Home �
News
� त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अब नयाँ आरामदायी ट्याक्सी चल्ने
Unknown |
04:20 |
0
comments
१३ असार, काठमाडौं । यही सोमबारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नयाँ ट्याक्सी सञ्चालन हुने भएका छन् । पुराना थोत्रा ट्याक्सीको सेवाले पर्यटकमाझ नेपालको छवि बिगि्रएको र गुणस्तरीय सेवा दिन नसकिएको गुनासो बढेपछि नागरिक उड्डयन प्राधिकरणले पुराना ट्याक्सी हटाउने निर्णय गरेको हो । यही आर्थिक वर्षभित्र २०० कार सञ्चालन गर्ने योजना रहेको र १५८ कार बुकिङ्ग भइसकेको विमानस्थल हवाइ यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले जनाएको छ । प्राधिकरणले पुराना ट्याक्सीलाई विस्थापन गरेर नयाँ ट्याक्सीबाट सेवा प्रदान गर्न गत वर्ष टेण्डरमार्फत उक्त कम्पनीलाई छनोट गरेको थियो ।
६ महिनाभित्र सेवा सुरु गर्ने लक्ष्य लिए पनि सरकार परिवर्तनको घटनाले ढिलो भएको नागरिक उड्ययन प्राधिकरणका निर्देशक राधाकृष्ण अधिकारीले बताउनुभयो । प्राधिकरणले कम्पनीलाई ३०० वटासम्म ट्याक्सी सञ्चालन गर्न अनुमति दिएको छ । क्रमशः ट्याक्सी थप्ने जाने कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडाले जानकारी दिनुभयो । ४० करोड रुपैयाँको यो परियोजनामा ८० प्रतिशत बैंक ऋण र २० प्रतिशत स्वपुँजी रहेको उहाँले जानकारी दिनुभयो । यो कम्पनी पुराना ट्याक्सीकै सञ्चालकहरुको लगानी रहेको पब्लिक कम्पनी हो । २० वर्ष पुराना ट्याक्सीका नम्बरमै नयाँ ट्याक्सी दर्ता गरिनेछ । सरकारले २० वर्ष पुराना गाडी विस्थापन गर्ने निर्णय एक दशकअघि गरेको भए पनि लागू हुन सकेको छैन । अन्य रुटमा लागू गर्न नसके पनि एयरपोर्टमा भने अब लागू हुने भएको छ । अघिल्लो सरकारले ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको थियो । तर, नयाँ सरकारले उक्त निर्णय लागू नगरेपछि २४० प्रतिशत नै कर तिरेर कार आयात गरिएको सिंखडाले जानकारी बताउनुभयो । नयाँ ट्याक्सीको विशेषता हाल ८०० सिसीका मारुतीले ट्याक्सी सेवा दिइरहेकोमा अब न्यूनतम क्षमता १००० सिसी तय गरिएको छ । १९ देखि २५ लाख रुपैयाँ मूल्य रहेका कारबाट सेवा दिने कम्पनीले जनाएको छ । सबै ट्याक्सीमा सेतो रंग लगाइने छ । बस्ने र सामान राख्ने पर्याप्त स्थानसहितका यी ट्याक्सीमा एसीको सुविधा रहेको छ । अहिलेसम्म फोर्डको फिगो र क्लासिक गरी १०८ वटा र सुजुकीका वागेन-र र इको गरी ५० वटा बुकिङ्ग भइसकेको सिंखडाले जानकारी दिनुभयो । त्यसमध्ये केही गाडी प्राप्त भइसकेको र केही आउने क्रममा रहेको उहाँले बताउनुभयो । सेवा गुणस्तरीय भएकाले यात्रुले अहिले तिरिरहेको मूल्यभन्दा केही बढी तिर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । प्राधिकरण र कम्पनीले समझदारीमा यात्रु भाडा तय गर्नेछन् ।
|
Category:
News
0 comments