सिंहदरवार घेराउ : मोर्चाभित्र महाभारत, फितलो प्रदर्शन
![]() |
काठमाडौं – संघीय गठबन्धनले घोषणा गरेको ‘राष्ट्रिय आन्दोलन’ अन्तरगत आइतबार सिंहदरवार घेराउको कार्यक्रम आयोजना गरेको छ । घेराउले राजधानीको ट्राफिक व्यवस्थालाई अस्तव्यस्त पारे पनि जुन प्रकारको ‘धक्का’ दिने घोषणा गठबन्धनले गरेको थियो, त्यस अनुरुप सडकमा कार्यकर्ता उतार्न भने गठबन्धन असफल रह्यो ।

मधेस आन्दोलनपछि गरिएको दोस्रो चरणको आन्दोलनमा उल्लेख्य रुपमा गठबन्धनको एक घटक संयुक्त लोकतान्त्रिक मोर्चाका कार्यकर्ताहरु उल्लेख्य रुपमा काठमाडौंमा उत्रने छन् भन्ने आँकलनका साथ प्रहरीले व्यापक तयारी गरेको थियो । फिल्डमा दुई एसपीको कमाण्डमा सशस्त्र र जनपद गरी २५ सय प्रहरी खटाएको थियो ।
तर, गठबन्धनका कार्यकर्ताहरुको न्यून उपस्थितिले प्रहरी हौसिरहेका थिए । ‘हामीभन्दा थोरै छन् आन्दोलनकारी । हामी २५ सय जति छौं, उनीहरु १५ सयमै सिमित छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापाले रातोपाटीसँग कुरा गर्दै भनिरहेका थिए ।
मोर्चाभित्र टसल
आजको कार्यक्रम असफल जस्तै देखिनुमा गठबन्धनमा रहेको मधेसी मोर्चाभित्रको ‘टसल’ भएको मोर्चाकै नेताहरु बताउँछन् । आन्दोलनको कार्यक्रम शुरु हुनअघि नै गठबन्धनमा असन्तुष्टि शुरु भइसकेको थियो । सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले गठबन्धनको बैठकलाई बहिस्कार नै गर्दै आइरहेका थिए । वैशाख ३१ गते आन्दोलनको पूर्वसन्ध्या गठबन्धनको पत्रकारसम्मेलनमा दुवै पार्टीका नेताहरु उपस्थित भएर ‘कुनै विवाद छैन’ भन्ने भ्याए । तर, आजको कार्यक्रममा विवादको झल्को पुनः देखिएको छ ।

गठबन्धनका संयोजक उपेन्द्र यादवको कमाण्डमा माइतीघर क्षेत्र रहेको छ भने राजेन्द्र महतोको कमाण्डमा हनुमानथान क्षेत्र रहेको छ । यादवको कमाण्डमा रहेको क्षेत्रमा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ भने महतोको क्षेत्रमा २ सयको हराहारीमा मात्र कार्यकर्ताहरु रहेका छन् ।
यादवले झापादेखि कैलालीसम्मका आफ्ना कार्यकर्ताहरुलाई आजको कार्यक्रममा उपस्थित गराएका छन् । तर, महतोको कमाण्डमा रहेको क्षेत्रमा पार्टीका सक्रिय केही नेताबाहेक अन्य कार्यकर्ताको उपस्थिति छैन । महतोले आजैको कार्यक्रमलाई भनेर २ हजार झण्डा तयार गरेका थिए । तर, त्यो उनकै पार्टी कार्यालयमा थन्किएको छ ।
उपेन्द्रसँग सशंकित
यादवले मोर्चालाई वेवास्ता गर्दै जनजाति पार्टीहरुसँग मिलेर गठबन्धन गठन गरेदेखि नै मधेसी मोर्चाका अन्य नेता सशंकित रहेका छन् । विशेष गरेर मधेस आन्दोलन ताका हिट रहेका महतो सबैभन्दा बढी सशंकित छन् । संयोजकको दाबेदार भएका कारण पनि उनी यादवसँग सन्तुष्ट छैनन् । मोर्चालाई गठबन्धनमा विलय गराएको भन्दै उनले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् ।
यस आन्दोलनको सबै श्रेय उपेन्द्रले लाने देखेपछि अन्य नेता असन्तुष्ट छन् । त्यही भएर आजको कार्यक्रममा उनले कम कार्यकर्ता उतारेको मोर्चाका नेताहरुको आरोप छ ।
गठबन्धनको संयोजक बन्ने विषयमा पनि ठूलो विवाद देखिएको थियो । आफूलाई संयोजक नबनाएपछि तमलोपा महन्थ ठाकुर पनि असन्तुष्ट छन् । यही आन्दोलनकै कारण उनले तीन दिने भारत बसाईलाई लम्बाएको स्रोत बताउँछ । यसअघि विद्यार्थीको अधिवेशनमा पनि भाग लिनसमेत उनी आएनन् ।
यता, दुई महिना अघिदेखि तय भएको कार्यक्रम छाडेर वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी जिल्ला गएका छन् । हिजोसम्म काठमाडौंमा रहेका उनी महाधिवेशनको तयारी भन्दै जिल्ला झरे । नवालपारसीमा असार ६ देखि ८ पार्टीको महाधिवेशन तय गरिएको छ । उता, जितेन्द्र सोनल केही कार्यकर्तासँग नागढुंगामै अड्किएका छन् ।
त्यस्तै महेन्द्रराय यादवको पार्टी सानो छ । उनीसँग कार्यकर्ता कमै छन् । त्यस्तै राजकिशोर यादवको पार्टीमा उनका श्रीमती र केही नेतामात्र बाँकी छन् ।
Source: Ratopati
![]() |
Category: News
0 comments