Hindi Films

भिडियोमा हेर्नुहोस् काठमाडौंको मासु वधस्थलको अवस्था, वधशालामा किरैकिरा

Unknown | 22:51 | 0 comments


 

असार २५, २०७३- 
चरणबद्ध रूपमा बजार अनुगमन गरिरहेको सरकारी टोलीले शुक्रबार भने राँगाभैंसीको मासु अस्वस्थ तरिकाले बेचिरहेको फेला पारेको छ ।
आपूर्तिमन्त्री गणेशमान पुनको नेतृत्वमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयोजकत्वमा शुक्रबार भएको अनुगमनका क्रममा वधशाला अत्यन्त फोहोर हुनुका साथै किरासमेत भेटेको हो । अनुगमनका क्रममा सतुंगलमा रहेको मोजविल वधशालामा यस्तो फेला परेको हो ।
‘मासु अव्यवस्थित रूपमा यत्रतत्र छरिएको, भुँडी, टाउको खुट्टा एउटै स्थानमा राखिएको थियो । राँगाभैंसी वध गर्ने नालामा असंख्य किरा फेला पर्‍यो,’ आपूर्ति विभागका अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठले भने, ‘ती वधशालामा सिलबन्दी गरेका छौं ।’ विभागका अनुसार घरसँगै वधस्थल सञ्चालन गरिएको थियो । वध गर्ने स्थान अत्यन्त दुर्गन्धित थियो । फोहोर व्यवस्थापन गरिएको थिएन ।
‘वधस्थल निरीक्षण गर्दा सञ्चालकले अत्यन्त लापरबाही गरेको देखियो । सरसफाइका लागि पानीको व्यवस्था पनि थिएन,’ अनुगमन निर्देशक श्रेष्ठले भने, ‘मानव स्वास्थ्यका लागि अति नै प्रतिकूल रहेकाले सरसफाइ गर्न लगाई वधशाला सिलबन्दी गरेका छौं ।’
तत्काल सिलबन्दी गर्दा वधशालामा रहेको मासु र मासुबाट निस्कने फोहोरले स्थानीयवासीलाई थप असर पुग्ने हुँदा सञ्चालकलाई सफा गर्ने समय दिएको थियो । सफाइपश्चात ती वधशाला बन्द गरिएको विभागले जनाएको छ ।
‘अनुगमन पश्चात करिब ४ घण्टा सरसफाइका लागि समय दिएका थियौं,’ विभागका शाखा अधिकृत लालबहादुर बुढाथोकीले भने, ‘करिब ३ बजे स्थानीय प्रहरी, स्थानीय बासिन्दा, वध सञ्चालकको रोहवरमा सिलबन्दी गरेका छौं ।’
यो वधशालामा दैनिक करिब १२ वटासम्म राँगा/भैंसी काट्दै आएको विभागले जनाएको छ । अनुगमनमा सहभागी कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालका अनुसार सञ्चालकले सामन्य मापदण्ड पनि पूरा गरेको थिएन । मासु तौल गर्ने ढक तराजु गुणस्तर तथा नापतौलमा अनिवार्य प्रमाणित गर्नुपर्ने व्यवस्था भए पनि सञ्चालकले बिनाप्रमाणीकरण सर्वसाधारणलाई बिक्री गर्दै आएको फेला परेको छ ।
‘वधशालामा रहेको ढक तराजुमा नापतौलको दर्ता थिएन । विभागसँग अनुमति लिएको थिएन । साइनबोर्ड पनि भेटिएन,’ उनले भनिन्, ‘तीन वटा ढक तराजु नियन्त्रणमा लिएर नापतौल विभागमा पठाएका छौं ।’ वधशाला सञ्चालकले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेकाले कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनले बताइन् । अनुगमनमा सहभागी आपूर्तिमन्त्री गणेशमान पुनले मासुमा लापरबाही भएकाले दैनिक अनुगमन आवश्यक भएको बताए ।
‘सर्वसाधारणले प्राय: दैनिक उपभोग गर्ने मासुमा व्यवसायीहरूले धेरै लापरबाही गरेका छन्,’ मन्त्री पुनले भने, ‘उपभोक्तालाई असर पुग्ने कुनै पनि सामग्री बिक्री वितरण गर्ने अधिकार कसैलाई छैन, यदि त्यसो गरेमा कानुनअनुसार कडा कारबाही हुन्छ । ती पसलहरू तत्काल सिलबन्दी गरी कानुनअनुसार हदैसम्म कारबाही गर्नुपर्छ ।’
विभागका शाखा अधिकृत बुढाथोकीले दूषित मासु सबै नष्ट गरेकाले सुधार गरेर विभागमा निवेदन दिए निरीक्षण पश्चात पुन: सञ्चालनका लागि अनुमति दिइने बताए । ‘ढल निकासको उचित व्यवस्था, वधशाला फराकिलो (पानी बगेर जान मिल्ने), सेतो टाइल हाल्नुपर्ने, वरिपरि भित्तामा सेतो रङलगायत पूर्वधार निर्माणलगायत सबै प्रक्रिया पूरा गरेपछि सञ्चालकले निवेदन दिन्छ,’ बुढाथोकीले भने, ‘विभागको टोलीले निरीक्षण गरेपछि बल्ल सञ्चालन गर्न पाउँछ ।’
अनुगमन टोलीले टेकुमा रहेको ह्युमत वधशालामा पनि अनुगमन गरेको थियो । अनुगमन टोली पुग्दा मासु बजारमा पठाइसकेको र तुलनात्मक रूपमा सरसफाइमा ध्यान दिएको भेटिएको विभागले जनाएको छ ।
यस्तै कालिमाटीमा तरकारी बजारमा सञ्चालन भइरहेको माछा पसलहरूको अनुगमन गर्दा ढक तराजु प्रमाणित तथा नवीकरण नभएका तीन वटा जफत गरेको निर्देशक श्रेष्ठले बताए । ती व्यवसायीलाई माछा खुल्ला नबेच्न, सरसफाइमा विशेष ध्यान दिन र मूल्य सूची राख्न निर्देशन दिएको जनाएको छ ।
source : kantipur samachar



Category:

0 comments