाएको भन्दै सिटौलाले फोनबाटै आक्रोश पोखेका हुन् ।
यद्यपि जोशीलगायतले सिटौलालाई भेटेका छन् । तर, सिटौलाले पनि पौडेललाई स्वीकार गर्ने सम्भावना निकै कम छ । सिटौला आफैं सभापतिको उम्मेदवार बन्ने कसरतमा छन् । र, उनले केही दिनमै उम्मेदवारी घोषणा गर्न सक्ने आँकलन गरिएको छ ।
सिटौला आफूलाई पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारी मान्छन् र, नेताहरुसँगको सम्वादमा अब आफूले मात्रै कोइराला परिवारको ‘लिगेसी’ धान्न सक्ने उनले दाबी गर्ने गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले महामन्त्रीद्वय सिंह र सिटौलालाई भेटेको स्वीकार गरे । पार्टीको आन्तरिक विषयमा छलफल भएको भन्दै थप खुलाउन मानेनन् ।
कोइराला परिवारबाट महामन्त्री मात्रै ?
sujata shasank shekhar
शशांक कोइराला वीपी पुत्र हुन्, उनीप्रति कांग्रेसमा अलगै मोह छ । यद्यपि उनी पार्टीको नेतृत्व तत्काल सम्हाल्ने अवस्थामा छैनन् । डा. शेखर कोइराला नोनाकी छोरा हुन्, जसलाई कोइराला परिवारमा लामो
समयदेखि दोस्रो दर्जाको कोइरालाको व्यवहार हुँदै आएको छ ।
सुशीलको निधनपछि शेखर र शशांक दुबैजना तत्कालै पार्टीको मुख्य नेतृत्व कोइराला परिवारबाट सम्भव नभएको निष्कर्षमा पुगेका छन् । यही निश्कर्षका आधारमा उनीहरु रामचन्द्र पौडेललाई समर्थन गर्ने सोचाइमा पुगेका हुन् ।
स्रोतहरुका अनुसार पौडेललाई सभापतिमा अघि सारेर महामन्त्री आफूले लिने कोइराला परिवारमा समझदारी बनेको छ । र, महामन्त्रीको उम्मेदवार डा. शेखर हुने देखिएको छ ।
रामचन्द्र पौडेललाई सभापति बनाउने अभियानमा लागेका एक जिल्ला सभापतिले अनलाइनखबरसँग भने- अहिले औपचारिक घोषणा भइनसकेको अवस्थामा व्यक्तिको नाम नभनौं । तर, महामन्त्रीको उम्मेदवार कोइराला परिवारबाटै हुने निश्चितजस्तै छ ।’
सुजाताको पुरानै ‘अडान’
शेखर र शशांकले रामचन्द्र पौडेलेलाई समर्थन गर्ने सम्भावना बढे पनि सुशील जीवित हुुँदासम्म सभापतिमा उम्मेदवारी दिन्छु भनेकी सुजाता कोइरालाले अहिलेसम्म आफ्नो अडान छाडेकी छैनन् ।
संस्थापन पक्षले साझा उम्मेद्वारबारे छलफल गर्न सुजातालाई बोलाएको थियो । तर, उनले आफ्नो पूर्वनिर्णयमा पुनर्विचार नगर्ने जवाफ संस्थापन पक्षका नेताहरुलाई दिएकी छिन् ।
यद्यपि कतिपय कांग्रेस नेताहरुको तर्क के छ भने सुशील जीवितै रहँदा सभापतिमा लड्छु भन्ने सुजाताको अभिव्यक्ति उपसभापति सुनिश्चित गर्ने अभिप्रायले आएको थियो । तर, सुशीलको निधनपछि उनले आफ्नो निर्णयमा पुनर्विचार गर्ने सम्भावना छ । विधान संशोधन गरेर पदाधिकारीहरु बढाउन सके पौडेल प्यानलमा सुजाता उपसभापति हुने सम्भावना छ ।
अनलाइनखबरसँगकुरा गर्दै कांग्रेस नेतृ सुजाताले आफ्नो पुरानो अडान यथावतै रहेको बताइन् । उनले भनिन्-‘मैले सभापतिमा उठ्छु सार्वजनिकरुपमै भनिसकेकी छु ।’
रामचन्द्र पौडेललाई ‘कोइराला परिवार’को आधिकारिक उम्मेद्वार बनाउने प्रयासमा सुजाताको अडानले व्यवधान पुर्‍याएको छ ।

Category:

0 comments